काठमाडौं । पछिल्लो समय एन्टिमाइक्रोवियल रेसिस्टेन्सका घटना बढ्दो क्रममा छ । जसका कारण स्वास्थ्य उपचारमा प्रयोग हुने यस्ता औषधीले नै काम नगर्दा उपचारमा समस्या देखिन थालेको छ ।
यहि विषयलाई मध्यनजर गरेर होला, भारतले एन्टिबायोटिक, पेनकीलर जस्ता १ सय ५६ वटा औषधीमा प्रतिबन्ध लगाएको छ । नेपालमा पनि पछिल्लो समय एन्टिमाइक्रोवियल औषधीले काम गर्न छाड्ने घटना बढेकाले नेपालमा पनि एन्टिबायोटिक औषधीमा कडाइ गर्ने विषयमा गम्भीर हुनुपर्ने महसुस गरिन थालिएको छ ।
पछिल्लो समय विश्वमा नै एन्टिबायोटिक औषधीले काम गर्न छोड्ने समस्या गम्भीर रुपमा देखा पर्न थालेको छ । एन्टिबायोटिक लगायतका औषधीको जथाभावी प्रयोगलाई नियन्त्रण गर्न भन्दै हालै भारत सरकारले ज्वरो र रुघाखोकीका लागि प्रयोग हुने निश्चित डोजमा दिइने दुई वा दुई भन्दा बढी औषधिको संयोजन गरिएका १ सय ५६ प्रकारका ’ककटेल’ औषधीमा प्रतिबन्ध लगाएको छ ।
भारतले प्रतिबन्ध लगाएको यस्ता औषधीको उत्पादन, बिक्री तथा वितरण पूर्ण रूपमा बन्द गरिने भारत सरकारले जनाएको छ । भारतले यस्ता औषधीबाट हुने दुस्प्रवाह रोक लगाउन औषधी प्रतिबन्ध गरेको हो । छिमेकी मुलुकले एन्टिबायोटिक लगायतका विभिन्न १ सय ५६ औषधी रोक लगाउँनु भारत सरकारको सकारामत्मक कदम भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै नेपालमा पनि एन्टिबायोटिक जस्ता बढि प्रयोग हुने औषधीको अनुचित प्रयोग नियन्त्रण गर्न मन्त्रालयले छलफल अगाडी बढाएको बताउँछ ।
जीवाणुबाट हुने स्वास्थ्य समस्या उपचारका लागि सन् १९३२ मा सल्फोना–माइड नामक एन्टिबायोटिकको विकास भएसंगै यसको प्रयोग हालसम्म हुदै आएका छ । तर मानवजीवन रक्षाका लागि बिकास भएका एन्टिबायोटिक औषधीको प्रयोग जथाभावी रुपमा हुदाँ औषधीले नै काम गर्न छोडे पछि स्वास्थ्य उपचारमा समस्या मात्र नभएर ज्यान नै जोखिममा पर्ने गरेको छ । त्रि.वि शिक्षण अस्पतालको अनुसार पछिल्लो समय अस्पतालमा उपचारमा आउँने करिब ३० प्रतिशत बिरामीमा एन्टिबायोटिक औषधीले काम गर्न छोडेको तथ्यांक छ ।
मानिसले रोग निदानका लागि मात्र नभएर एन्टिबायोटिक लगायत औषधी प्रयोग गर्ने मात्र नभएर पछिल्लो समय पशुपन्छी, वनस्पतिमा समेत यस्ता औषधीको अनुचित ढङ्गबाट प्रयोग बढेको छ । जसका कारण माछा मासु, सागसब्जी जस्ता खानेकुरा सेवनबाट नै हाम्रो शरीमा एन्टिबायोटिक प्रवेश गर्ने भएका कारण पनि जोखिम थप बढेको छ । विश्वमा नै एन्टिमाइक्रोवियल रेसिस्टेन्सका कारण वर्षेनी करिब १३ लाख मानिसको मृत्यु भइरहेको डब्लुएचओको तथ्यांकले दुखाउँछ ।
साथै अहिले नै नेपाल सहित विश्वभरका मुलुकहरुले यस्ता औषधीको नियन्त्रणका लागि उचित कदम नचाल्ने हो भने यो समस्या बन्दै जाने समेत डब्लु एचओले जनाएको छ ।