News 24 Television
भारतीय पर्यटक सवार बस दुर्घटना, २७ को मृत्यु

काठमाडौं । नारायणघाट–मुग्लिन सडकको सिमलताल पहिरोले दुई यात्रुबाहक बस बगाएको एक महिनापछि तनहुँको आँबु खैरेनीको ऐना पहरामा शुक्रबार अर्को भयानक बस दुर्घटना भएको छ । भारतीय पर्यटक सवार बस ऐना पहराबाट मस्र्याङ्दी नदीमा खसेर दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ । 

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा शुक्रबार भारतीय पर्यटक बोकेको बस मस्र्याङ्दी नदीमा खसेर दुर्घटना भएको छ । चालकसहित ४३ जना सवार रहेको खुलेको छ । 

केही दिनअघि मात्रै नेपाल भ्रमणमा आएको भारतीय नम्बर प्लेटको बस पोखरा भ्रमण सकेर काठमाडौं आउँदै गर्दा दुर्घटना भएको हो । 

केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार पोखराबाट काठमाडौं भ्रमणका लागि आउँदै थियो । भदौ ४ गते मात्रै रुपन्देहीको बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल आएको बस पोखरा हुँदै काठमाडौंतर्फ आउँदै गर्दा ऐनापहराबाट मस्र्याङदी नदी किनारमा खसेर दुर्घटना भएको हो । 

चालक र सहचालक गरी ४३ जना सवार रहेको उक्त बस दुर्घटनामा परि अहिलेसम्म २७ जनाको मृत्यु भएको पुष्टी  भएको छ । मृतक सवैको सनाखत भैसकेको छ । मृतक सबैको शव नेपालस्थित भारतीय दूतावासले बुझिसकेको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै सेनाको हेलिकोप्टरबाट घाइतेहरुको उद्धार गरिएको हो ।  ती मध्ये घाइते १७ जनालाई उपचारका लागि सैनिक हेलिकोप्टरबाटै काठमाडौ ल्याइएको छ भने एकजनाको चितवन अस्पतालमा उपचार भइरहेको छ । 

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा खटिएको थियो । दुर्घटनाको कारण खुलेको छैन । 

त्यस्तै, शुक्रबार नै चितवनको मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ को १७ किलोमा सडक माथिबाट खसेको ढुङ्गाले लागेर अर्को यात्रुबाहक बस दुर्घटना भएको छ । रौतहटको गौरबाट पोखराका लागि छुटेको ग २ ख ४७ नम्बरको बस माथिबाट खसेको ढुंगाले लागेपछि अनियन्त्रित भई सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बसमा ३०÷३५ जना यात्रु रहेका र तीमध्ये २५ जना घाइते भएका प्रहरीको भनाइ छ । घाइतेमध्ये सात जनाको भरतपुर अस्पतालमा, आठ जनाको पुरानो मेडिकल कलेजमा र १० जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । नारायणघाट– मुग्लिन सडक खण्डको सिमलतालमा असार २८ गते पहिरोले बगाएका २ बस तथा बससँगै बेपत्ता यात्रुहरु अझैसम्म पनि भेटिएका छैनन् । दुई वटा बसका ६३ यात्रु बससँग बेपत्ता भएका थिए । 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  ०६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update