News 24 Television
भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु हुँदैन : लामिछाने

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु नहुने बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले भ्रष्टाचारको मुद्दामा कुनै पनि किसिमको हदम्याद राख्नु नहुने बताएका हुन् । उनले आफ्नो पार्टी भ्रष्टाचारको मुद्दामा हदम्याद राख्न नहुने पक्षमा स्पष्ट रुपमा उभिने बताए ।

लामिछानेले नीतिगत निर्णय भनी मन्त्रिपरिषदबाट निर्णय गराएर भ्रष्टाचार हुने गरेको भन्दै त्यसरी मन्त्रिपरिषदबाट निर्णय गर्ने क्रम रोकिनुपर्ने समेत बताए । उनले नीतिगत निर्णयको परिभाषा गरिनुपर्ने समेत बताएका छन् ।

उनले भने, ‘भ्रष्टाचारको मुद्दामा कुनैपनि किसिमको हदम्याद राखिनु हुँदैन । हामी यसमा स्पष्ट छौँ । र सिंगो सदन यो ठाउँमा उभिने छ भन्ने विश्वास गराउन चाहान्छु । नीतिगत भ्रष्टाचारको निर्णय गरेर मन्त्रिपरिषद् लाने कुरालाई गम्भीर रुपले हेरिएको छ । यसलाई अख्तियारले पनि ध्यान दिएको छ । यसलाई परिभाषित गर्ने पनि गरेको छ । त्यसबारे म ध्यान गराउँछु । नीतिगत भनेर मन्त्रिपरिषद् लगेर त्यस्ता निर्णय गराउने क्रम रोकिनुपर्छ । त्यसको परिभाषा हुनुपर्छ । दुई हप्तादेखि राज्यका विभिन्न तहमा दलितको सहभागिता हुनुपर्छ भनेर माइतिघरमा आन्दोलन गर्दै आएका खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेको तर अबेर राति छोडेको भन्ने सुनियो । म सरकारलाई सोध्न चाहन्छु के खगेन्द्र जस्तै दलितहरुले आफ्नो हक माग्नु गलत हो ? आफ्नो हक माग्नेजति सबैलाई मुख थुनेर बन्द गर्ने नियत हो कि सरकारले ऊ जस्ता अभियन्ताहरुको आवाज सुनेर संविधानले निर्दिष्ट गरे अनुसार राज्यको संरचनाहरुमा सहभागिता गराउने हो ? सरकारले स्पष्ट पारोस् ।’ 

सभापति लामिछानेले दुई हप्तादेखि राज्यका विभिन्न तहमा दलितको सहभागिताको माग गर्दै माईतीघरमा आन्दोलन गर्दै आएका अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेको भन्दै आपत्ति समेत जनाए । उनले दलितहरुले आफ्नो हक माग्नु गलत हो ? भनी सरकारलाई प्रश्न समेत गरे ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update