काठमाडौं । शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (एप्क्यान)ले विभिन्न कार्यक्रम गरी आफ्नो प्रथम वार्षिकोत्सव मनाएको छ ।एप्क्यानले भदौं पाँचदेखि आठ गतेसम्म रक्तदान, वृक्षारोपण, निःशुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामाग्री वितरण र फुटसल प्रतियोगिताको आयोजना गरेर वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो ।
एप्क्यानले पहिलो दिन अरन्य बुटिक होटलमा रक्तदान कार्यक्रमका साथै शैक्षिक परामर्श व्यवसायीको माझमा केक काटेर आफ्नो पहिलो दिनको कार्यक्रम गरेको थियो । सो अवसरमा रक्तदानका लागि उल्लेख्य संख्यामा दाताहरु सहभागी भए ।
बिहीबार दोस्रो दिन भदौ ६ मा श्री ठूली बम्ह्यायणी निमावि चागुनारायण भक्तपुरमा निशुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामाग्री वितरण गरेको थियो । विद्यालयका १२० भन्दा बढीलाई शैक्षिक सामाग्री वितरण गरियो । विद्यार्थी तथा अभिभावकहरुले पनि स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराएका थिए । विद्यार्थीहरुको रक्त समूह छुट्याउने परीक्षण गरिएको थियो भने अन्यले आफ्नो सुगर र प्रेसरको जाँच गराउने र थप परीक्षणका लागि रगतको नमुना दिएका थिए ।
विद्यालयका संस्थापक तथा समाजका अगुवा बाबुकृष्ण खत्रीले सो कार्यक्रममा विशेष समन्वय गर्नु भएको थियो भने कार्यक्रममा विद्यालय व्यवस्थाप समितिका सदस्यहरु, प्रधानाध्यापक, शिक्षकहरुको पनि उपस्थिति थियो । आगामी दिनमा पनि यस्तै प्रकारका कार्यक्रमहरु गरिने सो अवसरमा जानकारी दिइयो ।
त्यसै गरी तेस्रो दिन ‘स्वास्थ्यका लागि शारीरिक व्यायम आवश्यक छ भन्ने सन्देश फैल्याउन फुटसल प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा छ टिमले सहभागीता जनाएका थिए । एप्क्यानमा आवद्ध शैक्षिक परामर्श व्यवसायीबीच भाइचारा अभिवृद्धि र एकतामा समेत बल पुर्याउने उद्देश्यले फुटसल प्रतियोगिताको आयोजना गरिएको संघले जनाएको छ ।
चार दिने कार्यक्रमअन्तर्गत अन्तिम दिन शनिबार भदौं ८ गते काठमाडौं महानगरपपालिका वडा नम्बर २९ स्थिति पद्मकन्या विद्याश्रम माविको परिसरमा वृक्षारोपण पनि गरिएको छ । वृक्षारोपणमा दीर्घकालसम्म सितलता दिने झन्डै २५ विरुवा रोपिए ।
एप्क्यानले आफ्नो वार्षिकोत्सवलाई भव्य रुपमा मनाउन आफ्ना सम्पूर्ण सदस्यहरुलाई क्रियाशील गरेको थियो । पहिलो दिनको कार्यक्रममा शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बराल, ईक्यान अध्यक्ष शेषराज भट्टराई, ईक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, आईरिन अध्यक्ष हेमन्त भट्टराई, नायर अध्यक्ष उद्दवबहादुर खड्का, जालशान अध्यक्ष रमेश देवकोटा, एइक्यान अध्यक्ष किशोर तिवारी लगायत विभिन्न संघ संस्थाका अध्यक्ष, उपाध्यक्ष, महासचिव लगायत पदाधिकारीको उपस्थिति रहेको थियो ।
वार्षिकोत्सवमा शुभकामना दिन क्यानडाबाट नेपाल आएका दुराम कलेजका प्रतिनिधि जिसनले पनि एप्क्यान र यो संघमा आवद्ध सदस्यहरुलाई आगामी पहिलो वर्षको उत्साहजनक सफलतामा बधाई र आगामी दिनका लागि शुभकामना दिएका थिए ।
कार्यक्रममा एप्क्यान अध्यक्ष प्रज्जवल बस्नेतले संघले शैक्षिक परामर्श व्यवसायलाई मर्यादित बनाउन र व्यवसायीलाई एकत्रित गर्दै मार्ग निर्देश गर्न भूमिका खेलेको बताए। उनले भने,’ व्यवसायीका समस्यालाई समाधान गर्दै अघि बढ्न सफल भएका छौं । आउने दिनहरूमा सबै शैक्षिक परामर्श व्यवसायी संघहरूसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’
महासंघका अध्यक्ष राजेन्द्र बरालले सरकारसमक्ष व्यवसायीले भोग्नुपरेका समस्याका विषयमा आवाज उठाइ राज्यलाई झकझकाउने काम गरेको, व्यवसायीलाई नवीकरणका लागि आह्वान गर्ने र हकहितका लागि काम गरेको बताए । कार्यक्रममा अध्यक्ष बरालले भने, ‘संघहरू एक ठाउँमा उभिएर बसेनन् भने भविष्यमा गाह्रो हुन्छ । व्यवसायी संघहरुलाई व्यवस्थित बनाउन कार्यगत एकताको खाँचो छ । महासंघको ५१ सदस्यीय कार्यसमिति भदौं महिनाभरमा घोषणा हुनेछ ।’
कार्यक्रममा ईक्यानका अध्यक्ष शेषराज भट्टराईले, ‘नेपाली विद्यार्थी र अभिभावकको इच्छाअनुसार नै गुणस्तरीय शिक्षाको लागि संसारको धेरै विश्वविद्यालयहरुमा विद्यार्थीहरू पठाउछौँ तर हामीलाई नै विभिन्न खालको डर किन हुन्छ ?’ भन्ने प्रश्न उठाएका थिए ।
आइरिनका अध्यक्ष हेमन्त भट्टराईले संघमा सहमतिगरि महासंघमा जान आफूहरु तयार भएको बताए । उनले भने, ‘यस व्यवसायलाई मर्यादित बनाउन खटौं, हामीले यो उमेरमा आएर पेशा बदल्न पनि सक्दैनौं । महासंघको अवधारणालाई साथ दिईअगाडि बढ्नुको विकल्प छैन ।’
कार्यक्रममा एप्क्यान अन्तर्गतका शैक्षिक परामर्श दिने सदस्य संस्थाहरुले पनि पहिलो वर्षमै यो संघले प्राप्त गरेको सफलता, विश्वसनीयता र बेग्लै पहिचनाप्रति खुसी प्रकट गरेका थिए । एप्क्यान स्थापना भएयता गरिएका व्यवसायीमैत्री विभिन्न क्रियाकलापका कारण समाजमा संस्थाले प्राप्त गरेको साख जोगाइ राख्न यस्तै प्रकारका क्रियाकलापलाई निरन्तरता दिनु पर्नेमा जोड दिइएको थियो ।