दोलखा । मौलिक परम्पराको रुपमा रहेको भैरव कुमारीजात्रा दोलखामा यस बर्ष पनि भब्यताका साथ मनाइएको छ । स्थानीय नेवार समुदायले प्रमुख रुपमा मनाउने यो पर्व भाद्र कृष्णपक्ष द्वितीयाका दिनदेखि षष्टीसम्म लगातार पाँचदिन रातभर भैरव–कुमारी जात्रा निकालिन्छ ।
राती निकालिने भैरव–कुमारी जात्रा दोलखाको विशिष्ट र मौलिक जात्रा हो । यो जात्रामा भैरव–कुमारी सहितका गणहरु नाँच्दै शहर भित्रका देवस्थलमा घुम्दै जात्रा निकालिएको ठाउँमा नै आएर भित्र्याउने चलन छ । जात्रा निकाल्नुभन्दा पहिले जात्रामा भाग लिने भैरब, कुमारी र अन्य गणलाई देवीदेवताको भेषमा सगुन दिएर मात्र बाहिर निकाल्ने गरिन्छ ।
पूजाआजाको बिधि सिद्धिएपछि राजा इन्द्र र नकिन हुने निस्कन्छन्, त्यसपछि अन्तिममा भैरब कुमारी निकालिन्छ । जात्रा शुरु भएको पहिलो दिन भूत प्रेतहरुले जात्रा हेर्छन् त्यसैले मानवजातिले हेर्नु हुंदैन भन्ने मान्यता रहेको छ भने दोश्रो दिन गुभाजुले बज्र लिई घण्टी बजाउंदै भुत प्रेत, दानव राक्षसहरुलाई पन्छाउदै हिड्ने प्रचलन छ ।
तर जात्रामा परम्परा र तान्त्रिक विधिलाई मिच्दै गुभाजु उपस्थित नभएपछि स्थानीयले विरोध गरिरहेका छन् । गुभाजु वैदेशिक रोजगारीको सिलसिलामा विदेश रहेको र उनको सट्टामा परिवारको सदस्य जानुपर्नेमा नगएको भन्दै स्थानीयले संस्कृति र परम्परामाथि प्रहार भएको भन्दै आपत्ति जनाएका हुन् । भैरव कुमारी जात्राबारे दोलखामा आधारित केही ऐतिहासिक कथाहरु प्रचलित छन् ।
इतिहासका अनुसार दोलखामा हालको ढुङ्गल टोलमा सर्वप्रथम मानव बस्ती बसेको थियो । वस्तीमा २ दाजुभाई बस्थे । उनीहरु दिनहुँ तामाकोशी नागदहमा गएर नुहाई धुवाई गरीे नित्य पूजा गर्ने गर्थे । एक दिन उनिहरुले ३ दिदिबहिनीलाई नागदहमा भेटेपछि देवीको रुपमा दोलखामा ल्याएका थिए ।
जेठी र कान्छी त्रिपुरा सुन्दरीमा बसे भने माइली भने कालिन्चोक डाँडामा बसिन् । कुमारी भने अति चञ्चल स्वभावकी भएकीले सधैं रातो पहिरनमा दोलखा बजार घुम्ने गरेको किंवदन्ती छ । तर यहि कारण बालबालिका धमाधम मर्न थाले । अचानक आएको यस्तो समस्याबाट मुक्त हुनका लागि दोलखावासीले तन्त्रमन्त्रमा निपुण गुभाजुलाई गुहारे ।
तान्त्रिक विद्याको प्रयोगले ती गुभाजुले दोलखा बजारको दक्षिणपूर्वमा अवस्थित सानो जंगलजस्तो ठाउँमा खाल्डो खनी कुमारीलाई फलामे साङ्लाले बाँधे र आफूलाई भने चामलको पिठोको साङ्लाले बाँधे । तान्त्रिक मन्त्रोच्चारणले आफू साङ्लाबाट छुट्न सफल भए, तर कुमारीलाई भने भुटेको भटमास नउम्रेसम्म, तामाकोशीको ढुंगा आँप नबनेसम्म र भँगेराले एक–एक खुट्टाले पाइला नचालेसम्म त्यही खाल्डोमै बस्ने बाचा गराई समस्याको समाधान गरे भन्ने विश्वास पाइन्छ ।
त्यसै समयमा ती बााँधिएकी बूढीले आफु कुमारी भएको र केटाकेटी मर्नुमा आफ्नो कुनै भूमिका नभएको र गुभाजुले आफूलाई बाचा गराई जमिनमुनि बाँधेर राखेको कुरा बक्न थालिन् ।
त्यसै समयमा गुभाजुले आफ्नो तान्त्रिक विद्याको शक्तिले कुमारी नै रहेछन् भन्ने थाहा पाएपछि क्षमा मागी बर्सेनि गाईजात्राको भोलिपल्टदेखि पूर्णिमाको द्वितियादेखि षष्ठी तिथिसम्म पाँच दिन कुमारीको जात्रा निकाल्ने सर्तमा कुमारीलाई बसमा पारे । सोही समयदेखि नै यो जात्राको सुरुवात भएको स्थानीयको विश्वास छ ।
कुमारीले कुनै पनि समयमा केही न केही विध्वंश गर्न सक्ने आशंकामा विध्वंश हुनबाट बचाउनका लागि कुमारीको पति भैरवलाई पनि जात्रामा सहभागी गराइने भएकोले यो जात्रालाई भैरवकुमारीको जात्रा पनि भन्ने गरिन्छ ।
जात्रा प्रदर्शनको समयमा जहिल्यै भैरव अगाडि र कुमारी पछाडि बस्नुपर्ने, प्रत्येक रातको जात्रा अवधिभरि बाजा बजाउन रोक्न नहुने, कसैले सिठ्ठी बजाउन नहुने अन्यथा कुनै अनिष्ट हुनसक्ने जनविश्वास रहँर्दै आएको छ ।