News 24 Television
नेकपा एसमा सर्वसम्मत पदाधिकारी चयनको सम्भवना कम, दर्जनौं आकांक्षी  

काठमाडौं । गत असारमा भएको महाधिवेशनमा पार्टी अध्यक्ष, महासचिव र सम्मानित नेता चयन गरेको नेकपा एकीकृत समाजवादीलाई बाँकी पदाधिकारी चुन्न सकस भइरहेको छ । 

सर्वसम्मतिबाटै पदाधिकारी चयन गर्ने नेताहरुले बताइरहे पनि सर्वसम्मतिको सम्भावना न्यून देखिएको छ । सर्वसम्मत रुपमा पदाधिकारी चयन गर्ने योजनाका साथ आइतबारबाट शुरु भएको केन्द्रीय समिति बैठकमा आकांक्षीहरु धेरै भएपछि अधिकांश पदमा निर्वाचन हुने देखिएको छ । 

गत असार १६ गतेदेखि २० गते सम्म काठमाडौंको कमलादीमा भएको नेकपा एकीकृत समाजवादीको १० औं महाधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन सम्भव नभएपछि अध्यक्ष, महासचिव र सम्मानित नेता चयन गरी ९३ सदस्य केन्द्रीय समिति घोषणा गरिएको थियो । 

माधव नेपालसहित झलनाथ खनाल र घनश्याम भुसाल नै नेतृत्वको आकांक्षी देखिएपछि पुरानौ पद दोहा¥याउने सहमति गर्दै तीन पदमा सर्वसम्मत भएको घोषणा गरिएको थियो ।  

साथै, पदाधिकारीसहित २ सय ९९ जना सम्मको केन्द्रीय समिति बनाउन सक्ने म्यान्डेट पनि महाधिवेशनबाट पास भएको थियो । तर गत साउन १८ गते ३ सय ४४ जना सदस्य रहेको केन्द्रीय कमिटि घोषणा भयो । 

पदाधिधारी चयन गर्ने प्रयोजनका लागि आइतबारदेखि काठमाडौंस्थित थापागाउँमा शुरु भएको केन्द्रीय समितिको पहिलो बैठक शुरु भएको छ । केन्द्रीय समिति बैठकबाटै सर्वसहमतिबाट पदाधिकारी चयन गर्ने योजना छ । तर तर पदाधिकारीमै आकांक्षी धेरै देखिएपछि निर्वाचन हुने सम्भावना बढेको छ ।  

एक बरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्र पाण्डे, बेदुराम भुषाल र प्रमेस हमालले आकांक्षी छन् भने ६ उपाध्यक्ष पदमा रामकुमारी झाँक्री, प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पौडेल, जगन्नाथ खतिवडा, जयन्ती राई, राजेन्द्र राई लगायतका एक दर्जन आकांक्षी छन् । 

यस्तै, ४ उपमहासचिव पदमा पनि नागेन्द्र चौधरी, जीवनराम श्रेष्ठ, हरि पराजुली, बिरोध खतिवडा, गरिमा शाह लगावयत दर्जन बढी आकांक्षी छन् भने, ७ सदस्य सचिव पदमा तीन दर्जन बढी आकांक्षी छन् । पार्टी भित्र पुस्तान्तरणको मुद्धा चर्काे रुपमा उठेकाले सचिवमा युवा आकांक्षी देखिएका हुन् । 

पदाधिकारीमा दर्जनौं आकांक्षी रहेकाले निर्वाचनको बिकल्प देखिदैन । संगठनलाई बलियो र चलायमान् बनाउनका लागि पनि निर्वाचनमा जानुपर्ने नेताहरुको मत छ । तीनै पुस्तालाई मिलाएर लैजानुपर्ने दबाब पनि नेतृत्व माथि छ । जर्बजस्त सर्वसम्मतीको घोषणा गरिए विद्रोह हुने संकेत पनि देखिएको छ । 

गएको ७९ सालको निर्वाचनअघि नेकपा एमालेबाट अलग भई माधव नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको थियो । तर निर्वाचनमा थ्रेस होल्ड पार गर्न नसक्दा पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गर्न सकेन । एमाले शक्तिशाली बन्दै गर्दा पार्टी विद्रोह गर्नेको पंक्ति नै बढ्दै गइरहेको छ । संकटको अवस्थामा रहेको यो पार्टीलाई आकांक्षीहरु सबैलाई समेटेर अगाडि बढ्नुपर्ने बाध्यता देखिन्छ । 

 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  ०६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update