News 24 Television
चोभार बन्दरगाह भरिभराउ, देशलाई यस्तो फाइदा

काठमाडौं । विश्व बैंकसँग सहुलियतपूर्ण ऋण लिएर डेढ अर्ब रुपैयाँको लगानीमा बनाइएको चोभार सुक्खा बन्दरगाह केही महिना अघिसम्म सुनशान थियो । 

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले चैत ०७८ मा उद्घाटन गरेको सुक्खा बन्दरगाह अझै पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन । 

काठमाडौं–निजगढ द्रुतमार्ग र चोभार सुक्खा बन्दरगाहको निर्माण एकसाथ सम्पन्न हुने अनुमान गरिएको थियो । 

यद्यपी फास्ट ट्रयाक समयमा नै निर्माण हुन नसक्दा पनि बन्दरगाह लामो समय यतिकै रह्यो । तर, छिटफुट कन्टेनर देखिने बन्दरगाह यतिवेला गाडी र मोटरसाइकलले भरिभराउ छ । आन्तरिक टर्मिनल क्षेत्र भन्सार जाँचपास भइसकेका सवारीसाधन र गोदाम पार्टपुर्जाले भरिभराउ भएका छन् । 

चोभार सुक्खा बन्दरगाहमा भन्सार क्षेत्र र आन्तरिक टर्मिनल गरी दुई भागमा छुट्याइएको छ । भन्सार क्षेत्रमा जाँचपास हुन बाँकी गाडी र सामान राखिएको छ भने आन्तरिक टर्मिनलमा भन्सार क्लियर भएर आएका सवारीसाधन छन् ।

विश्वमा ‘लजिस्टिक हब’ सफल भएकाले पनि चोभार सुक्खा बन्दरगाहमा सोही मोडल लागू गरिएको हो । नेपालमा पनि ‘लजिस्टिक हब’ को कन्सेप्ट सफल बन्दै गएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । 

सरकारले ट्रान्स नेपाल टीआरएससँग ५ वर्षका लागि तीन करोडमा सम्झौता गरेको छ । त्यसमा पनि प्रक्षेपण भएको भन्दा बढी ट्राफिक फोल्व भएमा आम्दानी बाँडफाँट गर्ने भनिएको छ ।

लामो समय यतिकै खाली रहेको र राज्यलाई भार बन्दै आइरहेको बन्दरगाह निजी क्षेत्रलाई ठेक्कामा दिएपछि अहिले राज्यको समेत आम्दानी बढेको छ । 

विश्वको अभ्यास हेर्ने हो भने पनि यस्ता ‘ड्राई पोर्ट’ नीजि क्षेत्रले व्यवस्थापन र सञ्चालन गर्ने गरेको छ भने सरकारले सहजीकरण र नियमन गर्ने गरेको छ । नीजि क्षेत्रको विज्ञता र लगानीले सेवाको स्तरमा बृद्धि भई राज्यलाई आम्दानी पनि दिने गरेको छ । 

यसका लागि सरकारले समन्वय गर्न आवश्यक रहेको सिइओ गजुरेल बताउँछन् । तर, बन्दरगाह सुचारु भएपछि मुलुकको आयात निर्यातको ठूलो हिस्सा ओगट्ने काठमाडौं उपत्यकाको व्यापार सहज हुने, व्यापारीको लागत घट्ने, वस्तु तथा सेवाको आयात निर्यात थप व्यवस्थित हुने दाबी गरिएको जस्तो उत्साह नभएपनि निरासाको अवस्था पनि नरहेको गजुरेलको अनुभव छ । 

सरकारले भविष्यमा बन्दरगाहलाई रेल मार्गसँग जोड्न सक्ने विकल्प पनि खुला छ । अझ चोभार सुख्खा बन्दरगाहलाई आयात मात्रै नभएर निर्यातको केन्द्र पनि बनाउन सकिन्छ । 

देशमा भएका भएका सुक्खा बन्दरगाहहरुमध्ये चोभार बन्दगाह सबैभन्दा अत्याधुनिक र सुविधायुक्त छ । 

सुक्खा बन्दरगाहलाई पूर्ण क्षमतामा चलाउन भित्रिएका सामान वा निर्यात गरिने सामान अन्तर्राष्ट्रिय सीमाबाट बन्दरगाहसम्म सोझै आउने स्थिति तयार गर्नुपर्छ । 

यसमा दु्रतमार्गको निर्माणमा भएको ठिलासुस्तीले देशलाई अबौंको नोकसान भइरहेको छ । यसतर्फ सरकार चनाखो बन्नैपर्छ ।

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  ०६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update