News 24 Television
भारतीय युवतीको जग्गा हडप्ने कर्तुत यसरी भयो सार्वजनिक

रुपन्देही । बुबाको नाममा रुपन्देही सिद्धार्थनगर ६ का सुखु मल्लाहको नाम राखी दुई युवतीले जग्गा हडप्न खोजेको सार्वजनिक भएको छ । भारतीय नागरिकका ती दुई छोरीले नेपालमा विवाह गरेपछि नेपाली नागरिकता बनाउँदा बुबाको नाममा सुखु मल्लाहको नाम राखेका थिए । निसन्तान रहेका सुखु मल्लाहको निधनपछि उनको सम्पत्ति उनकै दाजुका दुई छोराको नाममा गएको थियो । तर जनप्रतिनिधि र प्रशासनको मिलेमतामा फरक ठाउँमा सर्जमिन गराई भारतीय नागरिक बदल मल्लाहका छोरीहरु मालती मल्लाहिन र रिखिदेवी मल्लाह अग्रवालले सुखु मल्लाहको छोरी भन्दै सम्पत्ति हत्याउन खोजेका हुन् । 

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ का दिवंगत निःसन्तान दम्पत्ती सुखु मल्लाह र कवुतरी मल्लाहको सम्पत्ति भारतीय नागरिकका छोरीहरु रिखीदेवी मल्लाह अग्रवाल र मालती मल्लाहिनले हत्याउने प्रयास गरेको बाहिरिएको छ । सिद्धार्थनगर–८ मा विवाह गरेकी रिखीदेवी र मायादेवी–३ मा विवाह गरेकी मालतीले सिद्धार्थनगरमा रहेको करिब २५ धुरमा बनेका ४ वटा घर तथा सियारी र ओमसतियामा रहेको साढे १६ कठ्ठा जमिन हत्याउन नागरिकतामा बुबाको स्थानमा निःसन्तान सुखुको नाम राखेको पाइएको छ । 

सुखुको नाममा रहेको जमिन उनको मृत्युपछि अदालतको फैसलाले उनका दाई सिद्धार्थनगर–६ का दिवंगत फौदार मल्लाहका छोराहरु लालजित मल्लाह र सन्त मल्लाहको नाममा गएको थियो । तर, सुखुको सम्पत्तिका हकदार छोरीहरु हुँदाहुँदै अरुको नाममा गएको भन्दै उनीहरुले अदालतमा मुद्दा हालेका थिए । उनीहरुले जनप्रतिनिध र प्रशासनको मिलेमतोमा फरक वडामा सर्जमिन गराई नागरिकतामा बाबुको नाममा सुखुको नाम राखी नागरिकता बनाएको आरोप लागेको छ । आफ्नो नाममा आइसकेको दिवंगत निःसन्तान काकाको सम्पत्ती भारतीय नागरिकका छोरीहरुले हडप्ने प्रयास गरेको भन्दै लालजित र सन्त अहिले न्यायका लागि भौतारिरहेका छन् ।

सुखुको मृत्युअघि पारिवारिक पृष्ठभूमिमा कतै नजोडिएका रिखीदेवी र मालतीले सुखुको मृत्युपछि सम्पत्ती दावी गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए । मुद्दा दर्ता पछि सन्त र लालजितले जिल्ला प्रशासनमा रिखीदेवी र मालतीविरुद्ध नागरिकता खारेजीको मागसहितको निवेदन दिएका थिए । यसपछि प्रशासनले छानविन सुरु ग¥यो । मालती र रिखीदेवीले रुपन्देहीका तत्कालीन प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र सिद्धार्थनगरका केही जनप्रतिनिधिसँगको सेटिङ मिलाएर जन्मस्थान दावी गरिएको ठाउँ सिद्धार्थनगर–६ मा सर्जमिन गराउनु पर्नेमा वडा नम्बर ८ मा गराएर रिखीदेवीलाई सुखुको छोरी रहेको सर्जमिन गराउन सफल भए । 

तर उक्त सर्जमिन वडा नम्बर ६ मा गराउन खोज्दा वडाध्यक्ष वीरेन्द्रकुमार श्रीवास्ताले मालती र रिखीदेवी सुखुको छोरी नभएको, उनी निःसन्तान रहेको भन्दै सर्जमिन गर्न नमानेपछि २०८० बैशाख २० मा नगरपालिकामा बसेर वडा नम्बर ८ मा सर्जमिन गरेको मुचुल्का खडा गरी प्रशासनमा पठाइयो । तर मालतीको भने सर्जमिन नै गरिएन । फरक वडामा गरिएको सर्जमिनलाई तत्कालीन प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सदर गरे । सिद्धार्थनगरका नगर प्रमुख इश्तियाक अहमद खाँले रिखीदेवी र मायादेवी ३ का वडाध्यक्ष मोहम्मद रफिक खाँनले मालतीको नागरिकतामा साक्षी बसेर प्रशासनबाट फिर्ता लिए । 

उक्त सर्जमिन अदालत पठाइयो भने सन्त र लालजितले दिएको नागरिकता सम्बन्धी उजुरी तामेलीमा राखियो । तत्कालीन रुपन्देही जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको २०८० भदौ २६ गतेको इजालसले त्यही सर्जमिनलाई टेकेर निःसन्तान सुखुको सम्पत्ती मालती र रिखीदेवीको नाममा जाने फैसला गर्यो । नगरपालिकामा बसेर गरिएको सर्जमिन प्रहरी मार्फत् वडा नं. ८ का वडाध्यक्ष राजनजंग राणालाई रोहबरमा राखेर हस्ताक्षर गराइयो । तर अहिले रिखीदेवी र मालती सुखुको छोरी नभएको बाहिरिएपछि वडाध्यक्ष राणाले भने प्रहरीमार्फत् आएको सर्जमिनलाई विश्वास गर्दा आफूलाई झुक्याइएको बताएका छन् ।

हालका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल रुपन्देही आएपछि सन्त र लालजितले आफ्ना काका निःसन्तान भएको तर फरक वडामा सर्जमिन गरिएको भनेर पुनः तामेली जगाई अनुसन्धान सुरु गर्न निवेदन दिए । त्यसपछि प्रशासनले वडा नम्बर ६ मा सर्जमिन गरेको छ । सर्जमिनबाट सुखु निःसन्तान रहेको र मालती र रिखीदेवी सुखुका छोरी होइनन् भन्ने मुचुल्का प्रशासनसम्म पुगेको छ । उनीहरुको नागरिकता माथि अहिले अनुसन्धान जारी छ ।

भारतको वस्ती जिल्लास्थित मेहदावलका भारतीय नागरिक बदल मल्लाह र मैनादेवीका छोरीहरु रिखीदेवी र मालतीले उच्च अदालतमा सुखुको मृत्युदर्ता बनाउँदा वडा नम्बर ६ ले नदिएको भन्दै रिट हालेका थिए । एकअर्कालाई आफू मात्रै सुखुको छोरी भएको दावी गरिएको रिट खारेज पछि वडासचिव विनोदकुमार कर्णको मिलेमतोमा मृत्यु दर्ता निकालेको पीडितको दावी छ । 

जिल्लामा मुद्दा दर्ता गर्दा सुखुका दुई श्रीमती रहेको र आफूहरु दुबै जना छोरी भएको दावी गरेका रिखीदेवी र मालतीले उच्च अदालतमा परेको जिल्लाको फैसलाविरुद्धको मुद्दामा भने जवाफी निवेदन दर्ता गर्दै रिखीदेवीले भने  मालती भारतीय नागरिकको छोरी भएको आरोप लगाएकी छन् । यसले पनि रिखीदेवी र मालती सुखुको छोरी नभएको पुष्टि हुने पीडितको दावी छ । उनीहरुले झुटा विवरण पेस गरेर सम्पत्ती हत्याउन खोज्ने रिखीदेवी र मालती तथा फरक ठाउँमा सर्जमिन गर्ने जनप्रतिनिधि, सिद्धार्थनगरका नगर प्रमुख, वडाध्यक्ष र तत्कालीन प्रमुख जिल्ला अधिकारीलाई कारबाहीको माग गरेका छन् । 
 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update