काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ट्रंकलाइन र डेडिकेटेड लाइनको वक्यौता रकम कानून बमोजिम सरकारले असुल उपर गर्ने बताएका छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले यस्तो बताएका हुन् । उनले ट्रंकलाइन र डेडिकेटेड लाइनको विद्युत महशुलका विषयमा मन्त्रालयले संसदीय सार्वजनिक लेखा समितिको निष्कर्ष अनुसार आफ्नो धारणा बनाउने बताए ।
मन्त्री खड्काले संसदीय सार्वजनिक लेखा समितिले निकालेको निष्कर्ष र निर्णयको आधारमा मन्त्रालयले धारणा बनाएर असुल उपर गरिने बताए । उनले वक्यौता रकम असुल गर्नका लागि उद्योगहरुको विद्युत काट्दा उद्योगमा मात्रै नभई श्रमिक लगायत बहुआयामिक क्षेत्रमा असर परी मुलुकलाई नोक्शानी हुने भएकाले विद्युत जडानका लागि निर्देशन भएको स्पष्ट पारे ।
सरकारले उद्योगहरुको विद्युत कटौती नगरी तीन महिनाभित्र एउटा निष्कर्षमा पुगेर वक्यौता रकम असुल गर्ने धारणा रहेको उनले जानकारी दिए । कुनै पनि तहले विद्युत उपभोग गरे बापतको रकम तिर्नु पर्दैन, मिनाहा भयो भनेर सरकारले नभनेको स्पष्टीकरण दिँदै उनले न्यायोचित ढङ्गले प्रयोग गरेको विद्युतको रकम उद्योगीहरुले तिर्नुपर्ने सरकारको धारणा रहेको बताए ।
६ अर्ब ४० करोडको रकम असुली गर्नुपर्ने कारणका विषयमा प्राधिकरणले समितिमा बुझाएको जानकारी गराएको पनि उनकाे भनाइ छ । उद्योगको विद्युत कटौती गरेर समस्याको समाधान नहुने भन्दै उद्योगी व्यवसायीहरुले रकम तिर्न आनाकानी गरे अन्य कानून प्रयोग गरी सरकारले आवश्यक ठहर भए बमोजिम विद्युतको महशुल असुल गरेरै छाड्ने उनले बताए ।
मन्त्री खड्काले राजनीतिक दलका नेतृत्वहरुले एक जना व्यक्तिलाई केन्द्रित भएर बनाएको धारणा राम्रो नभएको पनि बताए । उनले एउटा कर्मचारीलाई बढी उत्साहित र निराश बनाउने सरकारको सोच नभएको भन्दै राजनीतिक नेतृत्वले पनि त्यस्तो गर्न नहुने धारणा राखे ।