काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले बागमती प्रदेशको विकास निर्माणका आयोजनाहरु पुरा गरेको ७ दिन भित्र भुक्तानी गर्ने प्रतिवद्धता जनाएका छन् । तर आर्थिक बर्ष सकिदाँ पनि सरकारले निर्माण ब्यवसायीहरुको भुक्तानी नगरेको भन्दै ब्यवसायीहरुले बिरोध जारी नै छ ।
निर्माण ब्यवसायीहरुले केन्द्रदेखि स्थानीय तहसम्मका विकास आयोजनाको भुक्तानी नपाएको भन्दै गुनासो पोखेपछि बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाले बागमती प्रदेशमा निर्माण कार्य पुरा गरेको एक साता भित्र भुक्तानी गर्ने प्रतिवद्धता जनाएका हुन् ।
नेपाल निर्माण ब्यवसायी महासंघले मुख्यमन्त्री तामाङको शुभकामना कार्यक्रममा आयोजित कार्यक्रममा मुख्यमन्त्री तामाङले निर्माण कार्य निर्धारित समय भित्र पुरा गरी ब्यवसायिक जिम्मेवारी पुरा गर्न आग्रह गरेका छन् ।
बागमती प्रदेशमा भुक्तानीको कुनै समस्या नहुने प्रतिवद्धता दोहो¥याउँदै मुख्यमन्त्री तामाङले निर्माण क्षेत्रमा पनि समयसापेक्ष सुुधारको आवश्यकता भएको बताए ।
पूर्व निर्माण ब्यवसायी समेत रहेका तामाङले भुक्तानीको समस्याको कारण निर्माण क्षेत्र सुचारु हुन नसकेको हुदाँ निर्माण ब्यवसायलाई चलायमान बनाउन नितिगत तहको सुधार गर्न तयार रहेको बताए ।
नेपाल निर्माण ब्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रमा रहेको कानूनी तथा नीतिगत अस्पष्टतामा सुधार गरेर निर्माण क्षेत्रमा सहज वातावरण निर्माण गर्न माग गरेका छन् ।
निर्माण क्षेत्रमा रहेका समस्या समाधान गर्न सरकारी तहमा रहेको प्रशासनिक कठिनाई सुधार गरी निर्माण मैत्री कानून बनाउन निर्माण ब्यवसायीहरुले माग गरेका छन् ।
मुलुकको विकास निर्माणको कार्यमा स्थानीय, प्रदेश र केन्द्र तहसम्मका विकास आयोजनाहरुमा समस्या रहेको हुदाँ निर्माण मैत्री कानूृन र वातावरण निर्माण तत्काल गर्न पनि व्यवसायीले माग गरेका छन् ।