News 24 Television
दीपयात्रा गर्दै मनाइने मतयाः युवा वर्गको उल्लेख्य सहभागिताले संस्कृतिप्रेमी हर्षित

काठमाडौं । नेवाः समुदायले मनाउने सांस्कृतिक पर्व गाइजात्रासँगै बुधबार मतया जात्रा पनि मनाइएको छ । दीपयात्राको रुपमा प्रचलित मतया ललितपुरमा परम्परागत भेषभुषामा सजिएर विभिन्न शक्तिपीठ, मठमन्दिर, चिभा चैत्यको परिक्रमा गर्दै मनाइएको छ । 

जात्रा तथा पर्वहरुमार्फत् आफ्नो कला संस्कृतिको जगेर्ना गर्दै आइरहेका नेवाः समुदायले प्रत्येक वर्ष गाइजात्राको भोलिपल्ट भाद्र कृष्ण द्वितियाका दिन मतया जात्रा मनाउने गर्दछन् । 

सामान्यत मतयाको अर्थ दीपयात्रा भन्ने हुन्छ । जात्रामा बाजागाजासहित परम्परागत भेषभुषामा सजिएर दीपयात्रा गरी विभिन्न शक्तिपीठ, मठमन्दिर, चिभा चैत्यको परिक्रमा गर्ने गरिन्छ । आफ्नो श्रद्धाअनुसार समयबजीः लगायत विभिन्न परिकारहरु चढाउने प्रलनन छ । 

त्यस्तै मतया जात्रामा आफ्नो मौलिक संस्कृति र परम्परा जोगाउन नेवाः समुदाय अग्रसर हुँदै विभिन्न जात्रा पर्वहरु महत्वका साथ मनाउँदै आइरहेका छन् । 

मतया जात्राको सुरुवात कहिलेदेखि भएको भन्ने यकिन तथ्य छैन । तर पछिल्लो समय मतया नमनाइने स्थानहरुमा पनि आजभोली मतया मनाउने प्रचलन सुरु भएको छ । 

यसको उदाहरण बनेको छ ललितपुरको ठेचो, जहाँ २०५४ सालबाट विभिन्न दाफाः खलहरुको अगुवाइमा यो जात्रा मनाउन थालिएको हो । मतयामा गरिने विभिन्न हास्यव्यंग्य प्रदर्शनले यसमा थप रौनक थपिदिने गर्छ । 

मतयामा दीप बालेर पूजा गरेमा चिताएको काम पुरा हुने, सुख समृद्धि प्राप्त हुने, दिवंगत भएका व्यक्तिले राम्रो लोकमा जन्म लिने जस्ता जनविश्वासहरु जोडिएका छन् । त्यसैले पनि यही आस्था र विश्वासका साथ मतयामा नेवा समुदायबाट सकेसम्म सबै सहभागि हुने गर्छन् । 

जात्रामा देखिएको युवावर्गको उत्साहपूर्वक सहभागिताले संस्कृतिप्रतिको लगाव र यसको संरक्षणले निरन्तरता पाउने संस्कृतिविद्को विश्वास रहेको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ०६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update