News 24 Television
ओलीमाथि प्रचण्ड निशाना, रक्षात्मक ओली 

काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एकअर्कामा कडा राजनीतिक संघर्र्ष चल्ने गर्छ । भलै अहिले माओवादी सानो आकारमा खुम्चिएको छ । 

एमाले दलीय हैसियतमा दोस्रो ठूलो दल हो । तर पनि यी दुई दलका नेतृत्वबीच सँधैजसो कडा टक्कर हुँदै आएका छन् । मुख्यतः पछिल्लो राजनीतिक समीकरण बदलिँदा एमालेले प्रचण्डलाई ‘किक्आउट’ गर्दै प्रतिपक्षमा पुर्याइदियो । 

प्रचण्डलाई किनाराकृत गर्दै एमाले अध्यक्ष ओली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बन्न पुगे । समीकरण परिवर्तनलाई माओवादी अध्यक्ष प्रचण्डले भने ओलीको गम्भीर षड्यन्त्र भन्ने गर्दछन् ।

नयाँ समीकरणपछि प्रधानमन्त्री ओली काँग्रेस–एमालेको गठबन्धनलाई अग्रगामी पुष्टि गर्न अग्रसर छन् । उता प्रचण्ड पनि सरकार भ्रष्टाचारविरुद्ध कडा प्रस्तुत हुँदा अफूलाई हटाइएको भन्दै जनतालाई ‘कन्भिन्स’ गर्ने प्रयासमा छन् । 

ओली–प्रचण्डबीच शान्तिप्रकृयापछिका सबै राजनीतिक परिदृष्यमा एकअर्कामा भिडेकै देखिन्छ । उनीहरुबीच सरकार गिराउने र बनाउने खेल नै भइरहेको छ । यसकै निरन्तरता स्वरुप गत असार १५ गतेको घटना आइपर्यो । 

यो दिन सत्तामा रहेकै बखत तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई निरन्तरताकै आशा देखाएर ओलीले देउवासँग संवाद थालेका थिए । 

यही जगमा अडिएर हालको सरकार गठन भएको हो । तर यसलाई माओवादीसहितका प्रतिपक्षी दलहरुले भने भ्रष्ट जोगाउन देउवा–ओली मिलेको आरोप लगाइरहेका छन् । 

०७४ सालमा गठन भएको नेकपा विभाजन हुनु पनि प्रचण्ड र  ओलीबीचकै संघर्ष थियो । यी दुई पात्रको एकता र फुटको श्रृङ्खलाले पनि कार्यकर्ता र जनतालाई को ठिक वा को बेठिक हो ? भन्ने प्रश्न पैदा गराई रहेको छ । 

सत्ताच्युतपछि प्रमुख प्रतिपक्षी बनेको माओवादी केन्द्र अहिले पार्टीकै गतिविधिमा व्यस्त छ । जनतामा जाने र आउँदोे निर्वाचनमा ०६४ कै जस्तै जनलहर ल्याउने उदेश्यमा रहेका अध्यक्ष प्रचण्डले गठबन्धन र प्रधानन्त्री ओलीमाथि भ्रष्टाचारीको संज्ञा दिन छाडेका छैनन् ।

वर्तमान गठबन्धनले माओवादी नेतृत्वको सरकार विस्थापित गरेको नभइ भ्रष्टाचारी र दलालाई बचाएको प्रचण्डको बुझाइ छ । ओलीले दलाल र भ्रष्टाचारको रक्षा गरेकाले यो सरकार पनि भ्रष्टाचारीकैे भएको सीधा आरोप प्रचण्डको छ । 

तर उता प्रधानमन्त्री केपी शर्मा ओलीले भने विभिन्न समयमा पटक पटक वर्तमान सरकार सुशासन र समृद्धिका लागि बनेको दावी गरिसकेका छन् । 

सहकारी ठगी प्रकरणको सवालमा होस् वा विद्युत प्राधिकरणको बक्यौता मिलनको विषयमा ओली आफू कुनै पनि भ्रष्टाचार सहनै नसक्ने जिकिर गर्छन् । 

यद्यपि ओलीको जिकरप्रति आम जनता र प्रतिपक्षी दलसमेत आश्वस्त बनेको छैन । तर पछिल्लो समय ओली विदेशमा रहेका नेपालीहरुलाई समेत स्वदेश फर्कने गरिको विकासका काम गरिरहेको भन्दै जनता आकर्षित पारिहरको छन् ।

खासगरी प्रधानमन्त्री केपी शर्मा ओली र सत्ताच्युत भएर प्रतिपक्षी कित्तामा पुगेका माओवादी अध्यक्ष प्रचण्डबीच भ्रष्टाचारी प्रमाणित गर्ने र सबल सरकारको नेतृत्व प्रमाणिकरण गर्ने होड देखिन्छ । 

प्रचण्ड ओलीलाई भ्रष्ट सावित गराउने मनस्थितिमा छन् भने ओलीलाई प्रचण्डको आरोप निस्तेज पार्दै निश्कलंक बन्नु छ । तर ओली र प्रचण्डको संघर्षको सिकार भने सँधै मुलुक र जनता नै हुने गरेका छन् । नेता र नेतृत्व व्यक्तिगत एवं पार्टीगत स्वार्थभन्दा माथि नउठे जनता सँधै यस्तै मर्कामा पर्ने पक्का छ । तसर्थ अब जनताभित्र विवेक र चेतना उजागर हुन आवश्यकता देखिन्छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  ०६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update