News 24 Television
नेकपा एसमा आफुलाई हस्ती ठान्नेहरु नै सोत्तर !

काठमाडौं । नेकपा एकिकृत समाजवादीको अध्यक्ष, सम्मानित नेता, बरिष्ठ उपाध्यक्ष र महासचिवबाहेक बाँकी पदाधिकारीका लागि भएको निर्वाचनमा आफूलाई राजनीतिका हस्ती भन्नेहरु नै पराजित भएका छन् । रामकुमारी झाँक्री, विजय पौडेल, जीवनराम श्रेष्ठ, विरोध खतिवडा लगायतका नेताहरु पराजित मात्रै भएका छैनन्, उनीहरुको राजनीति नै संकटतर्फ धकेलिएको छ । 

तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सर्वोच्चको परमादेशले पुरानै पार्टीमा फर्काइएपछि एमालेमा चर्किएको अन्तरसंघर्ष पार्टी फुटकै चरणमा पुग्यो । 

जतिबेला केपी ओली कटु आलोचक भीम रावल, घनश्याम भुसालहरु एमालेमै रहे भने माधव नेपाललाई सानो पंक्तिले मात्रै साथ दियो । नेता नेपाललाई रामकुमारीले डो¥याउँदै निर्वाचन आयोगसम्म पु¥याएको तस्विर सामाजिक सञ्जालमा ट्रोल बनेको थियो । 

त्यसैको पुरस्कार स्वरुप झाँक्री पार्टी केन्द्रीय सचिव भइन् । विभाजनमा साथ दिएका थुप्रै नेताहरुले पदाधिकारीको पद्वी पाए । ७९ सालमा गठबन्धनको साथ पाएर पनि संसदीय चुनाव हारेपछि घनश्याम महासचिव लिएर समाजवादीमा भित्रिए । तर पार्टीको महाधिवेशनमै उनीलाई कार्यकर्ताले पत्याएनन् ।

अध्यक्ष, महासचिव र सम्मानित नेतामा पुरानालाई नै दोहा¥याउँदै निर्विरोध घोषणा गरियो । बाँकी पदाधिकारी चुन्ने जिम्मा केन्द्रीय समितिले लियो । तर केन्द्रीय समितिबाट पनि नेताहरुलाई सेटिङ गर्न नसकिएपछि निर्वाचन नै गर्नु प¥यो । 

केन्द्रीय समितिभित्रको निर्वाचनमै पनि तिनै हस्तीहरु पराजित भएका छन् । मेटमणि चौधरीले सबैभन्दा बढी मत पाउँदा रामकुमारी झाँकीदेखि जीवनराम श्रेष्ठ, विरोध खतिवडा लगायतका पराजित भए ।

प्रेमबहादुर आले त महाधिवेशनबाट केन्द्रीय समितिमा समेत अटाएनन् । आफूलाई पार्टीको हस्ती ठान्नेहरुको पराजयसँगै उनीहरुको राजनीति नै संकटतर्फ धकेलिएको छ । पराजित हस्तिहरु अब कसरी समेटिन्छन्, भन्ने चासोको विषय बनेको छ । असार १६ गतेदेखि २० गते काठमाडौंमा सम्मपन्न महाधिवेशनले ९३ जना केन्दीय कमिटि घोषणा गर्दै २ सय ९९ सदस्य केन्द्रीय समिति बनाउने म्यान्डेट दिएको थियो । तर अध्यक्ष नेपालले आफ्नो पक्षमा पार्न ३ सय ४४ जना सदस्य केन्द्रीय समिति गठन गरे । त्यसैको नतिजा अहिले देखिएको छ । माधवको कार्यशैलीमाथि प्रश्न उठाउने अधिकांश पराजित भएका छन् । तर निर्वाचित भएकाहरु यो कुरा स्वीकार्न तयार छैनन् ।  

महाधिवेशनका मुखमा झलनाथ खनाल निकट मानिएका युवासंघका अध्यक्ष कृष्ण विकले आफ्नो बिकल्पमा नेताहरु उभ्याउन लागेको थाहा पाएपछि माधव नेपालले आफ्नै भान्जा नितेशलाई अघि सारेर युवा संघको समानान्तर कमिटि गठन गर्न लगाएका थिए ।

पराजित भएसँगै जीवनरामले कार्यलय सचिवबाट राजीनामा दिएका छन् भने अन्य नेताहरु राजनीतिक भविष्यको खोजीमा छन् । पराजित हस्तिहरु अब पार्टीमै क्रियाशिल हुन्छन् कि एमालेतिरै फर्किन्छन्, केही समय प्रतिक्षा गर्नुपर्नेछ ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  ०६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update