काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेसँग सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सोधपुछ गरेको छ । गोरखा मिडिया नेटवर्कको प्रवन्ध निर्देशकको हैसियतमा लामिछानेसँग समितिले सोधपुछ गरेको हो । सहकारी ठगीसँग सम्बन्धित विषयमा जोडिएका ब्यक्तिहरुसँग सोधपुछ गर्ने क्रममा सहमतिले लामिछानेसँग पनि बयान लिएको हो ।
दर्जनौं सहकारी संस्थाहरुबाट बचत रकम दुरुपयोग भएपछि वचतकर्ताहरु वर्षौदेखि रोइकराई गरिरहेका छन् । सहकारीपीडितले आफ्नो निक्षेप समेत फिर्ता नपाएको भन्दै आन्दोलन चर्काइरहेका बेला रास्वपा सभापति रवि लामिछाने सम्मिलित गोरखा मिडिया नेटवर्कबाट पनि रकम अपचलन भएको भन्दै नेपाली कांग्रेसले लामो समयसम्म सदन अवरुद्ध बनाएको थियो ।
कांग्रेसको दबाबकै कारण गठित ‘सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति’ सम्बन्धित ब्यक्तिहरुसँग बयान लिने क्रममा शुक्रबार लामिछानेसँग सोधपुछ गरेको हो ।
सिंहदरबार स्थित समितिकै कार्यालयमा बोलाएर गोरखा मिडिया नेटवर्क प्रालिको तत्कालिन प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेसँग समितिले सोधपुछ गरेको छ ।
संसदीय छानबिन विशेष समितिले शुक्रबार नै सिंहदरबारस्थित समितिको कार्यालयमा बोलाएर गोरखा मिडिया नेटवर्कका सञ्चालक पूर्व डिआइजी छविलाल जोशीसँग सोधपुछ गरेको थियो ।
गत वर्ष माघ २४ गते प्रहरीले जोशीको शंखमुलस्थित घरमा छापा मारी सूर्यदर्शन सहकारीको सर्भर बरामद गरेको थियो । सर्भरमा भेटिएका विवरण तथा उनको घरमा राखिएका ती सर्भरबारे समितिले सोधपुछ गरेको हो ।
जिबी नेतृत्वमै पुगेको हाम्रो नयाँ कृषि बहुउद्देश्य सहकारी संस्था भक्तपुरका पूर्वअध्यक्ष सूर्यबहादुर गुरुङ र ज्येष्ठ लगायत ८ वटा सहकारी संस्थासँग संवद्ध मधुसुदन पाठकसँग पनि समितिले सोधपुछ गरिसकेको छ । गोर्खा मिडियाको प्रबन्ध निर्देशक रहेकाबेला जीबी लगायतसँग मिलेर रविले सहकारीको बचत अपचलन गरेकोबारे समितिले शुक्रबार रविसँग पनि सोधपुछ गरेको हो ।
समितिले यसअघि सहकारी सम्बन्धि विभिन्न मुद्दामा कारागारमा रहेका सहकारी सञ्चालकहरुसँग बयान लिएको थियो । सहकारी ठगीसँग सम्बन्धित ब्यक्तिहरुसँगको सोधपुछ अन्तिम चरणमा पुगेको समितिले जनाएको छ ।
अब समितिले प्रतिवेदन लेखनमा लाग्ने जनाएको छ । सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्क प्रालि लगायत अन्य कम्पनी वा संस्थामा प्रवाह भएको रकमको स्थिति, सो रकम गैरकानूनी रूपमा प्रवाह भए÷नभएको र त्यस्तो गैरकानूनी वा अनुचित कार्यमा कोही संलग्न देखिएमा त्यस्ता व्यक्तिहरूबारे अध्ययन छानबिन गर्ने जिम्मा पाएकाले लामिछानेको बयानसमेत समेटेर प्रतिवेदन तयार गर्नेछ । विशेष समितिले सहकारी संस्थाहरूमा देखिएको संकट तथा यससँग जोडिएको कानूनी र संस्थागत प्रयोजन एवं प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धनमा अध्ययन गरी सुझाव दिनेछ ।