
काठमाडौं । नेपाल साफ यु–२० च्याम्पियनसिपमा समूह ‘ए’ को विजेता बनेको छ । घरेलु मैदानमा विहीबार भएको समूह चरणको अन्तिम खेलमा बंगालदेशलाई पराजित गर्दै नेपाल समूह विजेता बनेको हो । दुई पटकको साफ च्याम्पियन नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुगेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको समूहचरणको अन्तिम खेलमा बंगलादेशलाई पराजित गर्दै नेपाल साफ यु–२० च्याम्पियनसिप फुटबलको समूह बिजेता बनेको हो । समूह चरणको अन्तिम खेलमा बंगलादेश २–१ ले पराजित भयो ।
नेपालका लागि पहिलो हाफको खेलमै समीर तामाङ र निराजन धामी एक एक गोल गरेका थिए । नेपालका समिरले खेलको १७ औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि नै निराजन धामीले अर्को गोल थपे ।
बंगलादेशका मिराजुल इस्लामले सान्त्वना गोल फर्काए । पहिलो हाफ सकिन तीन मिनेट बाँकी छँदा पाएको पेनाल्टीको सदुपयोग गर्दै मिराजुलले बंगलादेशका लागि एक गोल फर्काएका हुन् ।
यसअघि पहिलो खेलमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको थियो । यसअघि बंगलादेशले पनि श्रीलंकालाई पराजित गरेकाले नेपाल यसअघि नै सेमिफाइनलमा भने पुगिसकेको थियो । विहीबार लगातार दोस्रो जितसहित ६ अंक जोडेर नेपाल समूह विजेता बनेको हो । तीन अंक जोडेको बंगलादेश समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । श्रीलंका भने अंकविहीन भएको छ ।
नेपालले फाइनल प्रवेशका लागि अर्को समूहको उपविजेतासँग खेल्ने छ । समूह ‘बी’ मा एक खेल खेल्न बाँकी रहेको भारत तीन अंकसहित शीर्ष स्थानमा छ । दुई खेल खेलेको भुटानको पनि तीन अंक रहेको छ । शुक्रबार हुने समूह ‘बी’को अन्तिम खेलबाट नेपाल र बंगलादेशको प्रतिद्वन्दी तय हुनेछ ।