News 24 Television
लोकल भन्दै झुक्याउने पोखराका दुध व्यापारी परे महानगरको फन्दामा 

कास्की । चाडबाड नजिकिँदै गर्दा पोखरा महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । पछिल्लो समय डेरी पसलहरूमा छापा मार्दा अधिकांशले पोखराकै स्थानीय भन्दै तराईको दूध बिक्री गरेको पाइएको छ । 

अनुगमन गरिएका सबै डेरीका सञ्चालकहरूलाई महानगरपालिका बोलाइएको छ । ल्याबको नतिजा आएपछि नतिजा अनुरूपकै कारबाही थाल्ने महानगरपालिकाले जनाएको छ ।  

पछिल्लो समय पोखरा भित्रका डेरीहरुले दुग्ध जन्य पदार्थको बिक्रीमा मनपरी गरेको गुनासो बढ्न थालेपछि पोखरा महानगरपालिकाले अनुगमनलाई तीव्रता दिएको छ ।  महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ आफ्नै नेतृत्वमा प्रहरी जिल्ला प्रशासन कास्की खाद्य तथा गुण नियन्त्रण लगायतका सरोकारवाला निकायका अधिकारीहरूलाई लिएर बजार अनुगमनमा निस्किएकी थिइन् । महानगरपालिकाको बजार अनुगमनको पहिलो तारोमा थिए पोखरामा सञ्चालित डेरी उद्योग र पसल । 

अनुगमन टोलीले पोखरा महानगर १० मा रहेको ग्लोबल डेरी, सुजल डेरी, पोखरा १२ शीतलादेवीस्थित सागर नर्सरी एण्ड एग्रो र पोखरा पस्र्याङस्थित हेम्जा गाई फारम लगायतका डेरीहरूमा अनुगमन गरेको थियो । 

अन्य डेरीहरूमा मूल्य सूची नटाँसेको लगायतका सामान्य त्रुटि भेटिए पनि पोखरा १० इन्द्रचोकमा रहेको ग्लोबल डेरीले भने कपिलवस्तुबाट ल्याएको दूधलाई स्थानीय उत्पादन भन्दै बिक्री गरेको पाइएको छ । 

स्थानीय दूधको मूल्य महँगो भएको भन्दै ग्लोबलले तराईबाट ल्याएको दूध प्रति लिटर १०७ रुपैयामा बिक्री गर्ने गरेको अनुगमनमा क्रममा भेटिएको छ । 

ग्लोबलले दैनिक ४ हजार लिटर दूध पोखरा ल्याउने गरेको तथ्य फेला परेको छ । तर डेरीका सञ्चालक निर्मल भण्डारी भने कपिलवस्तु पनि बाहिर हो र ? भन्दै अनुगमन टोलीसँग विवाद गर्छन् । 

पोखरामा स्थानीय दूध भन्दा सस्तो हुने भएकाले तराईको दूधलाई नै लोकल दूध भन्दै बिक्री गर्ने चलन पछिल्लो समय निकै बढेको छ । 

महानगरको अनुगमन टोलीले अनुगमन गरेका सबै डेरीको दूध र दुग्धजन्य पदार्थ परीक्षणका लागि नमुना सङ्कलन गरेर ल्यावमा पठाएको छ ।

महानगरपालिकाले अनुगमन गरेका सबै डेरीका सञ्चालकहरूलाई महानगरपालिका बोलाएको छ । ल्याबको नतिजा आए पछी सोही अनुरुप कारबाही गर्ने महानगरपालिकाले तयारी गरेको छ ।  

केही दिन अघि मात्रै महानगरले माछामासु पसलहरूमा अनुगमन गरेको थियो । अनुगमन टोलीले खान अयोग्य माछा २ सय १९ केजी र खसीको मासु १५ केजी नष्ट गरेको थियो । साथै उपभोक्ता संरक्षण ऐन अन्तर्गत पसल सञ्चालकहरूलाई कारबाही गर्दा जरिवानाबाटै एकै दिनमा दुई लाख ५५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । 

हुन त चाडपर्व नजिकिँदै गर्दा यस्ता अनुगमनले निकै तीव्रता पाउँछन् । तर यो अनुगमन चाडपर्व लक्षित नभई नियमित र कारबाहीका कारण व्यापारी सुध्रन बाध्य हुने किशिमको हुन आवश्यक छ । 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  ०६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update