मुगु । रारा पदमार्ग साईकल लाईनको निर्माण पक्षले रारा क्षेत्र भित्रको वालुवा धमाधम उत्खनन् गरेको समाचार सम्प्रेषणपश्चात अहिले पदमार्ग निर्माणको काम नै रोकिएको छ ।
मुगुमा रहेको रारा तालको किनार क्षेत्रमा निमार्णधिन साइकल लाईनको निर्माण पक्षले नियम विपरित वालुवा उत्खनन् गरि सार्वजनिक सम्पत्तिको दोहन भएको विषय गएको साउन २४ गते न्यूज २४ टेलिभिजनले प्रसारण गरेको थियो ।
त्यसपश्चात सरोकारवाला निकायले आवश्यक अनुसन्धानको खाँचो देखाएपछि अवस्थाबारे अध्ययन गरिने भएको छ ।
रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुको मिलेमतोमा धमाधम सार्वजनिक सम्पत्तिको दोहन भएको समाचार गए साउन २४ गते न्युज २४ टेलिभिजनमार्फत प्रसारण गरिएको थियो ।
न्यूज २४ ले अनियमितता माथि गरेको खबरदारीले अब नियमानुसार काम हुने भएको छ ।
सरोकारवालाले समाचारबाट उजागर अनियमितताका बारे अनुसन्धान हुनु पर्ने बताएपछि तत्कालका लागि निर्माण कार्य रोकेर आगामी दिनमा कसरी काम गर्ने भन्नेबारे छलफल भइरहेको छ । निर्माण कम्पनीले अबैध रुपमा अनुमति बिना बालुवा उत्खनन गरेकाले त्यो कार्य सुधारका लागि काम थालिएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
ढुङ्गाको हकमा निकुञ्जको नियम अनुसार राजश्व तिरेर उत्खनन गर्न मिल्ने भएपनी बालुवाको हकमा निर्माण कम्पनीले रारा ताल भन्दा बाहिर नदी खोला बाट सफा राम्रो बालुवा ढुवानी गरी प्रयोग गर्नुपर्ने हो । तर, रारा क्षेत्र भित्रै बालुवा उत्खनन भएको सञ्चार माध्यममा समाचार आएपछि निर्माण स्थलमा गई अनुगमन गर्दा रारा क्षेत्र भित्र माटो मिसिएको बालुवा उत्खनन गरि प्रयोग गरेको पाईएको थियो ।
साथै गुणस्तर नभएको बालुवा सिमेन्ट पनि प्रयोग गरेको भेटिएको छ । राराको आसपासबाट ल्याएको बालुवा प्रयोग नगर्न र ईस्टामेट डिजाएन अनुसारको काम गर्न निर्देशन समेत दिएकोे डिभिजन बन कार्यालय मुगुले जनाएको छ ।
रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुको०८१ साउन २० गतेको चलानी नम्बर १२को खानी थुदुुङ क्याराना जेभिलाई दिएको अनुमति पत्रमा ४सय घन मिटर ढङ्गा १ सय ५० घन मिटर गिट्टीको राजश्व कार्यालयको बैक खाता जम्मा गरि उत्खनन गर्ने अनुमति दिएको भएपनि बालुवाको उत्खनन गर्ने अनुमति दिएको देखिदैन ।
अनुमति पत्रमा उल्लेखित गरिए अनुसार अनुमति दिएको समयमा मात्र ४ सय घन मिटर ढङ्गा १ सय ५० घन मिटर गिट्टी संकलन तथा उत्खनन गर्नु पर्ने र यो समयमा जैविक बिविधता बातावरणीय प्रभाव पर्ने गरि कुनै पनी कार्य गर्न नपाईने छ ।
रारा पर्यटकीय पूर्वधार निर्माणको जिम्मा लिएको खानी थुदुुङ क्याराना जेभि निमार्ण कम्पनीले रारा तालको आसपास क्षेत्र बाट बालुवा निकाली प्रयोग गरेको स्वीकार्दै अबदेखी सम्झौता अनुसारको स्थान बाट बालुवा ,ढुङ्गा,गिट्टी प्रयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
नियम विपरित कार्य रोकी सार्वजनिक सम्पत्ति दोहन हटाउनु राम्रो पक्ष हो । तर, सरोकावाला निकायले सम्झौता विपरित काम गर्नेलाई कारबाहीको प्रकृया समेत अघि बढाउन आवश्यक छ ।