काठमाडौं । २०७२ सालसम्म पनि नेपालमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । यतिसम्म कि लोडसेडिङको तालिका ‘स्टेशनरी’मा लाइन बसेर किन्नुपथ्र्यो ।
विद्यार्थीहरूलाई कक्षाको भन्दा पनि लोडसेडिङको तालिका कंठस्थ हुन्थ्यो । बत्ति आउँला र खाना खाउँला भनेर कुर्नुपर्ने अवस्था थियो ।
आफ्नो दिनचर्या बत्ति आउने समयले निर्धारण गर्नुपथ्र्यो । तर, पछिल्लो केही वर्ष यता लोडसेडिङको कहालीलाग्दो अवस्था अन्त्य मात्र भएको छैन, नेपालले विद्युत् निर्यात गर्ने हैसियत बनाएको छ । यसको प्रत्यक्ष÷अप्रत्यक्ष श्रय नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई जान्छ नै ।
घिसिङले ०७३ मा तिहारको लक्ष्मीपुजाको दिनदेखि काठमाडौं उपत्यकाबाट अन्त्य गरेको लोडसेडिङ ०७५ वैशाखदेखि देशभर अन्त्य गर्न सफल भएका थिए । ‘ब्ल्याक होल’ को उपमा पाएको नेपालले अहिले भारतमा बिजुली निर्यात गर्छ ।
भारतले पहिलो पटक सन् २०२१ अक्टोबरमा नेपालबाट ३९ मेगावाट विद्युत निर्यातका लागि अनुमति दिएको थियो । पछिल्लो तीन वर्षमा भारतले नेपालबाट विद्युत निर्यातको परिणाम निरन्तर रुपमा वृद्धि गरिरहेको छ । नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौता आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत विक्री गर्ने रहेको छ ।
सम्झौताको पहिलो वर्षमा १ हजार मेगावाट विद्युत निर्यातको स्वीकृति पाइसक्केको छ । भारतले ६ सय ९० मेगावाट (१६ वटा आयोजना) बाट निर्यात गर्दै आएकोमा सोमवारबाट थप २ सय ५१ गरी कुल ९ सय ४१ मेगावाट विद्युत खरिद गर्ने भएको छ । भारतमा विद्युत निर्यातको परिणाम बढेसँगै नेपालले आर्जन गर्ने रकम पनि बढ्ने देखिन्छ । गत आर्थिक वर्षमा १६ अर्ब ९३ करोड रुपैयाँ बराबर विद्युत बिक्री गरेकोमा चालु आर्थिक वर्षमा २५ देखि ३० अर्ब रुपैयाँको विद्युत निर्यात हुने अनुमान प्राधिकरणले गरेको छ ।
स्वीकृत भएको ९ सय ४१ मेगावाटमा थप १० प्रतिशत विद्युत थप गरेर पठाउँदा १ हजार मेगावाट माथि विद्युत भारत निर्यात गर्नसक्ने अवस्थामा प्राधिकरण पुगेको छ । बिहारमा तीन वर्ष र हरियाणामा पाँच वर्ष निर्यात हुने विद्युतको मूल्य प्रतियुनिट नेपाली ८ रुपैयाँ ७२ पैसा रहेको छ । दैनिक एक हजार मेगावाट विद्युत् निर्यातको दिशामा अघि बढेपछि नेपालस्थित भारतीय दूतावासले विज्ञप्तिमार्फत नेपाल दक्षिण एसिया क्षेत्रकै प्रमुख जलविद्युत् निर्यातकर्ता बन्ने बाटोमा अघि बढेको भन्दै प्रशंसा गरेको छ ।
योसँगै नेपाल दक्षिण एशिया क्षेत्रकै प्रमुख जलविद्युत निर्यातकर्ता बन्ने आधार तय भइरहेको छ । त्रिदेशिय सम्झौता अनुरुप बंगलादेशलाई ४० मेगावाट विद्युत विक्री गर्ने सम्झौता अन्तिम चरणमा पगेको छ । बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रम सहज भएसँगै सम्झौता गर्ने तयारीमा प्राधिकरण छ ।
त्यस्तै, प्राधिकरणले विस्तृत अध्ययन गरी तयार पारेको ‘विद्युतीकरण तथ्यांक २०८१’ अनुसार कुल जनसंख्याको ९९ प्रतिशतमा विद्युत् पुगेको जनाएको छ । प्राधिकरणका अनुसार ७ सय ५३ स्थानीय तहमध्ये ५ सय ९० मा ९५ देखि शतप्रतिशतसम्म विद्युतीकरण भएको छ ।
७२ स्थानीय तहमा ७५–९५ प्रतिशतसम्म विद्युतीकरण भएको छ भने ३३ प्रतिशत स्थानीय तहमा ५०–७५ प्रतिशतसम्म, २६ स्थानीय तहमा २५–५० प्रतिशतसम्म र ३२ स्थानीय तहमा २५ प्रतिशतसम्म विद्युतीकरण गरिएको छ । ७ प्रदेशमध्ये मधेशमा शतप्रतिशत विद्युतीकरण प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार १ सय ९६ स्थानीय तहमा आंशिक रूपमा विद्युतीकरण भएको छ । १८ स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण विद्युत पु¥याउन सकेको छैन । प्राधिकरणले चालू आर्थिक वर्षभित्रमा सबैको घरमा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पु¥याउने प्रतिबद्धता भने जनाइसकेको छ ।
विद्युत् उत्पादन, प्रसारण र वितरणको जिम्मेवारी पाएको नेपाल विद्युत् प्राधिकरण ८ वर्ष अगाडि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा मात्र खुद नाफा १३ अर्ब ३१ करोड रुपैयाँ छ । यसअर्थ नेपालले विद्युत निर्यात गरेर मात्रै पनि देशको अबौंको व्यापार घाटालाई सन्तुलन गर्न सक्छ ।