News 24 Television
खेलेर के हुन्छ भन्नेलाई मनिषाको जवाफः ‘मलाई हेर्नुस्’

काठमाडौं ।  होचो कद अनि हसिँलो अनुहार । घरभरि सजिएका मेडल । खेलाडी हुँदै प्रशिक्षकसम्मक उनले तय गरेको यात्राले भन्छ मनिषा रानाभाट खेलका लागि नै जन्मिएकी हुन् ।

६ वर्षको उमेरदेखि कराँते खेल्ने मनिषा भारोत्तोलनमा पनि उत्तिकै उब्बल छिन् । उचाइ कम भएकाले अन्तराष्ट्रिय स्तरमा कराँते प्रतियोगितामा भाग लिन नपाएको नमिठो अनुभवसँगै भारोत्तोलनमा स्र्वणपदक जितेको गौरवको क्षण पनि मनिषासँग छ । राम्रो खेलाडी, तर हाइट कम ।

सात सयभन्दा बढि मेडल, राष्ट्रिय अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिएकी मनिषालाई किशोर अवस्थामा होची हुनुको पीडा थियो । ‘हाइट’का कारण उनी पुलिस, आर्मी वा सशस्त्रको क्लबमा परिनन् । जागिर खान सकिनन् । न त काराँतेमा उनले सोचे जस्तो अन्तराष्ट्रिय सफलता मिल्यो । जीवन भद्रगोल जस्तो भइरहेका बेला उनलाई भारोत्तोलनले नसोचेको सफलता दियो । उनलाई छ वर्षको उमेरदेखि नै देशका लागि खेल्नुपर्छ भन्न थियो । परिवारका अन्य सदस्यहरूले विदेशलाई आफ्नो गन्तव्य बनाउँदा पनि मनिषाको सपना अझै पनि देशका लागि खेल्ने नै छ । 

साउथ एसिन गेम्सका बेला कराँते छनोटमा हराइएकी मनिषा अहिले कराँतेको गुरु छिन् । गरिएका सबै परिश्रम देशको झण्डा फहराउनका लागि नै गरिएको उनी सुनाउँछिन् । उनले कराँतेको प्रशिक्षण निशुल्क गराउँदै आएकी छन् ।

आफ्नो कुनै विद्यार्थी च्याम्पियन भएको हेर्ने उनको सपना छ । खेल पनि करियर हुन्छ र ? भन्दै नाक खुम्चाउने समयमा मनिषालाई बुवाले डोजो पु¥याएका थिए । कराँते मा करिब आठ सय मेडल, राष्ट्रिय भारोत्तोलनमा तीन स्वर्ण र विभिन्न देशमा भएका प्रतियोगितामा सहभागि भएकी मनिषा खेलमा अथाह सम्भावना देख्छिन् । खेलेर पनि जीबन निर्भाह गर्न सकिन्छ र ? भन्ने प्रश्नको जवाफ हुन्, मनिषा । 

२४ वर्षदेखि निरन्तर खेल क्षेत्रमा रहेकी मनिषको सफलतामा परिवार जति खुशी छन् त्यो भन्दा पनि आफ्नो शिकाईलाई प्रशिक्षणका माध्यमबाट खेलका सम्भावनाहरू उजागर गरेकोमा गर्व गर्छन् । 

खेल र खेलाडीलाई सधै उपेक्षा गरिने मनिषाको बुझाई छ । जसका कारण खेलमा सोचे जस्तो नतिजा प्राप्त हुन नसकेको उनी दाबी गर्छिन् । खेलमा राजनीति हाबी हुँदा खेलाडीहरू सधै ओझेलमा पर्ने गरेको कसैसँग लुकेको छैन ।

राज्यले खेलमा लगानी गर्न सकेमात्र खेलाडीहरूको सम्मान हुने उनी बताउँछिन् । समाजले सौन्दर्यको मापदण्ड तोकेको छ तर उनले ‘स्टेरियोटाइप’ तोडेकी छन् । सबै कुरालाई पैसासँग तुलना गर्नु भन्दा पनि समाज रुपान्तरणसँग जोडेर हेर्न उनी सुझाउँछिन् । यस्तै विचार र व्यवहारका कारण आज मनिषा धेरैका लागि प्रेरणा बनेकी छन् । एउटा क्षेत्रमा असफल भए कसरी अर्को क्षेत्रमा सफलताको झण्डा फरफराउन सकिन्छ भन्ने उद्धाहरण बनिसकेकी मनिषा जे गर्दा पनि मनभित्रैबाट इमानदार भएर गर्न सुझाव दिन्छिन् । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ०६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update