News 24 Television
सात वर्षपछि घरेलु मैदानमै नेपालले जितको अवसर गुमायो   

काठमाडौं । बंगलादेश अण्डर ट्वेन्टी साफ च्याम्पियन बनेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा भएको फाइनल खेलमा नेपाललाई स्तब्ध पार्दै बंगलादेश च्याम्पियन बनेको हो । नेपालले सात वर्षपछि घरेलु मैदानमै उपाधि जित्ने अवसर गुमाएको छ ।
 
अन्डर ट्वान्टी साफ च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । उमेर समूहको साफ फुटवलको उपाधि बंगलादेशले पहिलो पटक जितेको हो । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा भएको फाइनल खेलमा बंगलादेश ४–१ गोल अन्तरले विजयी भयो । समूह चरणको खेलमा नेपालले पराजित गरेको बदला लिन बंगलादेश सफल भएको हो । 

बंगलादेशका लागि पहिलो हाफको इन्ज्यूरी समयमा मिराजुल इस्माइलले गरे । बंगलादेशले पाएको फ्रि किकको सदुपयोग गर्दै मिराजुलले बललाई जाली चुमाएका थिए । दोस्रो हाफमा खेलको ५५ औं मिनेटमा मिराजुलले नै दोस्रो गोल गरे । 

खेलको ७१ औं मिनेटमा बंगलादेशकै रब्बि हुसेनले अर्को गोल थपे । ३–० को दबाबमा परेको नेपालका लागि समिर तामाङले खेलको ८० औं मिनेटमा एक गोल फर्काए । दोस्रो हाफमा १० मिनेटको इन्ज्यूरी समय पाए पनि नेपालले सदुपयोग गर्न सकेन ।

बरु बंगलादेशकै पियास अहमद नोभाले अर्को गोल थपिदिएपछि नेपाल ४–१ गोल अन्तरले पराजित हुन पुग्यो । समूह चरणमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गरेको थियो भने सेमिफाइनलमा भुटानलाई ट्राइब्रेकरमा पराजित गरेको थियो । सेमिफाइनलमा भारतलाई ट्राइब्रेकरमा नै पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको थियो । तर फाइनलमा कमजोर प्रदर्शनकै कारण नेपालले घरेलु मैदानमा तेस्रो पटक उपाधि जित्ने सौभाग्य गुमाएको छ । 

नेपाल सात वर्षपछि साफ उमेर समूहको साफ फुटबलको फाइनलमा पुगेको थियो । सन् २०१५ मा घरेलु मैदानमै भएको पहिलो संस्करणमा नेपालले फाइनलमा भारतलाई ट्राइब्रेकरमै पराजित गरी उपाधि चुमेको थियो । सन् २०१७ मा पनि भुटानमा भएको दोस्रो संस्करणमा नेपालले उपाधि रक्षा गरेको थियो । 

बंगलादेश भने फाइनलमा पुगेको तेस्रो पटकमा पहिलो च्याम्पियन बनेको हो । यसअघि सन् २०१९ र २०२२ मा बङ्गलादेश फाइनल पुगेर पनि दुवै पटक भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  ०६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update