सिन्धुपाल्चोक । तीनदेखि छ हजार मिटर उचाइको हावापानी भएको हिमाली खर्कमा वषौंदेखि चल्दै आएको घुम्ती गोठ प्रणाली आजभोली क्रमशः घट्दै गएको छ । वैदेशिक रोजगारमा युवाको आकर्षण बढ्नुका साथै चरन क्षेत्रमा घाँसको कमि जस्ता कारणले घुम्ती गोठमार्फत चौंरी, याक तथा भेँडा पालन गर्नेहरु कम हुदै गएका हुन् ।
खर्कमा चौरी र याकसँगै फिरन्ते जीवन बिताउने सिन्धुपाल्चोक, तेम्बाथनका पासाङ शेर्पालाई हिमाली क्षेत्रमा आएको मौसमी परिवर्तनका कारण यो पेशामा चुनौती वढेको छ । खर्कहरुमा पहिलेजस्तो घाँस नपाइने भएका कारण चौरीलाई घाँस पु¥याउन हम्मेहम्मे पर्छ ।
त्यसैले पनि आजभोली पासाङ जस्ता कैयौलाई उच्च हिमाली क्षेत्रहरुमा पशुपालन चुनौतिपूर्ण बन्दै गइरहेको छ । यस्तै कारण पनि ऋण गरेर चौरी पालेको तर वर्षौंसम्म पनि आफू ऋणमुक्त हुन नसकेको उनी बताउँछन् ।
सिन्धुपाल्चोककै पाँचपोखरी क्षेत्रको खर्कमा हुर्केर आफ्नो जीवन भेडा गोठले धानेका लागर्चेका ईन्द्र वहादुर खड्का भने यो पेशाबाट पलायन भएका छन् । छोराछोरी कोही काठमाडौंतिर पढ्न गएका छन् त कोही वैदेशिक रोजगारीमा खाडी मुलुक पुगेका छन् । भेडा धमाधम मर्न थालेपछि ईन्द्रबहादुरको पुस्तौ देखिको आयस्रोतको यो पेशामा पूर्णविराम लागेको हो ।
चौंरी, याक र भेडाको लागि लेकाली क्षेत्रमा जंगलको बीचको खर्कमा गोठ बनाएर त्यही घाँस पानी गर्ने प्रचलन छ । वर्षको तीन महिना जाडो समयमा मात्र मानव बस्ती छेउछाउ पुग्ने उनीहरु अधिकांश समय हिमाली खर्कमा बिताउँछन् ।
सिन्धुपाल्चोकको लेकाली भेगका तामाङ र शेर्पा समुदायका नागरिकको मुख्य आम्दानीको स्रोत चौरीको दूधबाट बन्ने चिज, छुर्पी, नौनी घिउ तथा भेडाको रौँबाट बन्ने राडीपाखी लगायतका सामाग्री हुन् ।
पछिल्ला वर्षमा मौसम फेरवदलका कारण घाँसको अभाव, विभिन्न रोगले पशुु मर्नुका साथै आफ्नो उत्पादन सस्तोमा किनेर महङ्गोमा बिक्री गर्ने व्यापारीका कारण पुस्तौंदेखि गर्दै आएको यो पेशाप्रति युवा पूस्ताको निराशा बढ्दै गएको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, भोटेकोसी, जुगल, पाँचपोखरी र हेलम्बु गाउँपालिकामा चौरी पालन हुने गरेको छ । स्थानिय पालिकाको कृषि तथा पशु शाखाका अनुसार खर्कमा चौरी तथा भेडा पालन गर्ने किसानको संख्या जिल्लामा १ सय ३१ छ ।
चौरी, याक र भेडाको संरक्षण गर्न सिन्धुपाल्चोकका पालिकाहरुले बीमा कार्यक्रम ल्याएका छन् । वैदेशिक रोजगारीभन्दा राम्रो आम्दानीको क्षेत्र बन्नसक्ने यो क्षेत्रलाई व्यावसायिक बनाउन प्रयत्न गरीरहेको जनप्रतिनिधि बताउछन् ।
पालिकाहरुको प्रयासका बावजुद पनि सिन्धुपाल्चोकका लेकाली खर्कहरुमा अहिले चौरी गोठ घट्दै गएको छ । अझै परम्परागतरुपमै भइरहेका पशुपालनलाई आधुनिक बनाउन सकिएको छैन ।
राज्यतहबाट पनि यो पेशालाई प्रोत्साहन नगरिएको हुँदा चाहेर पनि स्थानीयले यो पेशालाई परम्परागत भन्दा माथि लैजान सकेका छैनन् । हाल बृद्धबृद्धाले धान्दै आएको परम्परागत पेसाको जगेर्ना गर्न नसके एकदिन यो पेशा नै हराउने सम्भावना छ।