
काठमाडौँ । पहिलोपल्ट सरकारमा अवसर पाएर परराष्ट्र मन्त्री बनेकी आरजु राणा यतिखेर भारत भ्रमणमा छिन् । आइतबार दिल्ली यात्रामा गएकी आरजुलाई दिल्लीले उच्च महत्व दिँदै स्वागत गर्यो । आकस्मिक रुपमा भएको आरजुको यो दिल्ली भ्रमणका माध्यमबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालसँग सम्बन्ध सुधार्न चाहन्छन् भन्ने प्रष्ट देखिन्छ । नेपालका परराष्ट्र मन्त्री दिल्ली जाँदा त्यहाँका प्रधानमन्त्रीलाई भेट्ने अवसर खासै पाउँदैनन् । तर आरजुका लागि मोदीले रेड कार्पेट बिछ्याएर प्रधानमन्त्रीसरहको आतिथ्य स्वागत गरे । के मोदीले आरजुलाई भावी प्रधानमन्त्रीको रुपमा सम्मान गरेका होलान् ? नेपालमा काँग्रेस–एमाले गठबन्धनको सरकार चलिरहँदा दुई दलबीचको सहमतिअनुसार केपी ओलीपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने छन् । तर देउवाले आफू सरकारको नेतृत्व नलिने र सट्टामा पत्नी आरजुलाई प्रधानमन्त्री बनाउने सम्मका हल्ला र गाइँगुइँ सुनिएका छन् । यसलाई अहिले परको विषय मानौँ ।
सोमबार आरजुले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरिन् । त्यही साँझ भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गरिन् । यी दुवै भेटवार्तामा आरजुलाई दिल्लीले उच्च महत्व दिएको परराष्ट्र मामिलाका जानकारहरुको विश्लेषण छ । भारतीय विदेश मन्त्रालयले आरजुको भ्रमणलाई नेपाल र भारतबीचको उच्चस्तरीय आदानप्रदानको नियमित शृङ्खला नै भनेको छ । केही वर्षयता भारतले ‘छिमेक पहिला’ भन्ने विदेश नीति तय गरेको छ । जसअन्तर्गत उसले नेपाललाई विशेष प्राथमिकतामा राख्ने गरेको छ ।
मोदी सत्तामा आएदेखि नै नेपालसँग निकट थिए । उनले सुरुआती कालमै नेपाल भ्रमण तय गरे, नेपालकै संसदमा सम्बोधन गरेर सम्बन्ध नयाँ उचाइमा पुगेको बताए । तर पछि २०७२ मा नेपालले नयाँ संविधान जारी गरेपछि मोदी चिढिए । नेपालमाथि भारतीय संस्थापन पक्षले अघोषित नाकाबन्दी लगायो । त्यसबेला केपी ओली नेतृत्वकै सरकारले डटेर नाकाबन्दीको सामना ग¥यो । भारत ३ महिनामै पछि हट्यो । त्यसैबेलादेखि बिग्रेको मोदीको नेपाल सम्बन्ध २०७७ मा आएर झन खराब भयो । दोस्रो कार्यकाल प्रधानमन्त्री बनेका ओलीले भारतीय कब्जामा रहेका नेपाली भूभाग लिपुलेक, कालापानी, लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरे । त्यसपछि ओली र मोदीको सम्बन्ध झनै खराब भयो । अहिले तेस्रो कार्यकाल ओली प्रधानमन्त्री बनेपछि मोदीले सम्बन्ध सुधारको सूत्रका रुपमा आरजुलाई प्रयोग गरिरहेको अुनमान छ ।
नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्ति अनुसार सोमबार परराष्ट्रमन्त्री आरजुले प्रधानमन्त्री ओलीको तर्फबाट मोदीलाई नेपालको राजकीय भ्रमणको निम्तो हस्तान्तरण गरिन् । मोदीले उक्त निम्तोलाई स्वीकार गरेको र द्विपक्षीय कूटनीतिक माध्यमबाट अनुकूल समयमा नेपाल आउने प्रतिबद्धता जनाएको भारतीय विदेश मन्त्रालयले बताएको छ । ओली–मोदी आपसी तिक्तता र चिसो सम्बन्धका कारण एक–अर्काको देशको भ्रमणमा जान–आउन हिचकिचाइरहेको बेला भारतका प्रिय पात्र देउवा–पत्नी आरजुको यो भ्रमण महत्वपूर्ण सावित भएको छ । दिल्लीले ओलीलाई चीनपरस्त ठानेर सत्तामा आएको रुचाउँदैनथ्यो । तर यसपालि सत्ताको साँचो संसदको ठूलो पार्टी काँग्रेस सभापति देउवाको हातमा भएकाले ओलीलाई स्वीकारेको देखिन्छ । यस अवस्थामा ओली चाहेर पनि भारतविरुद्ध जान सक्दैनन् । गए भने दिल्लीले देउवालाई प्रयोग गरेर जुनसुकै बेला ओली सरकार ढाल्न सक्छ भन्ने खालका विश्लेषण पनि भइरहेका छन् ।
मोदी पनि भारतमा एनडिए गठबन्धको बलमा तेस्रो कार्यकाल प्रधानमन्त्री बनेका छन् । उनी विगतमा जति शक्तिशाली अब छैनन् र यो उनको अन्तिम अवसर हुन सक्छ । भारतले पछिल्लो समय नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने सम्झौता लगायत महत्वपूर्ण रणनीतिक सम्झौताहरु गरेको छ । विगतदेखिको उतारचढावपूर्ण नेपाल–भारत सम्बन्ध आर्थिक विकासको सेतुका रुपमा रहेको छ । त्यसैले पनि मोदी सरकारले नेपाललाई महत्व दिने गरेको छ । यसपटक भारतीय विदेशमन्त्री जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालसहित उच्चपदस्थ अधिकारीहरूलाई साक्षी राखेर मोदीले नेपाली परराष्ट्रमन्त्रीसँग कुराकानी गरे । उक्त कुराकानीपछि मोदीले सामाजिक सञ्जाल ‘एक्स’मा प्रतिक्रिया जनाएका थिए । उनले ‘भारत र नेपालबीच सभ्यतागत निकट सम्बन्ध र प्रगतिशील तथा बहुआयामिक साझेदारी’ रहेको बताए । साथै दुई देशबीच विकास साझेदारी निरन्तर अघि बढिरहेको हेर्न चाहेको उनले लेखेका छन् ।
यता, भारत जानुभन्दा पहिला सीधै तेस्रो मुलुक भ्रमण तय गरेका प्रधानमन्त्री ओलीलाई दिल्लीले छिटै नै भारत बोलाउन खोजिरहेको देखिन्छ । थाइल्यान्डको बैंककमा हुने बिमस्टेक शिखर सम्मेलनमा भाग लिन ओली यही भदौ १९ गते थाइल्यान्ड जाने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाइसकेको छ । यद्यपि विभिन्न अन्तर्राष्ट्रिय परिस्थितिका कारण बिमस्टेक शिखर सम्मेलन निर्धारित मितिमै हुनेमा भने संशय पैदा भएका छन् । थाइल्यान्ड नगए पनि असोज पहिलो साता प्रधानमन्त्री ओली अमेरिका जाने पक्का छ । संयुक्त राष्ट्र संघको महासभामा भाग लिनका लागि ओली अमेरिका जाने कार्यतालिका तय भएको देखिन्छ ।
यसरी पहिलो भ्रमण भारतबाट गर्ने नेपाली प्रधानमन्त्रीहरुको प्रचलनविरुद्ध ओली थाइल्यान्ड र अमेरिका जाने तय भएपछि भारतले सकेसम्म ओलीलाई छिटै दिल्ली बोलाउन कसरत जारी राखेको देखिन्छ । परिस्थिति सुधारकै लागि भारतले अघिल्लो साता आफ्ना विदेश सचिव विक्रम मिश्रीलाई काठमाडौँ पठाएको थियो । हप्तादिनमै नेपाली परराष्ट्र मन्त्रीलाई दिल्लीले उच्च महत्वका साथ स्वागत ग¥यो । अब ओली–मोदी मिलनको साइत कसरी र कहिले जुट्छ, हेर्न बाँकी छ ।