News 24 Television
विद्युतीय सवारीबाट नेपाल कसरी मालामाल हुन्छ ? 

मकवानपुर  । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारी साधनप्रति आकर्षण बढेको छ । नीजि सवारी साधनको रुपमा मात्रै होइन सार्वजनिक यातायातको रुपमा पनि विद्युतीय सवारी नै चढ्न रुचाउने यात्रुहरुको संख्या बढ्दै गएको हो । पछिल्लो समय इन्धनको मुल्य तीव्र रुपमा बढेसँगै विद्युतीय सवारी प्रतिको आकर्षण बढेको छ । छोटो तथा लामो दुरीको यात्रामा विद्युतीय सवारीहरु चलाउन थालिएपछि यात्रुहरुको पहिलो रोजाइ विद्युतीय सवारी नै बनेको छ । गाडीमा बस्दा भाइब्रेसन नआउने, डिजल प्रेट्रोलको गन्ध नआउने तथा एसीको समेत राम्रो सुविधा रहेको कारण विद्युतीय सवारी नै चढ्न मन पर्ने यात्रुहरु बताउँछन् । 

वीरगन्ज–हेटौँडा हुँदै नारायणगढसम्म १० सिटे र १४ सिटे गरी दुई प्रकारका भ्यानहरु सञ्चालनमा आएका छन् । यतिमात्रै होइन, हेटौंडा–काठमाण्डौं पनि सोही प्रकारको विद्युतीय भ्यान गुड्ने गरेको छ । छोटो तथा लामो दूरीमा यात्रा गर्ने यात्रुहरुको पहिलो रोजाई नै विद्युतीय गाडी हुन थाले पछि फोन गरी–गरी अघिल्लो दिन नै टिकट बुक गराउने यात्रुहरु बढेको चालक बताउँछन् ।

 

मकवानपुरका युवा व्यवसायीहरुले जिल्लामै पहिलो पटक विद्युतीय चार्जिङ सेन्टर सञ्चालनमा ल्याएका थिए । त्यसपछि भने हाल हेटौंडा बजार क्षेत्र आसपासमा सरकारी र नीजि गरी ३ स्थानमा चार्जिङ प्वाइन्ट स्थापना भैसकेका छन् । जसले गर्दा विद्याुतीय सवारी किन्ने ग्राहकहरु समेत उत्तिकै बढेको हेटौंडा स्थित इभी कार्स एण्ड मोटर्स हब प्रा.लि. का संञ्चालकको अनुभव छ । 

एउटा उक्त विद्युतीय भ्यान चार्ज गरेको प्रति युनिट १५ रुपैंयाको दरले शुल्क लाग्छ । एउटा इलेक्ट्रिक गाडीको व्याट्रिको चार्ज फुल हुन फास्ट चार्जिङबाट लगभग ३० देखि ४५ मिनेट लाग्छ । 

नेपालमा विद्युतीय सवारी

नेपालमा अहिले करिब ३ हजार मेगावाट विद्युत उत्पादन भइरहेको छ भने करिब ४५ सय मेगावाट क्षमताका आयोजनाहरु निर्माणको चरणमा छन् । यीमध्य कतिपय निर्माणको अन्तिम चरणमा छन् । यस्तो अवस्थामा सरकारले विद्यूतीय सवारीमा जोड दिने हो भने र त्यही अनुसारको सहज नीति अपनाउने हो भने नेपालमा उत्पादित विद्यूत उत्पादन लगत्तै सहजै आन्तरिक बजारमै पनि खपत हुन्थ्यो । अहिले वर्सेनि २ खर्बभन्दा बढिको पेट्रोलियम पदार्थ आयात भइरहेको छ । नेपालमा आयात हुने पेट्रोलियम पदार्थको ठूलो हिस्सा सवारी साधनमै खपत हुन्छ । 

सरकारले पेट्रोलियम सवारीको साटो विद्युतीय सवारीमा जोड दिने हो अहिले जसरी विद्युतीय सवारीमा आकर्षण देखिएको छ त्यो तीन चार गुणा बढेर जान्छ । यसो हुँदा पेट्रोलियम पदार्थका लागि बाहिरिने गरेको ठूलो रकम देशमै रहन्थ्यो भने नेपालको वैदेशिक व्यापार घाटामा पनि सुधार हुने थियो । त्यसैले पनि सरकारले देशमा उत्पादन भइरहको विद्यूतलाई ध्यानमा राख्दै विद्युतीय सवारीको प्रयोगलाई सहज हुनेगरी निति नियम बनाउन जरुरी छ । 


 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update