News 24 Television
सुदूरपश्चिममा ‘गौरा पर्व’ सुरु 

कञ्चनपुर । सुुदूरपश्चिमको लोक तथा मौलिक संस्कृतिमा आधारित गौरा पर्वको शनिबारदेखि शुरु भएको छ । परापुूर्वकालदेखि हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन पञ्च विरुडा भिजाएर गौरा पर्वको थालनी गर्ने गरिन्छ । सप्तमी र अष्टमीका दुई दिन गौराका विशेष दिनका रुपमा लिइन्छ । 

सुदूरपश्चिमको प्रशिद्ध पर्व गौरा शनिबारदेखि विधिवत् रुपमा शुरू भएको छ । भदौ शुक्ल पक्ष पञ्चमीदेखि शुरू हुने पर्वको पहिलो दिन घर–घरमा बिरुडा अर्थात पाँच प्रकारको अन्न तामाको भाडामा गहँुु, केराउ, गहत, मास, गुुराँस भिजाएर गौरा पर्वको थालनी गरिन्छ । यो दिन महिलाले निराहार व्रत बसेर सगुुन गाउदै तामाको भाडामा गहँुु, केराउ, गहत, मास, गुुराँस लगायतका पञ्चअन्न अर्थात विरुडा भिजाएर गौरा पर्वको थालनी हुुने गर्दछ । बिरुडा भिजाउने बेला महिलाले स्थानीय भाषामा रहेको सगुन तथा बिरुडा भिजाउने बेलाको फाग गाउने चलन छ । पहिलो दिनलाई विरुडा पञ्चमी पनि भन्ने गरिन्छ ।  

पञ्चमीको दिन भिजाएका बिरुडालाई भोलिपल्ट षष्ठीका दिन पखाल्ने गरिन्छ भने सप्तमीका दिन महिलाले दिनभरि ब्रत बसेर आफ्नो परिवारको सुख, समृद्धि र चिरायुको कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पुजा गर्ने प्रचलन रहि आएको छ । त्यसैगरी, पञ्चमीका दिन भिजाएको पञ्च अन्न (विरुडा) अष्टमीका दिन आफ्नो परिवार, नातागाता र साथिभाइको शीरमा पूजा गरिन्छ । 

पार्वतीले शिव पति पाएझैं अविवाहित महिलाले शिव जस्तै पति पाउँ भनी ब्रत वस्दछन् भने विवाहित महिलाहरुले पतिको दीर्घायुको कामना गर्ने गर्दछन् । यस पर्वमा देवी पार्वतीले गौरा देविको पुजाआजा गरी शिव पति पाएको धार्मिक विश्वासका साथ सुुदुूरपश्चिममा गौरा पर्व मनाउने गरिएको स्थानीयको भनाइ छ ।

गौरा पर्वको प्रमुख आर्कषणका रुपमा रहेको देउडा खेलमा पौराणिक कथा, देवी देवताका गाथा र धार्मिक ग्रन्थ गाएर मनाइन्छ । गौरा पर्वको प्रमुख आर्कषणका रुपमा रहेको देउडा खेलमा पौराणिक कथा, देवी देवताका गाथा र धार्मिक ग्रन्थ गाउने गरिन्छ । पछिल्ला वर्षहरुमा चोक चौतारा र मठ मन्दिरमा सामाजिक विकृति र विसंगतीविरुद्ध पनि देउडाका माध्यमले तिखो व्यङ्ग्य गर्दै देउडा खेल खेलिने गरिन्छ । सप्तमी र अष्टमीका दुई दिन गौराका विशेष दिनका रुपमा लिने गरिएकोले आइतबार सार्वजनिक विदा समेत दिइएको छ । 

प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान् शिवकी अर्धाङ्गिनी पार्वतीलाई गौरा देवीका रुपमा पूजाअर्चना गरिँदै आइएको छ । गौरा शिवगौरीको स्थानीय लोकरीति अनुसार पूजाअर्चना गरिने पर्वको रुपमा लिने गरिएको छ । 
न्यूज २४ टेलिभिजनका लागि कञ्चनपुरबाट टीभी जर्नलिष्ट सुरेश भट्टको रिपोर्ट ।।
 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update