News 24 Television
मुकुलको चुनौती रविलाई : न्यायिक निकायले कारबाही खारेज गरेपछि रविकै पद जाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान महामन्त्री डा. मुकुल ढकाल अब रास्वपाबाहिर परेका छन् । अर्थात् अब मुकुललाई रास्वपाभित्र प्रवेश गर्नबाट चुकुल लागेको छ । मंगलबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले पार्टीको अनुशासन आयोगको सिफारिसमा मुकुललाई पार्टीबाट बर्खास्त गर्ने निर्णय गरेको हो । यससँगै उनको साधारण सदस्यता समेत खारेज भएको छ । पार्टीविरुद्ध लगातार भ्रमात्मक प्रचार गरेको आरोपसहित उनी बर्खास्तीमा परेका हुन् । 

पार्टीले पटकपटक सोधेको स्पष्टीकरणमा खरो जवाफ दिँदै आएका मुकुल बाहिर मिडियामा पनि पार्टी र यसका सभापति रवि लामिछानेविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुँदै आएका थिए । साधारण सदस्यबाट समेत निकालिएपछि मुकुलले पार्टीका सबै निर्णयविरुद्ध संघर्ष गर्ने बताएका छन् । 

केही महिना अघिसम्म रास्वपा सभापति रविका विश्वासपात्र कहलिएका मुकुल अचानक रविको खरो विरोधमा उत्रिन थालेपछि उनीमाथि पार्टीले कारबाही बढाउँदै लगेको देखिन्छ । गत वैशाखसम्म पनि मुकुलले रविको सबैभन्दा बढी सपोर्ट गर्थे भने रविविरुद्ध लागेका आरोपमा सफाइ दिन उनै तम्सिन्थे । उदाहरणका लागि गत वैशाख २८ गते उनले रविविरुद्ध लागेको ‘सहकारी ठग’को आरोप खण्डन गर्दै लेखेका थिए– ‘प्रिय रास्वपा परिवारका साथीहरु, शिर ठाडो राख्नुहोला । तपाईंको सभापतिले आजसम्म कसैलाई ठगेको छैन ।’ 

रविकै स्वीकृतिमा देशयात्रामा निस्केर मुकुलले प्रतिवेदन तयार पारेका थिए, जसले रास्वपाको साख धेरै खस्किएको र नसच्चिने हो भने विवेशशील पार्टीको जस्तै हालत हुने बताएका थिए । रवि र मुकुलबीच खटपट चुलिँदै जाँदा मुकुल रविलाई पूरै ठग, भ्रष्टाचारी र जालीफटाहा करार गर्न तम्सिएका छन् । उनले मिडियामा आएर रवि ठग, भ्रष्टाचारी र दुराचारी भएको प्रमाणित गर्न सक्ने बताइरहेका छन् । पार्टीले सोधेको स्पष्टीकरणमा समेत यिनै शब्दमा कडा जवाफ पेश गरेका छन् । शुक्रबार (भदौ ७ गते) सामाजिक सञ्जालमार्फत पार्टीले सोधेको स्पष्टीकरणमा जवाफ दिएका छन् । आफू रविको कुकर्मको पर्दाफासमा लाग्दा पार्टीले स्पष्टीकरण सोधेको भन्दै कडा शब्दमा जवाफ दिए । रविलाई चुनौती दिँदै मुकुलले भनेका छन्– ‘तपाईं ठग, भ्रष्टाचारी र राहदानी दुरूपयोग गर्ने अपराधी हो भनेर प्रमाणित गर्न सक्छु । कारबाहीको दुस्साहस गर्दै हुनुहुन्छ, सक्नुहुन्छ भने मलाई गलत सावित गर्नुहोस् ।’ रविलाई ‘राष्ट्रिय ठग’ को आरोप लगाउँदै मुकुलले यस्ता ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्ने दाबी गरे । 

त्यसअघि साउन २८ गते प्रधानमन्त्री केपी ओलीलाई भेटेर मुकुलले विभिन्न १५ सुझाव दिएका थिए । जसमा रविलाई नै लक्षित गरी उनले एकपटक नेपाली नागरिकता त्यागिसकेपछि फेरि नागरिकता लिए पनि त्यस्तो व्यक्तिलाई सार्वजनिक महत्वका पदहरुमा पुनः मनोनयन वा नियुक्त गर्न नहुने सुझाव दिएका थिए । त्यसअघि उनले रवि आफै सत्ताको बार्गेनिङका लागि प्रचण्ड र ओलीसँग मिल्ने गरेको तर आफूले पार्टी सुधारका कुरा गर्दा विभीषणको आरोप लगाउँदै पार्टीबाट निकाल्न खोजिएको बताएका थिए । आफूले लक्ष्मणजस्तो बफादार बनेर कर्तव्य पूरा गरिरहँदा पनि रवि रावण बनेर आफूलाई उल्टै विभीषणको रुपमा प्रचार गरेको उनको भनाइ थियो । 

पहिले महामन्त्री र पार्टी प्रवक्ताबाट हटाउँदा पनि मुकुलले ‘रवि लामिछाने क्लबबाट मात्रै निष्काशित भएको’ बताएका थिए । अहिले साधारण सदस्यबाटै हटाउँदा पनि उनले उही कुरा दोहो¥याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट आफूलाई निष्कासन गर्ने अधिकार रवि क्लबलाई नभएको बताउँदै मुकुलले आफू न्यायिक पुनरावलोकनमा जाने बताएका छन् । न्यायिक निकायले रवि क्लबको कारबाही बदर गर्ने र आफू पुनः रास्वपामा फर्किने उनको जिकिर छ । त्यसो भयो भने रविले नै नैतिकताको आधारमा पार्टीको साधारण सदस्यबाटै राजीनामा दिनुपर्ने उनको दाबी छ । उनले भनेका छन्– ‘नैतिकरूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला, तर पनि उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला । समयले पुष्टि गर्दै जानेछ ।’ 

सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्नेगरी भाषणबाजी गर्दै हिँडको र आफूविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरेको मुकुलको आरोप छ । पूर्व गृहमन्त्री समेत रहेका रवि जोडिएको सहकारी प्रकरणबारे अहिले संसदीय छानबिन समितिले विस्तृत रुपमा छानबिन गरिरहेको छ । शुक्रबार मात्रै समितिले रविको बयान लिएको थियो । मंगलबार रविले केन्द्रीय समिति बैठकमा सहकारी छानबिन समितिले आफ्ना प्रश्नको जवाफ दिन नसकेको बताएका छन् । ‘सहकारीबाट पैसा लिएको प्रमाण छ’ भन्नेहरुले जवाफ दिन नसकेको उनको ब्रिफिङ छ । 

रास्वपा पार्टी स्थापनादेखि नै पार्टीको विधान बनाउनेदेखि विभिन्न काममा प्रभाव जमाएर रविका तथाकथित विश्वासपात्र कहलिएका मुकुल अहिले रविविरुद्ध निरन्तर आक्रोश पोखिरहेका छन् । अब सहकारी प्रकरणमा दोषी ठहर भएर रवि कारबाहीमा परे भने र रास्वपाभित्रको भाडभैलौ थप चुलियो भने यसमा अन्य ठूला दलले झनै खेल्ने मौका पाउने पक्का छ । तब मुकुलको ध्येय समेत पूरा हुन सक्ला । अन्यथा मुकुलको कुण्ठा उत्सर्जन केही समय कायमै रहने देखिन्छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update