रुपन्देही । बुटवल उपमहानगरपालिकाले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो रोकथामका लागि काम शुरु गरेको छ । गत आर्थिक वर्षमा उपमहानगरले नियमित रुपमा पहिरोग्रस्त क्षेत्रमा ग्याबिन जाली लगाउने, नाला, खोल्साहरु सरसफाइ गर्ने र अनुगमन गरी सम्भावित जोखिम न्युनीकरण गर्ने अन्य सुरक्षाका उपायहरु अपनाउने गरेको थियो ।
चालु आर्थिक वर्षभरिमा के कस्ता काम गरेर पहिरोलाई रोक्न सकिन्छ भन्ने बारेमा प्राविधिक सहितको टोलीले अनुगमन गरेसँगै पहिरो रोकथामका लागि रणनीतिक कामको सुरुवात भएकोह हो ।
बुटवल बजारमा बर्सेनि असर गर्ने ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो नियन्त्रण तथा रोकथामका लागि बुटवल उपमहानगरपालिकाले रणनीतिक योजना बनाई काम शूरु गरेको छ ।
बर्सेनि हुने पहिरोजन्य क्षतिलाई सधैका लागि अन्त्य गर्न रोकथामको उपाय अपनाई चालु आथर््िाक वर्ष भित्र विभिन्न चरणका कामहरु सम्पन्न गर्ने तयारी बुटवल उपमहानगर पालिकाको छ । चालु आर्थिक वर्षमा आवश्यक स्थानमा ग्याबिन जाली लगाउने, खोल्साहरु सफा गर्ने, पानीको बहावलाई व्यवस्थित गर्ने जस्ता काम गर्ने गरी बजेट विनियोजन भएको र सोही अनुसारको काम पनि शुरु भएको हो ।
ज्योतीनगर र लक्ष्मीनगर क्षेत्रमा २०७८ सालमा आएको पहिरोले १५ घर पूर्ण क्षति भएको थियो भने ३० घर आंशिक क्षति पुगेको थियो । त्यस्तै १२ घरमा लेदो छिरेर सामान्य क्षति पुगेको थियो । अब फेरि त्यस्तै क्षति हुन नदिन बुटवल उपमहानगरपालिकाले विशेष प्राथमिकताका साथ सुरक्षा र रोकथामको काम गरिरहेको जनाएको छ ।
पहिरो नियन्त्रणका लागि गत आर्थिक वर्षमा बुटवल उपमहानगरपालिका र संघीय सरकारको अनुदान अन्तरगत ४ करोड ५० लाखमा चेकड्याम, रिटर्निङ्ग वाल, बक्स कल्भर्टलगायतका संरचनाहरु निर्माण गरिएको थियो । ती संरचनाकै कारण पहिरो रोकिएको जनप्रतिनिधि समेत रहेका स्थानीय अमृत खड्का बताउँछन् ।
२०७८ भदौ १३ र १४ गते बुटवल उपमहानगरपालिकाको ज्योतिनगर र लक्ष्मीनगर माथिको भागस्थित चुरे क्षेत्रमा गएको ठूलो पहिरोका कारण बुटवल बजार नै जोखिममा परेपछि विज्ञको टोलीले अध्ययन गरेको थियो ।
राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिको सहजीकरण र सहयोगमा समितिका सदस्य तथा भू–विपद् विज्ञहरु डा सुस्मिता ढकाल, डा रञ्जनकुमार दाहाल, डा मनिता दाहाल र ई सञ्जय देवकोटा सम्मिलित टोलीले ज्योतिनगरको माथिल्लो भागमा रहेको श्रवन डाँडा क्षेत्रको पहिरोको स्थलगत अध्ययन गरेका थिए ।
अध्ययनपछि सो टोलीले तयार पारेको प्रतिवेदनअनुसार ’भिरालो जमिनमा सतही पानी र भूमिगत पानीको सही व्यवस्थापन नगरे त्यस्तो भिरालो जमिन असन्तुलित हुन गई पहिरो जाने गर्छ ।