सिन्धुली । आँफैले बेचेको बुद्धचित्त लुटपाट गरेको आरोप लागेका काभ्रे तेमालका राकेश लामाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।
सिन्धुलीको फिक्कल गाउँपालिका – १ का होमबहादुर सुनुवारको घरबाट बुद्धचित्त लुटेको राकेशसहित उनका दुई साथीहरुमाथि आरोप लागेको थियो । आरोपितमध्ये राकेशले भने भदौ २ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् ।
राकेशसहित काभ्रे तेमालकै पुष्पलाल दोङ र दूतराज तामाङले होमबहादुर सुनुवारको घरमा रहेको बुद्धचित वार्षिक ५ लाख रुपैंयाँमा ३ वर्षका लागि १५ लाखमा करार सम्झौता गरेका थिए । उक्त बुद्धचित्तको रुख उनीहरुले नै काठमाडौँ महाबौद्धका माला व्यापारी आर्यन खतिवडालाई ६५ लाखमा बिक्री गरे । तर, बुद्धचित्तको दाना टिप्ने समयमा बेचिसकेको माला गत साउन १ गते राकेश र दूतराज तामाङ आफैंले लुटेको व्यापारी खतिवडाले बताएका छन् ।
सुरुमा व्यपारी खतिवडाले बुद्धचित्त चोरी भएको भन्दै प्रहरीमा किटानी दिँदा उजुरी लिन अस्वीकार गरिएको थियो । यद्यपि उनले मिडिया गुहारेपछि भने प्रहरीले उजुरी लिएको बताइएको छ ।
उक्त लुटिएको ५० केजी बुद्धचितको माला ८० लाखमा बिक्री गरिएको खुलेको छ । जाहेरी दर्तापछि सिन्धुली प्रहरीले तीनै जनालाई खोजी गरिरहेको थियो । जसमा राकेशले प्रहरीमा आत्मसमर्पण गरेका हुन् । आरोपित दुई जनालाई भने प्रहरीले खोजी गरिरहेको छ ।