
काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानमा हुने नवौं वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा सहभागी हुने खेलाडीलाई बिदाइ गरेका छन् ।
अध्यक्ष प्रचण्डले मंगलबार खुमलटारमा आयोजित एक कार्यक्रममाझ उनीहरूलाई बिदाइ गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले खेलाडीलाई पदक जित्नका लागि शुभकामना पनि दिए । वादोरियो कराते डो संघले भोगिरहेको समस्याको बारेमा आफु जानकार रहेको भन्दै उनले समस्या समाधान गर्न आफ्नो तर्फबाट पहल गर्ने वचन दिए ।
नेपाल वादोरियो कराते डो संघका केन्द्रीय अध्यक्ष हरिशरण केसीले वादोरियो डा संघले भोगिरहेको समस्याको बारेमा जानकारी गराएका थिए । करातेको विकासमा राज्यले खासै चासो नदेखाएको गुनासो गर्दै जापानमा हुने यो प्रतियोगिताका लागि पनि आफ्नै नीजि खर्चमा खेलाडी पठाउन लागेको उनको भनाइ छ ।
यही भदौ ८ र ९ गते जापानको टोकियोमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरू एलन श्रेष्ठ, सुस्मिता वाइबा, अनिल उपरकोटी र आरोन शेरचनसहित ६ सदस्यीय टोली सहभागी हुँदै छ ।