काठमाडौं । क्यान्सर रोग उपचारको लागि महत्वपूर्ण उपकरण भाभाट्रोन रेडियो थेरापी सेमुल्याटर भक्तपुर क्यान्सर अस्पताललाई औपचारिकरुपमा प्रदान गरिएको छ ।
भारत सरकारले बुधबार स्वास्थ्यमन्त्रीलाई मेसिन हस्तान्तरण गरेसँगै सोही समय स्वास्थ्यमन्त्रीले अस्पताललाई मेसिन हस्तान्तरण गरेका हुन् । एक वर्ष पहिलेनै दिइएको मेसिनको औपचारिक हस्तान्तरण बुधबार गरिएको हो । बुधबारदेखि नै यस मेसिनबाट सेवा प्रवाह शुरु गरिएको छ ।
भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर रोग उपचारमा सहयोगि मेसिन प्राप्त गरेको छ । भारत सरकारले सहयोग स्वरुप प्रदान गरेको भाभाट्रोन रेडियो थेरापी सेमुल्याटर मेसिन बुधबार अस्पतालले प्राप्त गरेको हो ।
नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बुधबार स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई मेसिन हस्तान्तरण गरे । सोही समय मन्त्री पौडेलले मेसिनलाई अस्पतालका अधिकारीलाई हस्तान्तरण गरे ।
भक्तपुर क्यान्सर अस्पतालमा दैनिक ६ सय भन्दा बढि बिरामी उपचारका लागि पुग्ने गर्दछन् । पछिल्लो समय क्यान्सर रोगका बिरामीको संख्या बढ्दै गएका कारण अस्पतालले हाल प्रदान गर्दै आएको स्वास्थ्य सेवा अपुग देखिने गरेको छ ।
त्यसैले अनुदानका उपकरण ग्रहण गरेरै भएपनि सेवा विस्तारको प्रयास गरिदै आएको छ । क्यान्सरको उपचारमा सहयोगी यो मेसिन भारत सरकारले सहयोग गरेसँगै रेडियोथेरापीबाट उपचार गर्नुपर्ने बिरामीको लागि केहि सहज हुने अस्पतालको विश्वास छ ।
भारत सरकारको उपकरण सहयोगप्रति स्वास्थ्यमन्त्री पौडेलले धन्यवाद ज्ञापन गर्दै आगामि दिनमा पनि स्वास्थ्य सेवा सहजताकालागि काम गरिरहने प्रतिबद्धता जनाए ।
भक्तपुर क्यान्सर अस्पताललाई भारत सरकार दिएको रेडियोथेरापी मेसिन औपचारीक रुपमा संचालन आउँनुले धेरै क्यानसर रोगका बिरामीले उपचार सेवा पाउँने छन् । तर अस्पतालले पुरानो मेसिनको सोर्सको उचित व्यवस्थापन नगरी नयाँ मेसिन जडान गर्नु जोखिम पूर्ण भने देखिएको छ ।
भक्तपुर क्यानसर अस्पतालले भारत सरकारले दिएको रेडियोथेरापी मेसिन, मोडुलर ओटी र २ सय ५६ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिन थप गर्नु पक्कै पनि क्यानसर रोग उपचारको लागि सकारातमक पक्ष हो । तर क्यानसर रोगको लागि उपयोगी मानिएको रेडियो थेरापी मेसिन पुरानो भए पछि मेसिनमा रहने सोर्स अर्थात रडियोधर्मिको उचित व्यवस्थापन तर्फ ध्यान नदिने हो भने यसले भोलिको दिनमा जोखिम पक्कै निम्ताउने नै छ । यस तर्फ सरको ध्यान जान समेत जरुरी देखिन्छ ।