News 24 Television
नयाँ जीवन पाएर फर्किए रामआशिष 

रुपन्देही । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको पहल र उद्योगी व्यवसायीको आर्थिक सहयोगमा ‘ब्लडमनी’मा सहमति भएपछि मृत्युदण्डबाट जोगिएका धनुषाका रामआषिश यादव घर फर्किएका छन् । ब्लडमनीमा सम्झौता भएको विवरण दुताबासमार्फत साउदी पठाइएको डेढ महिनापछि यादव जेलमुक्त भएर स्वदेश फर्किएका हुन् ।

साउदीमासँगै काम गर्ने रुपन्देहीको कञ्चन गाउँपालिका–४का दुुर्गाप्रसाद शर्माको हत्या गरेपछि धनुषाको जनकपुर नगरपालिका–१७, का यादवलाई साउदीको अदालतले ५ वर्ष कैद सजाय र त्यसपछि पीडित परिवारसँग ब्लडमनीमा सम्झौता नभए मृत्युदण्ड हुने फैसला सुनाएको थियो । जसअनुसार यादवले ५ वर्ष जेल जीवन विताए । पीडित परिवारसँग ब्लडमनीको सम्झौता नभए उनलाई मृत्युदण्ड हुने निश्चित थियो । तर, गतअसार २५ मा पीडित परिवारसँग ब्लडमनीमा सम्झौता भयो र उनी मृत्युको मुखबाट बचे । जेलमुक्त भएर गत हप्ता काठमाडौं ओर्लिएका यादव सोमबार जनकपुरबाट श्रीमती, छोरीहरु र आफन्तसहित रुपन्देही आएर जिल्ला प्रशासनमार्फत् गल्तीको प्रायश्चित गर्दै पीडित परिवारसँग माफी मागेका छन् भने आफ्नो ज्यान बचाई दिएको भन्दै धन्यवाद व्यक्त गरेका छन् ।

यादवलाई मृत्युदण्डबाट जोगाउन र पीडित परिवारलाई ब्लडमनी वापत रकम उपलब्ध गराउन रुपन्देहीका ३० जना उद्योगी–व्यवसायी र सुरक्षा अधिकारीले गरेर ३६ लाख २५ हजार सहयोग जुटाएका थिए । यादव परिवारले १० लाख रुपैयाँ संकलन गरे । त्यसपछि ४६ लाख २५ हजार रुपैयाँ ब्लडमनी जिल्ला प्रशासनमा गत असार २५ मा मृतककी श्रीमती सीताकुमारी शर्मालाई हस्तान्तरण गरिएको थियो । ब्लडमनीमा सम्झौता भएको विवरण दुताबासमार्फत साउदी पठाइएको डेढ महिनापछि यादव जेलमुक्त भएर स्वदेश फर्किएका हुन् । यादवलाई आफ्नो गल्तीको प्रयाश्चित गर्दै अबका दिनमा परिवार, समाज र देशका लागि असल नागरिक भएर काम गर्न सुझाइएको छ । 

यादव र शर्मा साउँदीमा सँगै बसेका थिए । मदिरा सेवन गरी आपसमा आपसमा झगडा हुँदा घटना भएको भन्दै यादवले गल्तीको प्रायश्चित गरेका छन् । आफ्नो पीडा बिर्सिएर पनि शर्मा परिवारले आफूलाई जीवन दिएको यादवको भनाई छ । शर्माको परिवार, ब्लडमनी जुटाउन सहयोग गर्ने प्रमु्ख जिल्ला अधिकारी र रुपन्देहीका उद्योगी–व्यवसायीलाई कहिल्यै बिर्सन नसक्ने उनले बताएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update