News 24 Television
कृष्ण जन्माष्टमीको भोलीपल्ट मनाइने दधिकादोमा झुमे राजवंशी 

झापा । पूर्वी तराईको झापामा बसोबास गर्ने आदिबासी समुदायका राजवंशी, चौधरी, गन्गाई, ताजपुरिया लगायतका जातिले यसपालिको दधिकादो पर्व हर्सोउल्लासका साथ मनाएका छन् । भगवान श्रीकृष्णको जन्म भएको खुशीयालीमा नवमीका दिन राजबंशी समुदायले एक अर्कामा हिलो दलेर यो पर्व मनाउने गर्दछन् । 

झापा, मोरङ र सुनसरी जिल्लाका आदिबासी समुदायले कृष्ण जन्माष्टमीको भोलीपल्ट धार्मिक एवम् साँस्कृतिक पर्व दधिकादो मनाउँछन् । दधिकादो खेल खेलाउँदा आफ्नो मनले चाहेको पुग्ने जनविश्वास छ । भगवान कृष्णले दही चोरेर खाने र दहीको हिलोमा खेल्ने बानी भएको हुँदा अहिले माटोको हिलोलाई नै दही मानी खेल्ने प्रचलन रहि आएको जानकारहरु बताउँछन् । 

बिशेषगरी राजबंशी समुदायले कृष्ण मन्दिरहरूमा कृष्ण अष्टमीका दिन रातभर भजनकिर्तन गरी जाग्राम गरेर त्यसको भोलीपल्ट दधिकादो पर्वको अवसरमा सबै उमेर समुहले हिलोमा खेली भव्य रुपमा मनाउने गरेका छन् ।

झापा जिल्लाका राजबंशी समुदायका मानिसहरूले विभिन्न कार्यक्रमको आयोजना गरी यो वर्षको दधिकादो पर्व मनाएका छन् । हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलीपल्ट वा नवमीका दिन राजबंशी समुदायले मनाउने दधिकादो पर्व झापामा मेचीनगरसहित गौरादह, विर्तामोड, भद्रपुर, खजुरगाछी, शिवगञ्ज लगायतका स्थानमा राजवंशी समुदायका मानिसहरु भेला भएर सामुहिक रुपमा मनाउने गरेका छन् । 

राजवंशी समुदायले भजनकिर्तन गर्दै तेल दलेको चिल्लो बाँसमाथि चढेर पोको फुकाउने, हिलो दलेर नरिवल खोस्ने, हाँडी फुटाएर पुरस्कार जित्ने प्रतियोगितात्मक खेलकुद लगायत एक आपसमा हिलो दलादल गरेर परापूर्व कालदेखि यो पर्व मनाउदै आएको राजवंशी समाजका अग्रज स्थानीय जनप्रतिनिधि बताउँछन् । 

राजवंशी समुदायले भजनकिर्तन गर्दै तेल दलेको चिल्लो बाँसमाथि चढेर पोको फुकाउने, हिलो दलेर नरिवल खोस्ने, हाँडी फुटाएर रमाइलो गर्दै एक आपसमा हिलो दलादलगरेर यो पर्व मनाउँने परम्परा पुस्तौ देखिको रहि आएको छ । तर, नयाँ पिढी आधुनिकतामा रमाउन थालेपछि संस्कृतिको रुपमा रहेको यो पर्व लोप हुने अवस्थामा छ । यी र यस्ता कला संस्कृति राज्यको सम्पत्ति हुन् जसको संरक्षणमा राज्यले ध्यान दिदै पर्छ । 

 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update