News 24 Television
पुस्तक समीक्षा : छाेटा आख्यानकाे सुन्दर गुम्फन `दाेपानी´

`दाेपानी´ कर्ण दयाल `साेराडी´ काे पहिलो एकल लघुकथासङ्ग्रह हाे । यसअघि `लघुकथाकाे सुगन्ध´ संयुक्त लघुकथासङ्ग्रह प्रकाशित गरेका दयालले गजल, कविता, मुक्तक विधामा सशक्त रूपमा कलम चलाउँदै आएका छन् । बैतडीमा जन्मिए हुर्केका दयाल उच्च शिक्षा हासिल गरेर केही समय शिक्षण पेसामा लागे भने पछिल्लो समय मानवअधिकारकर्मी तथा सामाजिक अभियन्ताकाे परिचय बनाएका छन् ।

हालसम्म आधादर्जनभन्दा धेरै कृति प्रकाशित गरिसकेका दयालले २०७३ सालतिरबाट लघुकथा लेख्न थालेका हुन् । विदुर चालिसे, शंकरप्रसाद गैरे,  कपिल लामिछाने लगायतका अग्रज स्रष्टाका लघुकथाबाट प्रभावित दयाल मूलतः मानवीय मूल्य मान्यता स्थापित गर्ने पक्षमा आफ्ना लघुकथाहरूलाई केन्द्रित गर्न मन पराउँछन् । 

पानी बार्ने नेपाली समाजकाे परम्परागत मान्यतामा आधारित रहेर दाेपानी शीर्षक राखिएको दयालकाे लघुकथासङ्ग्रहमा चउन्नवटा लघुकथा समावेश गरिएका छन् । सरल भाव सुन्दर शिल्पशैलीका यिनका लघुकथाहरूले नेपाली समाजमा देखिने विविध विषय र समस्यालाई उठान गरेका छन् भने कतै व्यङ्ग्य गरेका छन् त कतै सुधारका लागि सन्देश सम्प्रेषण गरेका छन् । जातीय विभेद, आर्थिक विभेद, लगायतका विभेद दयालका लघुकथाकाे मुख्य कथ्य हाे भने मान्छेका साथै मानवेतर प्राणीप्रति पनि दया माया देखाउनुपर्छ भन्ने सन्देश यिनका लघुकथामा सम्प्रेषण गरिएको छ ।

मानवेतर प्राणीका साथै विभिन्न समय र प्रहरलाई मानवीकरण गरी पात्र चयन गरेकाे पाइन्छ । बालबालिकाप्रति अभिभावककाे दायित्व, पशुअधिकार र मान्छेकाे क्षुद्र र स्वार्थी प्रवृत्ति, पशुमा दया देखिने तर मान्छे क्रूर हुने गरेकाे यथार्थ, पशुमाथि मान्छेले गर्ने छल, काम गर्नेलाई अधिकार नदिने विभेदकारी नीति, मजदुर अधिकार, लैङ्गिक विभेदजस्ता विषय दयालका लघुकथामा प्रस्तुत भएका छन् ।

छाेरीलाई शिक्षा दिनुपर्ने र उमेर नपुग्दै बिहे गरिदिन नहुने सन्देश, कर्मचारीकाे भ्रष्ट आचरण, प्रकृतिको दाेहन, विभेदयुक्त समाज, अरूलाई आराेप लगाउने तर आफै लापरबाही गर्ने प्रवृत्ति, राजनीतिमा नयाँ पुस्तालाई अगाडि बढाउनुपर्ने मान्यता, कर्मचारीले गर्ने भ्रष्टाचार र जनप्रतिनिधिले राज्यकोषकाे दाेहन गर्ने प्रवृत्ति, मर्दै गएको मानवीय संवेदना, विदेशिनुपर्ने विवशता, काेराेनाका विविध सन्दर्भ, माेबाइलकाे लत, अन्धविश्वास, चाकरी खाेज्ने प्रवृत्ति, यिनका लघुकथामा प्रस्तुत भएका विषय हुन् ।

सामाजिक विकृति, विसङ्गति, गतिहीनता, बेमेल, भ्रष्ट राजनीति लगायतका विषय प्रस्तुत गरेर दयालले सामाजिक विषयका लघुकथा लेख्ने लघुकथाकारकाे परिचय बनाएका छन् ।

नेपाली समाजमा देखिने, सुनिने र भाेगिने गरेका आम विषयलाई नै चयन गरेर सुन्दर ढङ्गले आख्यानीकरण गर्ने दयाल कुशल लघुकथा स्रष्टा हुन् । यिनका लघुकथा क्रमशः परिष्कृत हुँदै गैरहेका छन् । दयाल बलियो सम्भावना बाेकेका लघुकथाकार हुन् भन्ने कुराकाे पुष्टि उनको `दाेपानी´ लघुकथासङ्ग्रहले गरेको छ ।

कृति : दाेपानी
विधा : लघुकथा
लेखक : कर्ण दयाल `साेराडी´
प्रकाशक : नमस्ते आधुनिक लघुकथा मञ्च
प्रकाशन वर्ष : २०८१ वैशाख
मूल्य : ३३३/-

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update