काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको पनि झण्डै दुई वर्ष पुग्न लाग्यो । यो अवधिमा विमानस्थलले अन्तराष्ट्रिय उडान गर्न नसकेको भनेर आलोचना भइरहँदा आन्तरिक उडानबाट भने पुरानो विमानस्थलको भन्दा तीन गुणा बढी आम्दानी गर्न सफल भएको छ ।
सन् २०२३ को जनवरी १ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भव्य समारोहका बिच उद्घाटन गरेका थिए ।
उद्घाटनको दुई वर्ष बित्न लाग्दा बल्ल आएर ओली नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय उडानको कार्ययोजना स्वीकृत गरेर विभिन्न प्याकेजको घोषणा गरेको छ ।
पछिल्लो दुई वर्षमा पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेपनि आन्तरिक उडानबाट भने सन्तोषजनक नतिजा निकाल्न सफल भएको छ । आर्थिक वर्ष २०७८\७९ मा पुरानो विमानस्थलको कमाई ११ करोड ५९ लाख रुपैयाँ थियो तर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै आन्तरिक उडानबाट हुने आम्दानी तीन गुणा भन्दा बढी भएको छ ।
आर्थिक वर्ष २०७९\८० मा दुवै विमानस्थलको आम्दानी २७ करोड ९ लाख पुग्यो । यस्तै आर्थिक वर्ष २०८०\८१ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै आन्तरिक उडानबाट ३८ करोड २० लाख रुपैयाँ आम्दानी भयो । यो रकम पुरानो विमानस्थलको आम्दानी भन्दा तीन गुणा भन्दा बढी हो ।
यस्तै अहिले पुरानो विमानस्थलबाट भइरहेको हेलिकप्टर, अल्ट्रालाइट र जोमसोम उडानलाई बिर्सने हो भनेपनि साविकको भन्दा बढी उडान र यात्रुको आवतजावत निकै बढी छ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ।
विमानस्थल सञ्चालनमा आइसकेपनि चिनियाँ निर्माण कम्पनी चाइना सिएएमसीलाई पुरै रकम भुक्तानी भने भइसकेको छैन ।
अहिलेसम्म २० अर्ब ७२ करोड भुक्तानी भइसकेको छ भने अझै झण्डै साढे २ अर्ब भुक्तानी गर्न बाँकी छ । चिनियाँ निर्माण कम्पनीलाई अमेरिकी डलरको सट्टा चिनियाँ मुद्रामै रकम भुक्तानी गर्नुपर्ने भएकाले र चिनियाँ मुद्रा र नेपाली मुद्राको अन्तर नबढेको हुँदा झण्डै ४ अर्ब रुपैयाँ आयोजनालाई फाइदा भएको आयोजना प्रमुख मुनँकर्मीको भनाई छ ।
यता महालेखा परीक्षकको प्रतिवेदनमा रिठेपानी डाँडाको कटान, रनवेको उचाई लगाएतका विषयमा प्रश्न खडा गरिएको छ । यी विषयहरुमा प्राविधिक अध्ययन र अनुसन्धान नगरी नकारात्मक उद्देश्यले प्रकाशित समाचारका आधारमा ती प्रश्न खडा गरिएको र त्यसको सम्पूर्ण जवाफ आयोजनाले सरोकार सबै निकायलाई पठाइसकिएको आयोजना प्रमुख मुनँकर्मी बताउँछन् ।
हुन त खेतबारीमा निर्माण गरिने कुलेसा हुन् या राष्ट्रिय गौरवका आयोजना केही न केही बखेडा झिकेर मूल कामलाई ओझेलमा पर्ने गरि विवाद सिर्जना गर्नु यहाँको चलन नै बनिसक्यो । तर यसो भनिरहँदा गलत कार्यमा प्रोत्साहन भने गरिएको होइन ।
हामी यत्ति भन्छौ पर्यटकीय नगरी पोखरालाई विश्व बजारमा सीधा जोड्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय नियमित उडान गरिनै पर्छ ।