काठमाडौं । नेपालमा हरेक वर्ष ६५ देखि ७५ हजार मानिस आगो तथा एसिडको जलनबाट प्रभावित हुने गरेका छन् । जलनको उपचार नेपालमा अत्यन्तै महंगो छ । तर अब सरकारले दुर्घटनावश जलनबाट पीडित बनेकाहरुको सहज उपचार होस् भनेर निशूल्क उपचार गर्ने तयारीमा जुटेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलन भएका बिरामीको औषधी उपचार सरकारबाट निःशुल्क गराउनका लागि कार्यविधि बनाएर लागु गर्ने तयारीमा जुटेको जानकारी दिएको छ । मन्त्रालयका अनुसार जलन भएका बिरामीको उपचार निःशुल्क गर्ने योजना सहित कार्यविधि अर्थ मन्त्रालयमा समेत पठाइसकिएको छ ।
जलनको उपचार निःशुल्क गर्ने कार्यलाई प्राथमिकता दिदै स्वास्थ्यमन्त्री प्रदीप पौडेल अगाडी बढेको समेत मन्त्रालयको भनाई छ ।
स्वास्थ्य मन्त्रालयले तयार पारेको कार्यविधि अनुसार जलनका बिरामीको प्राथमिक उपचार जिल्ला अस्पतालमा गरिने र त्यहाँ उपचार हुन नसकेका बिरामीलाई केन्द्रीय अस्पतालमा रिफर गरिने समेत मन्त्रालयको भनाई छ ।
जलनबाट घाइते भएका बिरामीको उपचारका लागि सरकारी अस्पताललाई प्राथमिक र सेकेन्डरी तहमा छुट्ट्याउने तयारी पनि मन्त्रालयले गरेको छ । प्राथमिक तहका अस्पतालका रूपमा जिल्ला अस्पताललाई मानिने तथा जलन भएका सामान्य शल्यक्रिया गर्नुपर्ने बिरामीलाई जिल्ला तहमै उपचार गरिने छ भने धेरै जलन भएका बिरामीलाई जिल्ला अस्पतालले केन्द्रीय तथा प्रादेशिक अस्पतालमा रिफर गरिने छ ।
कार्यविधि अनुसार जलन उपचारमा प्रादेशिक अस्पताल र केन्द्रीय अस्पताललाई सेकेन्डरी अस्पतालका रूपमा राखिएको छ । जलनबाट घाइते बिरामीको उपचार जिल्लामा हुन नसक्ने अवस्थामा बिरामीलाई प्रादेशिक तथा केन्द्रीय अस्पतालमा जुनसुकैमा रिफर हुँदा पनि बिरामीको सम्पूर्ण उपचार निःशुल्क गरिने छ ।
सरकारले जलनबाट घाइते भएका बिरामीको निःशुल्क उपचार गर्न कार्यविधि बनाउनु तथा यसलाई लागू गर्न देखाएको तदारुकतालाई सकारामत्क कदमका रुपमा लिन सकिन्छ । तर नेपालमा जलनबाट घाइते भएका बिरामीको मात्र उपचार गर्ने भनेर बनाएका सरकारी अस्पताल छैैनन् ।
सबै खाले रोगको उपचार हुने संघीय अस्पतालहरूमा ४ देखि ६ वटा शय्यासहित जलन विभाग छुट्याएर उपचार सेवा प्रदान गरिएको छ । त्यस्तै सरकारी अस्पतालहरूमा रहेका जलन विभागहरूमा यथेष्ट शय्या, नर्स, फिजिओथेरापिस्ट, पोषणविद्, मनोविद्जस्ता विशेषज्ञ जनशक्ति पर्याप्त नहुदाँ औषधी उपचारमा समस्या हुने गरेको तथ्य समेत बाहिर आउँने गरेको छ ।
यस्तो अवस्थामा सरकारले निशुल्क औषधी उपचार सेवा सहित जलन उपचार केन्द्र विस्तारका साथै जनशतिm लगायत विषयमा समेत ध्यान दिन आवश्यक देखिन्छ ।