News 24 Television
सबैखाले पाठ्यक्रम परिमार्जन गर्ने तयारी, सिटीईभिटीको पुनःसंरचना

काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा मन्त्रालय सबै पाठ्यक्रमहरुलाई परिमार्जन गर्नेगरी अगाडि बढेको बताएकी छन् ।

बिहीवार ललितपुरमा आयोजित ‘नेशनल सेमिनार अन एजुकेशन एण्ड इम्प्लइमेन्ट लिङ्केज’ मा बोल्दै मन्त्री भट्टराईले विश्व बजारमा प्रतिष्पर्धी जनशक्ति तयार गर्नका लागि सबै तहमा पाठ्यक्रम परिमार्जन गर्नुपर्ने बताइन् । उनले पाठ्यक्रम परिमार्जन तयारीमा  मन्त्रालय लागिपरेको बताइन् ।

राष्ट्रलाई योगदान दिनसक्ने जनशक्ति तयार गर्नेगरी पाठ्यक्रम बनाउनुपर्नेमा जोड दिँदै उनले त्यस्ताे जनशक्तिले नै अन्तर्राष्ट्रिय बजारमा पनि योगदान दिन सक्ने बताइन् । सिटीईभिटीलाई पुनःसंरचना गर्नका लागि काम अगाडि पनि बढाइएको भन्दै उनले यसको पाठ्यक्रम र पुनःसंरचनाका लागि आवश्यक काम गर्न दुई वटा समूह बनाएर जिम्मेवारी दिइएको जानकारी दिइन् । 

‘सिटीइभिटीलाई हामीले पुनःसंरचना गर्नुपर्छ । ०४५ सालको आवश्यकता आज ०८१ सालसम्म आइपुग्दा त्यही संस्थागत मूल्य, त्यही नीति । जसलाई अहिले पनि हामीले ऐनलाई खास संशोधन गरेका छैनौँ । नयाँ ढंगले निर्माण गरेका छैनौँ । त्यही नीतिबाट मार्गदर्शिक छौँ । म आएपछि सिटीईभिटीलाई पुनःसंरचना गर्ने सोचेँ । सिटीइभिटीलाई अहिलेको अवस्थामा यसको पाठ्यक्रम र पुनःसंरचनाको लागि दुईवटा टिम बनाएर हामीले जिम्मेवारी दिएका छौँ । पाठ्यक्रममा उद्यमशिलतामा काम गरिरहेको हाम्रो पंक्तिलाई कसरी जोड्ने ? हामीले हिजोसम्म भन्ने गरेउ, नेपालीहरु पढ्ने यहाँ । तर अन्तर्राष्ट्रिय श्रम बजारमा जान सक्षम जनशक्ति तयार गर्छौ भन्यौँ हामीले । त्यहाँ नै हामी गलत भयौँ । हामीले नेपालको लागि कस्तो जनशक्ति चाहिन्छ भनेर प्रक्षपण त बारम्बार गर्यौँ । तर हामीले के भन्यौँ भने हाम्रो शिक्षण संस्थाले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्ने, अन्तर्राष्ट्रिय श्रम बजारमा गएर बिक्ने जनशक्ति तयार गर्नुपर्छ भन्ने कुरा कहिल्यै पनि भन्न छोडेनौँ । तर मलाई लाग्छ साँच्चिकै शिक्षालाई सबल बनाउने हो भने प्रतिष्पर्धी जनशक्ति तयार गर्न सक्नुपर्छ । ग्लोवल टु लोकल र लोकल टु ग्लोबल कसरी लिङ्केज स्थापित गर्ने ? त्यसका लागि हामीसँग भएको जनशक्ति जसले पहिले राष्ट्रमा योगदान दिनसक्दा मात्रै उसले अन्तर्राष्ट्रिय रुपमा पनि योगदान गर्नसक्छ । त्यो खालको योगदान दिनसक्ने जनशक्ति कसरी तयार गर्ने भन्ने कुरामा अब हाम्रो बहश जानुपर्छ । अब शिक्षा मन्त्रालयले हाम्रो पाठ्यक्रमलाई पूरै परिमार्जन गर्नुपर्छ चाहे त्यो जनरल एजुकेशनको होस् । चाहे त्यो साइन्सको होस्, चाहे टेक्निकल एजुकेशनको होस् । सबै पाठ्यक्रमहरुलाई परिमार्जन गर्नुपर्छ भन्ने हिसाबले नै हामी अगाडी बढेका छौँ ।’

उनले शिक्षा मन्त्रालय, उद्योग मन्त्रालय र श्रम मन्त्रालयका बीच समन्वय गरेर अगाडी बढ्नुपर्नेमा जोड दिइन् ।  शिक्षा भनेको ज्ञान मात्रै नभइ सीप, कला र उद्यमशिलता पनि हो भन्ने कुरा स्थापित गर्नुपर्ने उनकाे भनाइ छ । 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update