काठमाडौं । करिब एक महिना अगाडि देखा परेको हैजा संक्रमण अहिले पनि बढ्ने क्रममा छ । ललितपुरमा पहिलो पटक देखिएको हैजा अहिले ललितपुरसहित पाँच जिल्लामा फैलिसकेको छ ।
हैजा संक्रमितको संख्या बढेसंगै महामारीको रुप लिन सक्ने जोखिम पनि उतिकै देखिन्छ । हैजा महामारीको जोखिम हटाउन सरकारसँग प्रभावकारी योजना छन् त ?
हैजा संक्रमण बढ्दै गएसँगै यसले लिनसक्ने महामारीको रुपबारे चिन्ता एवम् विचार विमर्श तीव्र बनिरहेका छन् । हैजा नियन्त्रणका लागि सरकारले के सोचिरहेको छ ?
प्रभाकारी योजनाहरु छन् कि छैनन् ? यो प्रश्न सरोकारवालाहरुले उठाइरहेका छन् ।
यसवर्ष हैजा संक्रमणको अवस्था
- पाँच जिल्लाहरुमा हैजा संक्रमण पुष्टि– ललितपुर, काठमाडौँ, कैलाली, प्युठान र मकवानपुर
- देशभर हालसम्म हैजा संक्रमण पुष्टिको संख्या ६८ जना
- ललितपुरमा संक्रमित संख्या– ४८
- काठमाडौँमा संक्रमित संख्या– ९
- कैलालीमा संक्रमित संख्या– ८
- प्युठानमा संक्रमित संख्या– २
- मकवानपुरमा संक्रमित संख्या– १
हैजा संक्रमणको तथ्यांक हेर्ने हो भने हैजा संक्रमण ललितपुर जिल्लामा बढि देखिएको छ । साथै गएको बुधवार पनि ललितपुर बालकुमारीका एकजना पुरुषमा हैजा पुष्टि भएसंगै ललितपुरमा ४८ जना हैजाका संक्रमितको संख्या ४८ पुगेको हो ।
उपत्यकामा हैजा फैलनुको प्रमुख कारणमा दुषित खानेपानी भएको मानिएको छ । जसका लागि खानेपानी लगायतका विषयमा ध्यान दिदै संक्रमण फैलनबाट रोक्ने उपाय अपनाउँन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै प्रकोप पूर्वनियन्त्रणका लागि थप योजनाहरु पनि बनिरहेको बताइएको छ ।
हैजा ब्याक्टेरियाका कारण हुने एक किसिमको सङ्क्रमण हो । यसको संक्रमणका कारण पखाला लाग्ने र शरीरमा पानीको मात्रा कमी हुने गर्दछ । हैजा संक्रमण सामान्य उपचारबाट पनि निको हुने रोग हो ।समान्य लक्षण देखिएका हैजा संक्रमितले जीवन जल झोलीलो पर्दाथ खाएर घरमा पनि निको हुन सक्छन् । तर कडा लक्षण देखिएमा भने अस्पताल गएर उपचार गर्नुपर्ने हुन्छ ।
विश्व स्वास्थ्य सङ्गठनले हैजालाई गरिबीको रोग भनेर व्याख्या गरेको छ। यसले सफा पानी र आधारभूत सरसफाइ नभएका वसोवास गर्ने मानिसलाई बढी असर पार्ने डब्लुएचओले जनाएको छ ।
नेपालको सन्र्दभमा सरसफाईको विषयलाई हेर्ने हो भने सन् २०१९ मा नेपाललाई खुला दिसा मुक्त गर्ने योजना अनुरुपम काम गरिए पनि त्यस यता सरसफाइको क्षेत्रमा त्यति काम भएको देखिदैन । साथै अहिले पनि पिउँने पानी तथा पानीका सा्रेत सफा नहुदाँ हैजा संक्रमणको जोखिम नेपालमा अहिले पनि कायम भएको चिकित्सक औलाउँछनन् जसका कारण नेपालमा हरेक वर्ष हैजा लगायतका पानीजन्य संक्रमणको जोखिम देखिने गरेको छ ।