News 24 Television
 एमालेका चेतनारायणलाई कांग्रेसको दह्रो साथ, सरकार चलाउन स्पष्ट बहुमत 

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार दिउँसो १ बजे बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री आचार्य विश्वासको मत दिनका लागि प्रस्ताव गरेका थिए । उनको प्रस्तावको पक्षमा ७० र विपक्षमा ११ मत परेको हो । 

लुम्बिनी प्रदेशसभाका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका छन् । लुम्बिनी प्रदेशसभाको मंगलबार बसेको चौथो अधिवेशनको २५औं बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन् । 

बैठकमा सहभागी ८१ सांसदहरु मध्ये ७० जना सांसदले पक्षमा मत दिए । आचार्यलाई एमाले र कांग्रेससहित नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जसपा, जसपा नेपाल र एक स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् । 

दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा आचार्य गत असार ७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । 

८७ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न बुहमत ४४ सांसद आवश्यक भए पनि कांग्रेसका २७ र एमालेका २९ गरि ५६ जना सांसदको समर्थनमा आचार्य लुम्बिनीको छैटौं मुख्यमन्त्री बनेका व्यक्ति हुन् । मुख्यमन्त्रीले बिश्वासको मत पाएसँगै अब भने सरकार विस्तारलाई पुर्णता दिने तयारी गरिएको बताइएको छ ।

लुम्बिनी प्रदेशसभामा एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, लोसपा र जनमतका ३–३, जसपाका २, जसपा नेपालका एक र स्वतन्त्र एक गरी ८७ सदस्य छन्। ७० प्रदेशसभा सदस्यले विश्वासको मत दिएका समय माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले भने विपक्षमा मत दिए  । 

प्रदेश सभामा माओवादी केन्द्रको ११ मत रहे पनि यसमध्ये सभामुखले मत दिन मिलेन भने माओवादीका एक सांसद कृष्णा केसी अनुपस्थित भइन्। माओवादीका नौ र एकीकृत समाजवादी र जनमोर्चाका एक एक गरी विपक्षमा ११ मत खसेको प्रदेशसभाले जनाएको छ। यस्तै उपसभामुख सहित ४ सिटको राप्रपा तटस्थ बसेको छ । 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  ०६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update