काठमाडौं । अमेरिकाको विकास अनुदान परियोजना भनिएको मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) कार्यान्वयनमा आएको करीब एक बर्ष पुगेको छ । ५ वर्ष मात्रै समयावधी रहेको यो परियोजनाको एक बर्षको उपलब्धी बुधबार सार्वजनिक गरिएको थियो । तर एक वर्षको अवधिमा निर्माण प्रक्रिया त परै जावस्, प्रशारण टावरको जग्गा प्राप्तीदेखि ठेक्का प्रक्रिया नै पूरा हुन सकेको छैन ।
५ बर्षमा सम्पन्न गर्ने भनिएको अमेरिकी विकास अनुदान परियोजना एमसीसी परियोजना कार्यान्वयनको एक वर्ष भइसकेको छ । तर एक वर्षको अवधिमा जग्गा प्राप्तीदेखि ठेक्का प्रक्रियासमेत पूरा हुन सकेको छैन ।
एक वर्षको अवधिमा १० जिल्लामा ८ सय ५६ वटा प्रशारण टावरको जग्गा प्राप्त गर्नुलाई एमसीए नेपालले ठूलो उपलब्धी ठोनेको छ । यो अधिमा ३ सय १५ किलोमिटर ट्रान्समिसन लाइनमध्ये १८ किलोमिटर क्रसबोर्डर लाइनको ठेकेदार छनोट, ट्रान्समिसन लाइनमा पर्ने रुखको गणना र ३ वटा सबस्टेसन परियोजनाको ठेक्का सम्झौतामा हस्ताक्षर गरेर मात्रै सकिएको छ । यहि परियोजनाबाट निर्माण गरिने भनिएका सडकहरुको अहिलेसम्म ठेक्का सम्झौता हुन सकेको छैन ।
रुख गणना गरिएको भनेपनि त्यसको कटान कहिलेबाट शुरु हुने यकिन मिति तोकिएको छैन । २ सय ९७ किलोमिटर ट्रान्समिटर लाइनको टेण्डर पनि भएको छैन । यसले एमसीसी परियोजना समयमा नै सम्पन्न हुनेमा आंशका पैदा भएको छ । गत वर्षको अगस्ट २९ अर्थात् भदौ १५ गतेबाट कार्यान्वयनमा गएको यो परियोजना ५ बर्ष भित्र सक्ने लक्ष्य छ । तर अहिलेसम्मको काम हेर्दा कुनै पनि हालतमा समयमै एमसीसी परियोजना सकिने देखिदैन तर पनि एमसीए नेपालका कार्यकारी निर्देशकले समयमा नै काम सम्पन्न गर्ने दाबी गरिरहेका छन् ।
एमसीसी परियोजना अन्तर्गत नेपाललाई अमेरीकाले ५० करोड अमेरिकी डलर अनुदान उपलब्ध गराउने भनिएको छ । तर पाँच वर्षभित्र एमसीसी अन्तर्गतका प्रसारण लाइन र सडक निर्माणको काम टुङ्गोमा नपुगे उक्त अमेरिकी सहायता रकम नेपालले पाउने छैन ।
त्यसपछि नेपाल सरकारले नै खर्च गर्नुपर्ने एमसीसी सम्झौतामा उल्लेख छ । नेपाल सरकारले एमसीसी अन्तर्गतको परियोजनाहरु समयमा सम्पन गराउन चासो दिएको देखिदैन भने परियोजनाले पनि पाँच बर्ष भित्र सम्पन्न गर्ने भनिएको आयोजनामा उल्लेख्य प्रगति गर्न सकेको छैन । यसले नेपाललाई भविष्यमा धेरै नै घाटा हुन जाने जानाकारवालाहरु बताउँछन् ।
दिनको संकेत विहानीले दिन्छ भने जस्तै एमसीसी परियोजना कार्यान्वयमा गएको एक बर्षलाई हेरेर विश्लेषण गर्ने हो भने आगामि ४ बर्ष भित्र परियोजनाको लक्ष्य पुरा हुने सम्भावना देखिदैन । उसो त यो परियोजना कार्यान्वयनको चरणमा जानु भन्दा पहिल्यै पनि गलपासो हुने विश्लेषण नभएका होइनन् । अमेरिकाको ‘इण्डो प्यासेफिक रणनीति’ अन्तर्गत एमसीसी परियोजना अघि सारेको भन्दै सडकबाट विरोध भइरहँदा १२ बुँदे ब्याख्यात्मक टिप्पणी गर्दै संघीय संसदबाट पारित गरिएको थियो ।