News 24 Television
भारतको उपहार मुर्रा राँगाको काम सुरु, पोखरामा छन् ७ मुर्रा 

कास्की । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय उपहारस्वरूप दिएको १५ मूर्रा राँगो नेपाल ल्याउँदा प्रशंसा भन्दा खिस्सी टिउरी बढी गरियो । त्यस्तै अमेरिकाबाट १० उन्नत जातका साँढे ल्याउँदा पनि मजाक बनाइयो, तर गाई वस्तुमा गरिने कृत्रिम गर्भाधानमा ती मूर्रा राँगा र साँढे बरदान सावित भएका छन् । 

दृश्यमा देखिएका यी ठूला ठूला राँगाहरु तिनै हुन् जसलाई भारतले उपहारस्वरूप दिएको थियो । १५ ओटा उन्नत जातका राँगा मध्ये ७ ओटा राँगा पोखराको राष्ट्रिय पशु प्रजनन् कार्यालयमा राखिएका छन् भने पाँच वटा लहान र ३ वटा बाँकेको पशु प्रजनन् केन्द्रमा राखिएका छन् ।

तत्कालीन समयमा भारतबाट राँगा ल्याएको भन्दै मजाक गरिए पनि अहिले यी राँगाहरु नेपाली भैंसीको नश्ल सुधारका लागि प्रयोगमा आइसकेका छन् । 

गएको असारसम्म ती राँगाहरुलाई प्रशिक्षण दिने तथा वीर्य संकलनका लागि सिकाईको चरणमा थिए । पोखरामा रहेका ७ राँगा मध्ये उमेर पुगेका राँगाबाट श्रावण महिनामा मात्रै १० हजार भन्दा बढी डोज पुग्ने गरी कृत्रिम गर्भाधानका लागि वीर्य संकलन गरिएको राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराका प्रमुख पशु विकास अधिकृत डा. जगदीश पाण्डे बताउँछन् । 

अबको दुई देखि तीन महिनामा सबै राँगाहरुबाट जन्मेको वीर्य अर्थात् सिमेन् संकलन गरि कृषकहरुकोमा पठाइने छ । सामान्यतया एउटा राँगाबाट वर्षमा २० हजारदेखि ३० हजार डोज विर्य उत्पादन हुन्छ । एउटा राँगाबाट हप्तामा दुई पटक विर्य संकलन हुँदै आएको छ । 

त्यस्तै २०७८ सालमा अमेरिकाबाट ल्याइएका उन्नत जातका ६ साँढे मध्ये ४ ओटा पोखरामा छन् । यी साँढेहरुबाट संकलन गरिएको १ लाख भन्दा बढी डोज विर्य वितरण गरिसकिएको कार्यालयका प्रमुख डा. पाण्डेको भनाई छ । 

उन्नत जातका नश्लबाट जन्मिएका गाई भैंसीहरुले रैथानेको भन्दा दोब्बर परिमाणमा दूध दिने पशु चिकित्सकहरुको भनाई छ । नेपालका ३ ठाँउ लहान, पोखरा र नेपालगञ्जमा रहेका राष्ट्रिय पशु प्रजनन् कार्यालयमा कृत्रिम गर्भाधान गर्न १ सय १३ उन्नत जातका साँढे र राँगा पालिएको छ जसबाट वार्षिक १२ लाख डोज विर्य उत्पादन हुन्छ । तर नेपालमा ७ लाख ५० हजार डोज मात्र माग छ । कृत्रिम गर्भाधानमा नेपाल आफै निर्भर छ भने प्रजनन् कार्यालयले गाई भैंसीको जन्मेको विर्यको निर्यात गर्ने तयारी सुरु गर्ने भएको छ ।

अहिले सरकारले दूध तथा दुग्धजन्य पदार्थमा देशलाई आत्मनिर्भर बनाउन बहुवर्षीय योजना कार्य गरिरहेको छ । त्यसका लागि दूध उत्पादनका लागि पालिएका गाई भैंसीको नश्ल सुधारलाई निकै प्राथमिकता दिइएको छ । यसले पशुपालन व्यवसाय प्रति आकर्षण बढ्ने विश्वास लिइएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  ०६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update