काठमाडौं । त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभागको प्रमुख नियुक्तिमा भएको राजनीतिक किचलो बाहिर आएसँगै त्रिवि भित्र कुन हदसम्म फोहोरी राजनीति हुन्छ भन्ने कुरा छरप्रष्ट भएको छ ।
अझ शिक्षा मन्त्री आफैले सामाजिक संञ्जालमा सुरक्षा माग गर्दै लेखेपछि त त्रिवि भित्रको डरलाग्दो गुण्डागर्दीको कुन तहसम्म मौलाएको रहेछ भन्ने बाहिरिएको छ । तर के शिक्षामन्त्रीले भनेजस्तै त्रिविका पदाधिकारी सुरक्षाको दृष्टिकोणले साच्चै समस्यामै परेका हुन् त ?
त्रिभुवन विश्व विद्यालयको समाजशास्त्र विभागको प्रमुख नियुक्तीको बिषय अहिले चर्चामा छ । बुधबार शिक्षा मन्त्री विद्या भट्टराईले त्रिविमा केहि दिन देखि पदाधिकारीहरु माथि हमला गर्न खोज्नु र प्राध्यापकहरुलाई फोन गर्दै धम्कि दिने गरेका कारण सिङ्गो विश्व विद्यालय नै असुरक्षित बनेको भन्दै गृहमन्त्रीलाई सुरक्षा प्रबन्ध गर्न सामाजिक सञ्जालमा माग राखिन् ।
त्यस लगत्तै सत्तारुढ नेपाली कांग्रेस निकटका विद्यार्थी नेताहरुले आफु निकटका व्यक्तिलाई विभागीय प्रमुख बनाउनु पर्ने भन्दै पदाधिकारीलाई धम्की दिएको खबरहरु बाहिर आए ।
आइतबार त्रिविका पदाधिकारीहरु पनि सुरक्षाको कारण देखाउँदै कार्यालयमा उपस्थित थिएनन् । तर मन्त्री भट्टराईको सामाजिक सञ्जालको पोष्ट पछि त्रिविमा प्रहरीको सुरक्षामा पदाधिकारी कार्यालयमा उपस्थित भए । त्यहाँ पुगेर हामिले त्रिविका रेक्टरलाई तपाईहरुलाई धम्कि आएको हो भन्ने प्रश्न गर्दा धम्की आएको उनले स्वीकारे ।
रेक्टर केसीले आफुहरुलाई धम्कि आएको बताएपनि कसले धम्की दिएको बताएनन् । धम्की दिनेको खोजी गर्ने काम प्रहरीको भएको भन्दै उनी पन्छिए ।
रेक्टरले केसीले नाम नखुलाएपनि उनीहरुलाई धम्की दिने भनेर आरोप लागेका व्यक्तिहरु त्रिविका स्ववियू सभापति श्यामराज ओझा र र नेविसंघका नेता योगेन्द्र रावल हुन् । तर यस्तो आरोपको खण्डन गर्दै विज्ञप्ति निकालेका स्ववियू सभापति ओझाले विधिविधान भन्दा बाहिर गएर आफैले गरेका कुकर्म लुकाउन त्रिविका पदाधिकारीहरुले धम्कीको आरोप लगाएको बताए ।
यता नेविसंघका नेता योगेन्द्र रावलले उपप्राध्यापक प्रेम चलाउनेले आफूहरुविरुद्ध चार वर्षदेखि चलाइरहेको मुद्दाको भदौ ९ गतेबाट पुनरावेदनमा बहस हुने भएकाले अदालतलाई प्रभावित पार्न विश्वविद्यालयका पदाधिकारी र शिक्षा मन्त्रीले नै नियोजितरुपमा विषयान्तर गर्न यस्तो आरोपको हल्ला फैलाएको आरोप लगाए ।
यसविषयमा त्रिवि स्ववियू सचिव सिद्धान्त भट्टले पनि त्रिविका पदाधिकारी असुरक्षित रहेको भन्ने नियोजितरुपमा फैलाएको हल्ला भएको दाबी गर्दै साचो भए प्रमाणसहित बाहिर आउनु चुनौति दिएका छन् ।
विवादको चुरो
खासमा त्रिविको यो लडाँइ समाजशास्त्र विभागको प्रमुखमा कुन पार्टीका व्यक्ति ल्याउने भन्ने तर्फ देखिन्छ ।
नेविसंघका विद्यार्थीहरुले विभागको प्रमुखमा कार्यविधि अनुसार क्याम्पस प्रमुख प्रतिस्पर्धाबाट नियुक्ति गर्ने भनेपछि सो सरहको विभाग प्रमुख पनि प्रतिस्पर्धाबाट ल्याउनु पर्छ भनिरहेका छन् ।
त्यसको पछि टिकाराम गौतमलाई विभागको प्रमुख बनाउनु पर्ने स्वार्थ छ । तर ज्येष्ठता र वरिष्ठताका आधारमा विभागीय प्रमुख नियुक्त हुने व्यवस्था कार्यविधिमा रहेको र सो अनुसार पासाङ शेर्पाको नियुक्ति हुनुपर्ने विश्वविद्यालय पदाधिकारीहरूको अडान देखिन्छ । नेविसंघले बोकेका गौतम कांग्रेसका हुन् भने शेर्पा एमालेका हुन् ।
कांग्रेसका गौतमलाई बनाउने कि एमालेका शेर्पालाई भन्ने बिषयमा राजनीति हुदाँ यो विवाद भएको छर्लाङ्ग छ । केही दिन अगाडि मानविकी तथा सामाजिक शास्त्र संकायकी डिन कुसुम शाक्यले विभागीय प्रमुखमा टीकाराम गौतमको नाम सिफारिस गरेपछि एमाले निकटका केही पदाधिकारीले शेर्पाको नाम पहिलो बरियातामा हुदाँ हुदै द्रोस्रो बरियता भएको व्यक्तिलाई किन सिफारीस गरेको भन्दै विरोध गरेका थिए । तर अंग्रेजी विभाग तर्फ भने पहिलो बरियतामा रहेका अनिरुद्र सापकोटाको साटो एमाले निकट धुर्व कार्की नियुक्त भै सकेका छन् ।
कार्यविधिमा के छ ?
त्रिभुवन विश्वविद्यालयको कार्यबिधी अनुसार पदगत वरिष्ठ शिक्षकहरुमध्येबाट सम्बन्धित डीनको राय लिई रेक्टरले ३ जना शिक्षकहरुको नाम पेस गर्ने र कार्यकारी परिषद्ले कुनै एक शिक्षकलाई केन्द्रीय विभागको प्रमुख नियुक्त गर्ने रहेको छ ।
यसले पनि प्रष्ट पार्छ की कांग्रेस र एमालेले त्रिविको समाजशास्त्र विभागको प्रमुख नियुक्त गर्न कार्यविधिलाई आफुअनुकुल व्याख्या गरि एकले अर्काे तर्फ दोषारोपण थुपार्दै नाङ्गो राजनीति गरिरहेका छन् ।