News 24 Television
नेताविरुद्ध नाराबाजी गर्नेलाई शान्तिविरुद्धको मुद्दा ?

काठमाडौँ । गौरापर्वको अवसरमा सोमवार टुँडिखेलमा आयोजित कार्यक्रममा मुलधारका राजनीतिक दलका नेताहरुविरुद्ध नाराबाजी गरेका युवाहरुलाई प्रहरीले खोजी खोजी पक्राउ गरिरहेको छ । पक्राउ परेकाहरुलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा चलाइँदैछ । यो घटनाले सरकार र मुलधारका राजनीतिक दलका नेताहरुप्रतिको आक्रोश झनै बढाइदिएको छ । 

नेपालमा गणतन्त्र स्थापनाको डेढ दशक बढी भइसक्दा पनि नागरिकले परिवर्तनको प्रत्याभूति गर्न पाइरहेका छैनन् । भविष्यको खोजीमा युवाहरु विदेश जान भन्दै विमानस्थालमा लाम लागिरहेका छन् । तर मुलधारका भनिएका राजनीतिक दलका नेताहरु भने नेपालमा प्रशस्त सम्भावना हुँदा हुँदै पनि मुलुकमा भविष्य छैन भनेर जर्बजस्त गलत भाष्य खडा गरिएको राग अलापिरहेका छन् । मुलुक भ्रष्टाचार र अनियमिताले चुर्लुम्म डुबेको छ । त्यसैको आक्रोश सरकार र राजनीतिक दलका नेताहरु प्रति समाजिक सञ्जालहरुमा मात्र होइन सडकमा समेत पोखिन थालेको छ । त्यसैको झिल्को सोमबार सांस्कृतिक पर्व गौराको टुँडिखेलमा आयोजित कार्यक्रममा पनि पोखिएको थियो । 

प्रधानमन्त्री एबम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उनका प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भयो । सार्वजनिक कार्यक्रममा आफूविरुद्ध पोखिएको आक्रोशलाई सहज रुपमा लिएनन्, मञ्चबाटै नयाँ पुस्ता नै अशिष्ट भएकोसमेत भन्न भ्याए । त्यसपछि नाराबाजी गर्ने युवाहरुलाई सत्ताको बलमा खोजीखोजी पक्राउ गर्न थालिएको छ । यहि विषयलाई लिएर संसदमा सत्ता पक्ष र विपक्षी सांसदहरुबीच जुहारी नै चलेको छ । 

टुँडिखेलमा सोमवार आयोजित कार्यक्रममा सरिक हुन ओली र देउवा मात्र होइन, एमाले नेता भीम रावल लगायतका नेताहरु पनि पुगेका थिए । रावलले भने नाराबाजी गरेकै कारण मञ्चबाटै गाली–गलौज गर्ने र गिरफ्तार गराउनु संविधानकै उलंघन भएको बताएका छन् । संविधानको मौलिक हक अन्तर्गत नागरिकले जो कसैको पनि विरोध गर्न पाउने ब्यवस्था छ । तर नेताविरुद्ध नाराबाजी गरेकै आरोपमा सुर्खेतका बुद्धराम जैसी, अछामका रामबहादुर बुढा र कञ्चनपुरका दीपकसिंह ठगुन्नालाई पक्राउ गरी सार्वजनिक शान्ति विरुद्धको कसुर लगाइएको छ । 

सरकार र राजनीतिक दलका नेताहरुविरुद्ध नाराबाजी गरेकै भरमा युवाहरुलाई खोजीखोजी पक्राउ गरिनुलाई शासकको चरित्र मात्रै उजागर गरेको छैन,  नेताहरुप्रतिको युवा आक्रोश झनै बढाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ०९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update