काठमाडौँ । भारतको युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्सेले बस दुर्घटनामा परि घाइते भएका आफ्ना नागरिकको अवस्थाबारे जानकारी लिएकी छन् । भारतीय पर्यटक सवार बस शुक्रबार तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा दुर्घटना भई मस्र्याङदी नदी किनारमा खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते छन् । घातेहरुको उपचार के कस्तो भइरहेको छ यसबारे पनि राज्यमन्त्रीले जानकारी लिइन् । यो दुर्घटनालाई भयानक दुर्घटनाका रुपमा व्याख्या गरिएको छ । यो मात्रै होइन पछिल्ला दिनहरुमा भइरहेका सवारी दुर्घटनाको ग्राफले गम्भिर सवाल उठाएको छ ।
शुक्रबार तनहुँको आँबुखैरेनीमा भारतीय पर्यटकसहितको बस दुर्घटनाले अतिबेला नेपालको सडक सुरक्षाको सवालमा गम्भिरता खडा गरेको छ । भारतीय पर्यटकसहितको बस नदीमा खसेपछि २७ जनाको मृत्यु नै भयो । उनीहरुको शव शनिबार भारत लगिएको छ । १६ जना घाइतेको उपचार काठमाडौंको टिचिङ अस्पतालमा जारी छ । आफ्ना नागरिकको स्वास्थ्य अवस्था बुझ्न भारतको युवा तथा खेलकुदराज्यमन्त्री नै नेपाल आइन् । भारतीय राज्यमन्त्री खड्सेको साथमा गृहमन्त्री रमेश लेखकले पनि अस्पताल पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएका छन् ।
भारत सरकारको प्रतिनिधित्व गर्दै नेपाल आएकी उनलाई गृहमन्त्रालयले दुर्घटना र उद्धार एवम् उपचारका बारेमा जानकारी समेत गराएको छ । सडक दुर्घटनाका यस्ता श्रङ्खला बढ्दै गएका छन् नेपालमा । अझ करिब एक महिनाको अन्तरालमा राजमार्गमा नै दुई ठूला दुर्घटना भएका छन् । चितवनको सिमलतालमा सडकबाट दुई वटा बस नदिमा खसे । नदीमा हराएका बस अझै भेटिएका छैन । यसले नेपालका सडकको अवस्था मात्रै होइन सुरक्षाका गम्भीर सवाल स्वत उठाएको छ । समयमै उद्धारको टोली पुग्न नसक्दा पनि मृत्युहुनेको संख्या बढेको सुरक्षाका जानकारहरू बताउँछन् । सडकमा लगानी गरिएपनि सुरक्षामा लगानी हुन सकेको छैन । अधिकंश राजमार्गहरूमा सडक सुरक्षाका लागि बेरिएरहरू लगाइएका छैन् । जसका कारण सवारीसाधन सोझै नदीमा खस्छन् । सडक निर्माणको काम नसकिनुले पनि दुर्घटना बढाइरेहको छ भने भिजिविलिटी कम भएका कारण पनि दुर्घटना बढिरहेकेको छ । नालीको कमजोर बनावट, लेन मार्किङमा वेवास्ता, सवारी चालकको लपरवाही, सवारीको कमजोर अवस्थालगायतलाई दुर्घटनाको प्रमुख कारण मानिए पनि सरकारको वेवास्ता प्रमुख हो । अझ, उद्धर टोली सुविधा सम्पन्न बनाउन राज्यले गर्नुपर्ने लगानीमा पनि खासै सक्रियता देखाएको छैन ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार मुलुकभर दैनिक ५४ वटा दुर्घटनामा औसतमा ७ जनाको मृत्यु हुन्छ भने १४ जना गम्भीर घाइते हुन्छन् । सडक दुर्घटनाको यो डरलाग्दो अवस्था हो । सडक दुर्घटना हुँदा धेरैजसो घटनामा चालक दोषी देखिने भए पनि धेरै कारणहरू जेलिएर आउने सडक सुरक्षा विज्ञहरूले औल्याएका छन् । सडकको सुधार, सवारी साधनको चेकजाँच, जनचेतनाका कार्यक्रम, कानुनको कडाईका साथ पालना, दुर्घटनापछि तत्काल उद्धारको संयन्त्र बनाउनु पर्ने लगायतका विषयमा राज्यले तत्काल कदम चाल्नैपर्ने देखिन्छ ।