News 24 Television
देउवा र ओली विरुद्ध टुँडिखेलमा नाराबाजी, जंगिए देउवा

काठमाडौँ । टुँडिखेलमा गौरा पर्व मनाउने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा लगायत नेताहरुविरुद्ध नाराबाजी भएको छ ।

सोमबार टुँडिखेलमा भइरहेको गौरा पर्व विशेष समारोहमा सम्बोधन गर्न प्रधानमन्त्री ओली,  नेता देउवा र भीम रावललगायत नेताहरु पुगेका थिए । भीडमा रहेका युवाहरुले देउवाले मञ्चबाट सम्बोधन गर्ने क्रममा नाराबाजी र होहल्ला सुरु गरे ।

आफू बोल्ने बेला नाराबाजी भएपछि देउवा आक्रोशित भए । उनले भने, ‘तपाईंहरु जति कराउनुछ कराउनुस्, म बोल्छु । कार्यक्रम बिथोल्न लाज छैन ? यही सिकेर आएको हो ? यही हो हाम्रो चलन ? यहाँ न देउडा खेल्न दिन्छन्, न केही । कार्यक्रम बिथोल्नेहरु, बकबासहरु । 

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले गौरा पर्व बिथोल्नेहरुलाई कारबाही गर्न आग्रह समेत गरे । आक्रोश पोखेपछि देउवाले औपचारिक सम्बोधन सुरु गरेका उनले बिरोध गर्नेहरु पछाडि कसको हात छ र कुन तत्व त्यसको पहिचान गरी कारबाही गर्नुपर्ने बताए । नेपाली समाजमा नैतिकता हराउँदै गएको समेत उनले बताए । 

समाराेहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएको बताए । उनले नयाँ पुस्ताले आफ्नो परम्परा र संस्कृतिअनुसार सभ्यतार शिष्टता बिर्सिएको देख्दा अचम्मित लागेकाे समेत बताए । 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update