News 24 Television
रुस–युक्रेन युद्ध रोक्न मोदीको मध्यस्थता

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युक्रेन भ्रमणमा छन् । रुसको मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग विवादास्पद भेटघाट गरेको करिब एक महिनापछि मोदी युक्रेन पुगेका हुन् ।

युक्रेनमा मोदीले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग भेटवार्ता समेत गरेका छन् । रुस र युक्रेनबीच युद्ध सुरु भएको करिब अढाई वर्षपछि युक्रेन पुगेका भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई चासोका साथ हेरिएको छ । 

रुसले युक्रेनविरुद्ध युद्ध छेडेको करिब अढाई वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युक्रेन पुगेका छन् । युक्रेनमा मोदीलाई भव्य स्वागत गरिएको छ । 

दुई दिन पोल्याण्डको भ्रमण गरेपछि मोदी शुक्रवार युक्रेन पुगेका हुन् । मोदीले गएकै दिन युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग भेट गरिसकेका छन् भने दुवै नेताले युक्रेनको राष्ट्रिय संग्राहलय पुगेर युद्धका क्रममा मारिएका बालबालिकाप्रति श्रद्धान्जली व्यक्त गरे । 

युक्रेन जाने पहिलो भारतीय प्रधानमन्त्री बनेका मोदीले त्यहाँ रहेका भारतीयसँग पनि भेटघाट गरेका छन् । मस्कोमा रुसी राष्ट्रपतिसँग मोदीले भेट गरेपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले यो भेटवार्तालाई शान्ति प्रयासमाथिको एक झट्का भन्दै चर्को आलोचना गरेका थिए । तर यीनै आलोचना र विवादका बीच मोदी युक्रेन पुगेपछि विश्वव्यापी चासो बनेको छ । 

रुससँग भारतको पुरानो ऐतिहासिक सम्बन्ध छ । भारतले आफ्नो सुरक्षा प्रयोजनका लागि रुससँग ४० प्रतिशतभन्दा बढि हतियार खरिद गर्छ । भारतले अमेरिका, फ्रान्स, इजरायल लगायतसँग पनि हतियार खरिद गर्दै रुसमाथिको निर्भरता कम गराउँदै गएको छ । तर पहिले नै रुससँग खरिद गरेका त्यति धेरै हतियारको मर्मतसम्भार र आवश्यक पार्टपूर्जाका लागि भारत रुसमै निर्भर रहदैँ आएको छ । 

यसबाहेक रुस युक्रेन युद्ध सुरु भएपछि पश्चिमाहरुले गरेको प्रतिबन्धका कारण रुस भारतसँग अझ नजिकियो । रुसले कच्चा तेलमा भारी छुट दिदा भारतले त्यसको भरपुर फाइदा उठायो । सन् २०२१÷२२ मा मात्रै भारतले रुसबाट २ दशमलव ४ अर्ब अमेरिकी डलर बराबरको रुसी कच्चा तेल खरिद गरेको थियो । 

यो आयातको श्रृंखला २०२३÷२४ मा ह्वात्तै बढेर ४६ दशमलव ५ अर्ब अमेरिकी डर नाघ्यो । यति ठूलो व्यापारिक साझेदार भइरहेको समयमा मोदीको युक्रेन भ्रमणप्रति रुस चिढिन सक्ने सम्भावना पनि छ । 

मोदीको यो भ्रमणलाई सन्तुलनमा ल्याउन कुटनीतिक प्रशस्तै कुटनीतिक चुनौति भारतमाथि छ ।  

मोदी युक्रेन जानुको कारण ? 

युक्रेनले रुसको सीमामा आक्रमण तिव्र बनाइरहेका बेला मोदी युक्रेन पुगेका छन् । युक्रेन आक्रमक बन्दै जाँदा छिट्टै रुसले ठूलो आक्रमण गर्ने सम्भावना छ । माहोल अत्यन्तै बिग्रिरहेका बेला मोदी युक्रेन पुग्नुलाई अन्तराष्ट्रिय मामिलाका जानकारहरुले पनि निको मानेका छैनन् । 

यस्तो खराब समयका बीच मोदीको युक्रेन भ्रमण किन भनेर प्रश्नहरु पनि उठिरहेका छन् । यद्यपी रुससँग समेत नजिक रहेका मोदीले आफ्नो भ्रमण दुई देशबीचको युद्ध रोक्न मध्यस्थकर्ताको भूमिका निभाउन खोजिरहेको हुन सक्ने अनुमान पनि गरिएको छ । 

भारत र पाकिस्तानबीच सन् १९६६ मा भएको युद्ध अन्त्य गराउन तत्कालिन सोभियत संघले समेत जिम्मेवारी भूमिका खेलेको थियो । दुवै देशसँग समदुरीको सम्बन्धमा रहेको भारतले रुस र युक्रेनबीच भइरहेका युद्धलाई शान्तिको मार्गमा बदल्न प्रयास गरे वा सम्भव भए युद्धबाट प्रताडित बनेको विश्वलाई राहत मिल्नेमा भने शंका छैन । 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  ०६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update