काठमाडौं । स्वदेशमै प्रविधिको विकास गर्ने र नयाँ नयाँ आविस्कर गर्ने उद्देश्यले म्याग्सेसे पुरस्कार विजेता महावीर पुनले राष्ट्रिय आविस्कार केन्द्र सञ्चालनमा ल्याएको लामो समय भयो । आर्थिकरुपमा सबल बनि नसकेको आविस्कार केन्द्रको खर्च जुटाउन पुनले पुस्तक बेच्नेदेखि चन्दा उठाउनेसम्मका कामहरु गर्दै आइरहेका छन् ।
कीर्तिपुरमा त्रिवि परिसरभित्रै रहेको पुनको आविस्कार केन्द्रले सरकारबाट सहयोग पाएन वा सरकारले विश्वास गरेन भन्ने आरोप प्रत्यारोप चलिरहँदा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले यसलाई चिर्ने प्रयास गरेका छन् ।
उनले देशका ठूला सरकारी अस्पतालहरुमा बिग्रिएर बसेका स्वास्थ्य उपकरणहरुको मर्मतको जिम्मा आविस्कार केन्द्रलाई दिएका छन् । सिमित श्रोत, साधनका कारण आवश्यकता अनुसारको उपकरणहरु खरिद गर्नसक्ने अवस्था नरहेको जनाउँदै मन्त्रालयले भएका उपकरणहरुलाई बढी भन्दा बढी कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने उद्देश्यले आविष्कार केन्द्रसँग सम्झौता गरेको हो ।
प्रयोगमा नआएर थन्किएका उपकरणहरुलाई मर्मत गरेर प्रयोगमा ल्याउनसके ठूलो धनराशीको बचत हुने देखिन्छ भने राज्यको सीमित खर्चभित्रै उपकरणहरु व्यवस्थापन हुन्छ । त्यस्तै नेपाली प्राविधिकहरुलाई पनि यस्तो अवसरले ठूला अस्पतालहरुको उपकरण मर्मतसम्भारमा अनुभव बढ्दै जाँदा दक्षताको पनि बृद्धि हुन्छ । मर्मतको जिम्मेबारी राष्ट्रिय आविष्कार केन्द्रलाई दिएसँगै स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले संघीय १७ वटै अस्पतालमा उपकरण व्यवस्थापनमा महत्वपूर्ण काम हुने विश्वास व्यक्त गरेका छन् ।
आविस्कार केन्द्रले संघीय सरकारअन्तर्गत रहेका अस्पतालहरुको बायोमेडिकल इक्वीपमेण्टहरु, बिरामी जाँच गर्ने उपकरणहरुको रेखदेख गर्ने, मर्मत गर्ने र त्यसको अवस्था कस्तो छ, नराम्रा छन् भने त्यसलाई लिस्ट बनाउने र राम्रो मर्मत गर्नसक्नेलाई मर्मत गर्ने जिम्मेवारी पाएको छ नागरिकको प्रत्यक्ष स्वास्थ्यसँग सम्बन्धित विषय भएकाले केन्द्रले ठूलो जिम्मेवारी महशुस गरेको छ । इक्वीपमेण्टलाई राम्रो कण्डिसनमा राखेर बेलैमा उपलब्ध गराउनसके नागरिकको ज्यान बचाउन सकिने भन्दै इमान्दारीपूर्वक काम गर्ने केन्द्रले प्रतिबद्धता जनाएको छ ।
अहिले उपकरण बिग्रने र मर्मत नगर्ने समस्याले बिरामीले नीजि अस्पतालमा रिफर भएर उपचार गर्नुपर्ने बाध्यता छ । अझ केही संघीय अस्पतालहरूले त उपकरण बिग्रने बित्तिकै नयाँ किन्ने परिपाटी छ । महँगा उपकरण एकैसाथ फेर्नु निकै खर्चिलो त हुन्छ नै स्वास्थ्य उपचारपनि मंहगो पर्छ । तर, अब संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा आविष्कार केन्द्र पाएसँगै स्वास्थ्य क्षेत्रमा सुधार हुने अपेक्षा भने गर्न सकिन्छ ।