काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितीमा बुधवार मन्त्रालय र केन्द्रबीच हस्ताक्षर भएको हो । कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न उपकरणलाई पनि व्यवस्थित गर्नुपर्ने भएकाले राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेको बताए । उनले सिमित स्राेत र साधनका कारण आवश्यकताअनुसारको उपकरणहरु खरिद गर्नसक्ने अवस्था नरहेको भन्दै भएका उपकरणहरुलाई बढी भन्दा बढी कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने हेतुले आविष्कार केन्द्रसँग सम्झौता गरेको बताए ।
प्रयोगमा नआएर थन्किएका उपकरणहरुलाई मर्मत गरेर प्रयोगमा ल्याउन सके ठूलो धनराशीको खर्च पनि नहुने र राज्यको सिमति खर्चभित्र उपकरणहरु व्यवस्थापन हुने मन्त्रीकाे भनाइ छ । उनले थन्किएका उपकरणहरुको व्यवस्थापन गर्नसके अस्पताल पनि सफा हुने र अस्पताललाई आवश्यक उपकरणहरु पनि प्राप्त हुने बताए ।
मन्त्री पौडेलले संघीय सरकार मातहतका १७ वटै अस्पतालमा उपकरण व्यवस्थापनमा महत्वपूर्ण काम हुने विश्वास व्यक्त गरेका छन् ।
उनले भने, ‘स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न उपकरणलाई पनि व्यवस्थित गर्नुपर्ने हुन्छ । हामीसँग सिमित श्रोत, साधन छ, हामीले साधन, श्रोत बढाएर तत्काल हाम्रा आवश्यकताअनुसारको उपकरणहरु खरिद गर्नसक्ने अवस्था छैन । त्यसकारण अहिले हामीसँग भएका उपकरणहरुलाई बढी भन्दा बढी कसरी प्रयोगमा ल्याउन सकिन्छ ? प्रयोगमा नआएर थन्किएका उपकरणहरुलाई मर्मत गरेर प्रयोगमा ल्याउन सकियो भने त्यसमा धेरै ठूलो खर्च हुँदैन । राज्यको सिमति खर्चभित्र हामीले उपकरणहरु व्यवस्थापन गर्नका निम्ति हामीले यो काम शुरु गरेका हौँ । प्रयोगमा आउन नसक्ने, मर्मत हुन नसक्ने, अरु ढंगबाट उपयोग गर्न नसक्ने सामानहरु पनि अस्पताल भित्र छन् । अब त्यसलाई कवाडीको रुपमा व्यवस्थापन गर्नुपर्ने स्थिति छ । अहिले प्रयोगमा नआएर थन्किएका सामानभित्र प्रयोगमा आउनसक्ने सामान पनि छन् । प्रयोगमा आउन नसक्ने सामानहरु पनि छन् । ति सामानहरुलाई छुट्याएर हामीले तिनको त्यसअनुसार व्यवस्थापन गर्न जरुरी छ । हामीले यो काम गर्नसके अस्पताल सफा हुने, प्रयोगमा आउन नसकेका सामानहरुलाई प्रयोगमा ल्याउन सकियो भने कम खर्चमा अस्पताललाई उपकरणहरु प्राप्त हुन्छ । यो काम गर्न स्वयंसेवी गरिरहेको संस्थालाई रोज्यौँ । यसले संस्था र स्वदेशी वैज्ञानिकहरुलाई राज्यले विश्वास गरेको देखिन्छ ।’
कार्यक्रममा बोल्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रले थप अर्को जिम्मेवारी पाएको बताए । उनले संघीय सरकारअन्तर्गत रहेका अस्पतालहरुको बायोमेडिकल इक्वीपमेण्टहरु, बिरामी जाँच गर्ने उपकरणहरुको रेखदेख गर्ने, मर्मत गर्ने र त्यसको अवस्था बुझेर मर्मत गर्नसक्नेलाई मर्मत गर्ने बताए । आफूहरुको लागि यो ठूलो जिम्मेवारी भएको र इक्वीपमेण्टलाई राम्रो कण्डिसनमा राखेर बेलैमा उपलब्ध गराउनसके मान्छेको ज्यान बचाउन सकिने उनले बताए ।
पुनले भने, ‘राष्ट्रिय आविष्कार केन्द्रले थप अर्को जिम्मेवारी पाएको छ । यो जिम्मेवारी भनेको संघीय सरकारअन्तर्गत रहेका अस्पतालहरुको बायोमेडिकल इक्वीपमेण्टहरु, बिरामी जाँच गर्ने उपकरणहरुको रेखदेख गर्ने, मर्मत गर्ने र त्यसको अवस्था कस्तो छ, नराम्रा छन् भने त्यसलाई लिस्ट बनाउने र राम्रो मर्मत गर्नसक्नेलाई मर्मत गर्ने जिम्मेवारी पाएको छ । यो ठूलो जिम्मेवारी हो । यो भनेको मान्छेको स्वास्थ्यसँग सम्बन्धित कुरा हो । इक्वीपमेण्टलाई राम्रो कण्डिसनमा राखेर बेलैमा उपलब्ध गराउनसके मान्छेको ज्यान बचाउन सक्छ । लाखौँ मान्छेले यसबाट सेवा लिन सक्छन् । हामीले हाम्रो क्षमताले सकेसम्म इमान्दारीपूर्वक गर्नेछाँै ।’
बुधबार मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गरे । अस्पतालमा खेर गइरहेका उपकरण मर्मत गर्नका लागि सघाउन मन्त्री पौडेलले केही दिनअघि पुनसँग आग्रह गरेका थिए । त्यसलगत्तै मन्त्रालयले उनी नेतृत्वको केन्द्रसँग औपचारिक सम्झौता गरेको हो ।