काठमाडौँ । एसियन हाइवेको कामले पछिल्ला दिनहरुमा तीव्रता पाइरहेको छ । यसले रोड सञ्जाललाई विस्तार गर्दै अन्तराष्ट्रिय सम्बन्ध विस्तारलाई समेत सहज बनाउने लक्ष्य राखिएको छ । २०७३ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच मेची नदीमा पुल निर्माण गर्ने सम्झौता भएको थियो ।
२०७४ फागुनबाट औपचारिक रूपमा पुल निर्माणको काम सुरु भएको थियो। नेपाल भारत सीमाको मेची नदीमा चार लेनको पुलसँगै काँकडभिट्टा बसपार्कसम्म चार लेनको फराकिलो सडक निर्माण भैसकेको छ । जसलाई ‘एसियन हाइवे’ को एप्रोच रोड भनिएको छ । नेपालको पूर्व–पश्चिम राजमार्ग र अरनिको राजमार्ग ‘एसियन हाइवे’ अन्तर्गत पर्दछन् । पूर्व–पश्चिम राजमार्ग ‘एसियन हाइवे’ को रुट–२ र अरनिको राजमार्ग रुट–४२ अन्तर्गत पर्दछन् । एसियन हाइवेको रुट–२ थाइल्यान्डको बैङ्ककबाट सुरु भई म्यान्मार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर बनबासा र त्यहाँबाट भारतको दिल्ली हुँदै पाकिस्तानको कराँची पुग्छ ।
त्यसैगरी, एसियन हाइवेको रुट–४२ अन्तर्गत भारतको रक्सौल हुँदै नेपालको वीरगञ्ज, नारायणगढ, काठमाडौँ भएर अरनिको राजमार्गको धुलिखेल, बाह्रबिसे, तातोपानी हुँदै चीनको ल्हासासम्म पुग्छ ।
एसियन हाइवेको पहुँचले व्यापार प्रवद्र्धनका साथै बजारीकरण र आयात, निर्यात सहज हुने अनुमान गरिएको छ । एसियाली बिकास बैंकको ८५ प्रतिशत र नेपाल सरकारको १५ प्रतिशत लगानीमा निर्माण भैरहेको एसियन हाइवेको भौतिक प्रगति ५.५ प्रतिशत रहेको छ । ३४ अर्ब ९१ करोडको लागतमा निर्माण सम्पन्न हुनेगरी ठेक्का लागेको सो सडकको नयाँ ट्रयाक बनाउनेदेखि कल्भर्टहरु निर्माणको काम धमाधम भैरहेको छ । अन्तराष्ट्रिय मापदण्ड अनुसार बन्ने सडकमा सातदेखि ११ मिटर चौडाइको बिटुमिन सडकलाई ग्रामीण तथा वन क्षेत्रमा २४ मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडाइको बनाइने छ ।
व्यापार विस्तार र प्रवद्र्धनका हिसाबले ‘एसियन हाइवे’ नेपालका लागि एउटा अवसर हुनेछ । भारतसँगको व्यापार सहजीकरणमा एसियन हाइवेले ठूलो महत्व राख्नेछ भने बंगलादेश र भुटान पनि नजिकका व्यापारिक साझेदार भएकाले सडक सञ्जालले सहज हुनेछ । काँकडभिट्टा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण भएकाले एकै दिनमा तीन देश भारत, भुटान र बंगलादेश पुगी फर्किन सकिन्छ । पश्चिम बंगालको बागडुग्रा विमानस्थलबाट काँकडभिट्टा आइपुग्न आधा घण्टा र काँकडभिट्टाबाट भद्रपुर विमानस्थल आधा घण्टाको दूरीमा रहेकाले झापा हुँदै काठमाडौँ आउने पर्यटकलाई पनि सहज हुने देखिन्छ ।
एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘महान एसियाली राजमार्ग’ अन्तर्गत नेपालको एक किलोमिटर भागमा मेची पुल निर्माणसँगै संरचना पूर्णरुपमा निर्माण भइसकेका छन् । सुविधासम्पन्न फराकिलो सडकका कारण सडकमा हुने सवारी दुर्घटना घटाउन तथा पूर्वी नाकाबाट स्थलमार्ग हुँदै आउने पर्यटकको संख्या बढ्ने हुँदा मुलुकको अर्थतन्त्रमै टेवा पुग्ने अपेक्षा गरिएको छ ।