काठमाडौं । बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य छोइनसक्नु भएको छ । चामल, दालजस्ता दैनिक खाद्यवस्तुको मूल्य हरेक दिन जस्तो बढिरहेको छ । खाद्य वस्तुमा मिसावट र कालोबजारी पनि उस्तै छ । जनैपूर्णिमापछि नेपालीहरुको महत्वपूर्ण चाडवाड शुरु हुने भएकाले यो बेला बजार उपभोक्तासँग सरोकारवाला निकायहरु पनि सल्बलाएका भेटिन्छन् ।
बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य काठमाडौंका हरेक पसलमा मनलाग्दी छ । दैनिक उपभोग्य वस्तुको मूल्य हरेक दिनजस्तो बढिरहेको छ । अझ चाडबाड लागेपछि खाद्य वस्तुमा मिसावटका साथै कृत्रिम अभाव तथा कालोबजारी पनि उत्तिकै हुने गर्दछ ।
सरकारले भने सधैजसो कृत्रिम अभाव र कालोबजारी गर्नेलाई कारबाही गर्ने बताइरहे पनि बजारको समस्या उस्तै छ । सरकारले प्रभावकारी अनुगमन नगर्दा कालोबजारी हुने गरेको छ । उद्योग वणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी भने उपभोक्ता अदालत आवश्यक रहेको र अनुगमनलाई प्रभावकारी बनाउने गरी एक महिनाभित्रै उपभोक्ता अदालत गठन गरिने बताउँछन् ।
बजारमा कृत्रिम अभाव, कालोबजारी ब्याप्त रहेको कुरामा मन्त्रीदेखि सरोकारवाला निकाय सबैको स्वीकारोक्ति छ । उपभोक्ता हितका विषयमा दलीय राजनीतिले समेत प्रभाव पार्ने गरेको संसदको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति एवम् जनमत पार्टीका सांसद अब्दुल खाँन बताउँछन् ।
नेपाल आयात हुने वस्तुहरुको गुणस्तर मापन समेत नहुँदा उपभोक्ताहरु गुणस्तरहिन वस्तुको उपभोग गर्न बाध्य छन् । त्यसैले, उपभोक्ता अधिकारका विषयमा आवाज उठाउँदै आएका संघ संस्थाका प्रतिनिधिहरु मात्र होइन, उद्योगीहरु पनि नेपालमा आयात हुने वस्तुहरुको गुणस्तर मापन अनिवार्य रहेको बताउँछन् । नेपालमा हाल करिव ११५० वटा वस्तु तथा सेवाहरुमा नेपाल गुणस्तर निर्धारण गरिए पनि सामान्यतया ५ हजार भन्दा बढी वस्तुहरु आयात हुने गरेको छ । अधिकांश आयातित वस्तुहरु गुणस्तरका मापन हुने गरेको देखिदैन ।
उद्योग वाणिज्य एवम् बजार अनुगमन सम्बन्धि अधिकारप्राप्त निकायहरु चाडबाडका बेला बाहेक चुपचाप बस्ने गर्छन् । अझ ब्यापारीहरुलाई पूर्व जानकारी दिएर बजार अनुगमनमा निस्किने गर्दछन् ।
चाडबाड लक्षित मात्र होइन, जुनसुकै समयमा पनि उपभोग्य वस्तु उपभोक्ताले सहज र सुलभ मूल्यमा पाउने अवस्था बन्न जरुरी छ ।