
काठमाडाैँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदमा लगानी बढाउन आवश्यक रहेको बताएका छन् । सोमवार साँझ नेपाल प्रिमियर लिग (एनपीएल) को लोगो सार्वजनिक कार्यक्रममा बोल्दै उनले खेलकुदमा पर्याप्त लगानी हुन नसकेको बताए ।
खेलाडीलाई अवसर, सेवा सुविधा र पूर्वाधार बढाइदिनु राज्यको दायित्व भएको बताउँदै उनले क्रिकेट नेपालकाे पहिचान रहेको दाबी गरे।
मन्त्री चौधरीले नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा आफ्नो छाप छोडिसकेको बताए । उनले नेपालमा क्रिकेट रंगशालाको अभाव हुँदाहुँदै खेलाडीको मेहनत, नेपाल क्रिकेट संघको संघर्ष र खेलप्रेमीको मायाले खेलाडीहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा परिचित भएको बताए । खेलाडीहरुलाई पर्याप्त सुविधा र भौतिक पूर्वाधार दिन नसकेको स्वीकार गर्दै उनले चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चाँडो भन्दा चाँडो तयार हुने पनि बताए ।
उनले भने, ‘क्रिकेट नेपालका लागि एउटा पहिचान मात्र होइन, अन्तर्राष्ट्रिय जगतमा आफ्नो छाप छोडिसकेको छ । नेपालमा क्रिकेट रंगशालाको अभाव हुँदाहुँदै पनि यसो हेर्दा क्रिकेट रंगशाला अहिले पनि व्यवस्थित रुपमा कुनै रंगशाला हुन सकेको छैन । तर खेलाडीको मेहनत, नेपाल क्रिकेट संघको संघर्ष र सम्पूर्ण खेलप्रेमीको मायाले आज खेलाडीहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा परिचित छन् । खेलाडीहरु राष्ट्रका गहना हुन् । खेलाडीहरुलाई सुविधा र भौतिक पूर्वाधार दिन सकिएको छैन । ट्रेनरहरुलाई राम्रो व्यवस्थापन गर्न सकिएको छैन । खेलाडीलाई अवसर, सेवा सुविधा र पूर्वाधार बढाइदिनु राज्यको दायित्व हो । यसमा पर्याप्त लगानी गर्नुपर्छ । खेलकुदको भौतिक पूर्वाधारमा म आफैँ चासो दिएर पहल गरिरहेको छु ।’
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेट अहिले स्थिरताकासाथ अघि बढिरहेको भन्दै नयाँ कार्यसमिति आए लगत्तै नेपाल प्रिमियर लिगको सोच बनाएको बताए । उनले नेपाली क्रिकेट र नेपाली खेलकुदलाई सबैको माया चाहिएको बताए । खेललाई प्रोफेसनल बनाउन सबैले खेलकुदलाई साथ दिनुपर्ने उनकाे भनाइ छ ।