कास्की । हरेक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन नेवार समुदायले विशेष महत्वका साथ मनाउने गाईजात्रा पर्व यो वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइयो । तर, पोखराका नेवार समुदायले भने काठमाडौं उपत्यकाको भन्दा फरक तरिकाले गाइजात्रा मनाउने चलन छ ।
चलचित्रहरुमा स्वर्गका परीहरु भनेर देखाइने परीकै भेषमा, रंगीचंगी पुतली जस्तै फुरफुर नाच्दै हिँडेका यीनीहरू को होलान् भन्ने लाग्ला तपाईंलाई । यो दृश्य मंगलबार पोखराका सडकमा देखिएको गाईजात्राको हो । हुनत, देशै भरका नेवार समुदायले गाईजात्रा मनाउने गर्छन् । तर, पोखरामा मनाइने गाईजात्रा काठमाडौंलगायत अन्यत्रको भन्दा अलि भिन्न देखिन्छ ।
सामान्यतया गाई अथवा गाईको प्रतिमा बनाएर नगर परिक्रमा गराएर गाईजात्रा मनाइन्छ । तर, पोखरामा भने छोरा मान्छेलाई सिँगार पटार गरि परी जस्तै बनाइन्छ र उनीहरू परम्परागत बाजामा नृत्य गर्दै नगर परिक्रमा गर्छन् । काठमाण्डौ र पोखराको गाईजात्राको मर्ममा केही अन्तर नभएपनि जात्रालाई थप रौनकता प्रदान गर्न यसरी परि नृत्य देखाउने गरेको एक स्थानीय अगुवा बताउँछन् ।
पोखराका रामकृष्ण टोल, गणेश टोल, भीमसेन टोल, बागबजार लगाएतका क्षेत्रमा नेवार समुदायका मानिसको बसोबास बाक्लै छ । त्यसैले यस क्षेत्रबाट गाईजात्राको अवसरमा हरेक टोलबाट छुट्टाछुट्टै जात्रा टोली निस्कन्छ । त्यही जात्रा हेरेर गत वर्षमा कुन टोलमा कति जनाको निधन भएको रहेछ भनि थाहा पनि हुन्छ ।
पोखरामा देखाइने गाईजात्रामा परीको नृत्य सँगसँगै जोकर नृत्य, राम सीता, राधा कृष्ण, महादेव पार्वती लगाएतका भगवानका भेषभुषामा सजिएर नगर परिक्रमा गर्ने चलन पनि छ ।
कृष्णजन्मअष्टमीसम्म नै गाईजात्रासम्बन्धि विभिन्न कार्यक्रम हुने गर्छन् । तर, पछिल्लो समय गाईजात्राको ऐतिहासिकतालाई बिर्सेर व्यङ्ग्यका नाममा अरूको चरित्र हत्या हुने गतिविधि गर्ने क्रम बढ्दो छ ।
यसले गाईजात्राको वास्तविक परम्परालाई आक्रमण गरेको संस्कृति संरक्षणका अभियन्ताहरुले गुनासो गर्ने गरेका छन् । छोराको निधनपछि शोकमा डुबेकी आफ्नी रानीलाई खुसी पार्न राजा प्रताप मल्लले अनेक जुक्ति लगाउदै गर्दा यो जात्राको सुरुवात भएको बताइन्छ ।
रानीलाई शोकबाट मुक्त गर्न केही सीप नलागेपछि जसको घरमा मान्छे बितेका छन्, उनीहरूलाई रङ्गीचङ्गी कपडा लगाई गाई समेत लिएर जात्रामा निस्कन आदेश दिए । त्यस बेलादेखि गाईजात्रा मनाउन थालिएको हो । यो जात्रा नेवार समुदायका लागि आत्मशान्ति प्राप्तिको महत्वपूर्ण माध्यम पनि हो । वर्षभरि निधन भएका परिवारका सदस्यहरूको आत्मको शान्तिका लागि यो जात्रा मनाउने चलन छ ।